बैतडीकी १८ वर्षीया किशोरी बलात्कारको घटना मिलाउन पीडितलाई १ तोला सुन दिनेगरी तमसुक गरिएको तथ्य बाहिरिएको छ।
सिगास गाउँपालिका–३ का दिपकसिंह धामीले गएको जेठ २३ गते आफूमाथि बलात्कार गरेको भन्दै पीडित किशोरीले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
प्रहरीले बिहीबार उनको लिखित जाहेरी प्राप्त भएको जानकारी दिएको छ। पीडित किशोरी पानी भर्न मुहानमा गएका बेला जबरजस्तीमा परेको बताएकी छन्।
पानी भरेर फर्कदै गर्दा आरोपीले आक्रमण गरेको र जंगलमा लगेर बलात्कार गरेको पीडित किशोरीको भनाइ छ। घटना बाहिरिएपछि केही स्थानीयले गाउँमै मिलाउन असार १४ गते तमसुक नै गरेको प्रहरीले फेला पारेको छ।
बाहिरिएको तमसुकमा पीडित किशोरीका तीन पुस्ता र आरोपीका पनि तीनै पुस्ताको नाम थर ठेगाना खुलाएर दुबै पक्षबीच झै–झगडा हुन गएको भन्दै मिलापत्र भएको उल्लेख छ।
आरोप लगाइएका धामीले पीडित पक्षलाई १ तोला सुन कात्तिक ३० गतेभित्र दिने भनी तमसुकमा लेखिएको छ। उक्त मितिसम्म सुन दिन नसके दिपक धामीको साक्षी बसेका मनोजसिंह धामी र अमरबहादुर धामीले आफ्नो तर्फबाट तिर्ने भनेर तमसुकमा लेखिएको छ।
बलात्कारको घटनामा मिलापत्र भएको भन्ने सूचना पाएपछि बिहीबार किशोरीको उद्धार गरिएको बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए।
‘पीडित किशोरीको उद्धार गरी एकद्धार विपत संकट व्यवस्थापन केन्द्रको सेफ हाउसमा राखिएको छ,’ उनले भने। प्रहरीका अनुसार पीडितका तर्फबाट पिडक र मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी दर्ता भएको छ।
‘जाहेरी अनुसार घटनामा संलग्न रहेको आरोपमा २ जना प्रक्राउ परेका छन्,’ डिएसपी अधिकारीले भने। थप दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीको भनाई छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।