संस्कृति अध्येता वसन्त महर्जनले २०४६ सालतिर कक्षा ९ पढ्दा नेपाल भाषा ऐच्छिक विषयका रूपमा छानेका थिए। त्यति बेला विज्ञान र गणित पढ्न गाह्रो लाग्ने विद्यार्थीहरूले भाषा, इतिहास, अर्थशास्त्र लगायत विषय छान्न पाउँथे।
आफूले बोल्दै आएको भाषा भएकाले पढ्न सजिलो भएको उनी बताउँछन्। ‘नेवारहरूले नै ऐच्छिक विषयका रूपमा नेपाल भाषा छान्नु हुन्थ्यो। नजान्नेलाई त गाह्रो हुने भएकाले अरू नै विषय छनोट गर्थे,’ उनले भने।
अहिले फेरि काठमाडौं महानगरपालिका क्षेत्रका विद्यालयमा नेपाल भाषा पठाइने भएको छ। यसलाई उनी सकरात्मक कदमका रूपमा लिन्छन्, ‘महानगरले गैरनेवार विद्यार्थीहरूलाई पनि सजिलै हुने गरी पढाउला भन्ने आशा लिएको छु। यो निकै राम्रो अवसर हो, स्थानीय भाषा बुझ्दा फाइदै हुन्छ।’
काठमाडौं महानगरपालिकामा निजी र सरकारी गरी करिब ५ सय विद्यालय छन्। त्यहाँ स्थानीय भाषाका रूपमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई अनिवार्य रूपमा नेपाल भाषा पढाइन लागिएको हो।
महानगरपालिकाले केही महिनाअघि नै नेपाल भाषा पढाउन तयारी गरेको थियो। महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार वेबिनारमा यसलाई अझ प्रस्ट पारिन्, ‘शिक्षक तालिम, किताब प्रकाशन लगायत तयारी भइरहेका छन्।’
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको राष्ट्रिय पाठ्यक्रममै भनिएको छ – स्थानीय सरकारले मातृभाषामा एउटा विषय प्रस्तुत गर्न सक्छन्। यसै आधारमा सबै नगरपालिकाले आ–आफ्नो ठाउँमा स्थानीय भाषा प्रयोगमा ल्याइरहेको भाषाविज्ञ एवं स्थानीय पाठ्यक्रम समिति संयोजक डा. चुन्दा बज्राचार्य बताउँछिन्।
‘पाठ्यक्रमअन्तर्गत भाषा मात्रै पढाउन खोजिएको होइन। स्थानीय भाषाको माध्यमबाट स्थानीय रहनसहन, संस्कृति, पर्व, व्यवसाय, खेलकुद आदिको ज्ञान दिने हो,’ उनले भनिन्, ‘स्थानीय मातृभाषा सिक्यो भने आफू बसिरहेको समाज बुझ्न सजिलो होस् भन्ने हिसाबले पाठ्यक्रम निर्माण गरेका छौं।’
चुन्दाका अनुसार पाठ्यक्रम कुनै पनि विद्यार्थी फेल नहोस् भन्ने हेतुले बनाइएको छ। कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई शतप्रतिशत प्रयोगात्मक परीक्षा लिइन्छ। चारदेखि ५ कक्षालाई ७५ प्रतिशत व्यवहारिक र २५ प्रतिशत लिखित परीक्षा हुन्छ। ६, ७, ८ लाई भने ५०–५० प्रतिशत व्यवहारिक र लिखित परीक्षा हुनेछ।
यो निर्णय नगर परिसरबाटै परित भइसकेको छ। स्थानीय विद्यालयहरू, प्याब्सन, एनप्याब्सन सबैसँगको सहमतिमै यो निर्णय गरिएको चुन्दाले जानकारी दिइन्। उनका अनुसार कोरोना महामारीका कारण महानगरपालिकाले मिडिया च्यानलका रूपमा मेट्रो एफएमबाट नेपाल भाषा कक्षा सञ्चालन गरिरहेको छ। बिहान १० देखि दिउँसो ३ बजेसम्म कक्षा सञ्चालन भइरहेको छ।
काठमाडौं उपत्यकामा अहिले नेवारसँगै गैरनेवारको उपस्थिति धेरै भइसकेको छ। गैरनेवारले किन नेपाल भाषा सिक्नु? यस्ता विवाद पनि आइरहेका छन्। यसलाई अनिवार्य नभई ऐच्छिक बनाउनुपर्ने उनीहरूको तर्क छ। महानगरले भने यसलाई समुदायको हिसाबमा भन्दा स्थानीय पाठ्यक्रमका रूपमा स्विकार्न आग्रह गरेको छ।
‘आधारभूत तहसम्म ऐच्छिक विषय भन्ने नै हुँदैन। फेरि हामीले विद्यार्थीलाई चाहिने नै सामग्री समेटेका छौं,’ चुन्दाले भनिन्, ‘भाषा सिक्दैमा कोही तल पर्ने भन्ने होइन। हामी नै सक्षम हुन्छौं, हामीलाई नै सजिलो हुन्छ।’
रञ्जना लिपि र नेपाल भाषा सिकाइरहेकी सुनिता डंगोल महानगरको यो कामलाई आफू बसेको ठाउँको भाषा, रहनसहन, संस्कृतिबारे जान्ने अवसरका रूपमा मान्छिन्।
‘आजकल कतिपय विद्यालयमा रसियन, चिनियाँ, फ्रेन्च लगायत विदेशी भाषा पढाउने क्रम बढेको छ। त्यो पढाउँदा अभिभावक दंग पर्छन्। झन् नेपाल भाषा त हाम्रो आफ्नै देशको। यहाँको भाषा जान्ने हो भने पछि आफैंलाई धेरै हिसाबले फाइदा पुग्छ,’ उनले भनिन्।
उनले अगाडि भनिन्, ‘महानगरपालिकाको पाठ्यक्रमलाई मैले नजिकबाट नियालेकी छु। नेपाल भाषा जान्दै नजानेका विद्यार्थीलाई पनि त्यति गाह्रो हुन्न, बुझ्ने गरी नै बनाइएको रहेछ।’