कुनै बेला महत्वपूर्ण सार्वजनिक सूचनाहरू गाउँ-गाउँसम्म पुर्याउने काम कटवालहरूले गर्थे भन्ने हामी धेरैलाई थाहा छ। यही परम्परा कतिपय गाउँमा अझै जीवित छ भन्ने चाहिँ कमैलाई जानकारी होला।
त्यस्ता गाउँमा जसै कर्नाल (एक प्रकारको बाजा) फुकिन्छ, गाउँलेहरू के खबर आउन लाग्यो भनेर ध्यानपूर्वक सुन्छन्।
दुई दिनअघिको कुरा हो, पर्वत, जलजला गाउँपालिका- ७ मा यस्तै एउटा सूचना प्रवाह भयो।
धाइरिङको डाँडामा कर्नाल फुक्दै स्थानीय ४३ वर्षीय गोरे दमाइले सुनाए, 'लौ भोलि वृद्ध भत्ता बुझ्न सबै मिलनचोक जाओ है। कसैले सुनेनम् थाहा पाएनौं भन्न पाइने छैन।'
उनले अगाडि भने, 'भोलि र पर्सिभित्र वृद्धभत्ता बुझ्न मिलनचोक बैंकमा जाओ है।'
गोरे दमाइले यसरी गाउँभरि डुलेर खबर सुनाउँदै हिँडेको २५ वर्ष भयो। उनी १८ वर्ष उमेरमै 'कटवाल' काममा लागेका थिए। विगतमा उनको परिवारले पनि गाउँमा मर्दापर्दा खबर सुनाउने गर्थ्यो। जीजुहजुरबाका पालादेखि यो काम गर्दै आएको उनी बताउँछन्।
‘हाम्रो परिवारले १९९४ सालदेखि कटवाल लगाउन थालेको हो,’ उनले आइतबार सेतोपाटीसँग भने, ‘हाम्रो जीजुबा, हजुरबा र बाले यो काम गर्नुभयो। बाबुबाजेले गरेका काम छाड्न सकिनँ, निरन्तरता दिँदै आएको छु।’
सुरूमा उनका जीजुहजुरबा पूर्ण दमाइले खबर सुनाउने काम गरेका थिए। उनका हजुरबा र उनका बा लघुवीरले पनि छाडेनन्। आज उनी चौथो पुस्ताका रूपमा यो काम गर्दै छन्।
यसरी कटवाल काम गरेर परिवार कसरी चल्छ त?
हाम्रो यो प्रश्नमा गोरे दमाइले भने, 'मेरो बाबुबाजे घरघर पुगेर अन्नबाली उठाउनु हुन्थ्यो। खबर सुनाएबापत् गाउँलेहरूले नै वर्षको एक पाथी अन्नबाली दिन्थे। अचेल भने गाउँपालिकाले मासिक तलब व्यवस्था गरिदिएको छ।'
कति हुन्छ तलब?
'मासिक तीन हजार,' उनले भने, 'यो पैसाले मलाई खान त पुग्दैन, तै पनि टेवा भएको छ।’
उनको परिवारमा सात जना छन्। बाबु ०६८ सालमा बिते। वृद्ध भइसकेकी आमा बिरामी छिन्। केही दिनअघि पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरे पनि दुई महिनापछि पित्तथैलीको अपरेसन गर्नुपर्नेछ।
गोरेको मुख्य काम वडा र गाउँपालिकाबाट आएका खबर गाउँलेलाई सुनाउने हो। सात गाउँको १५ ठाउँमा घोक (डाँडाबाट कराउने काम) हाल्ने काम उनको जिम्मामा पर्छ।
‘कहिले एकैदिनमा तीनपटकसम्म घोक हाल्नुपर्छ त कहिले महिनादिनमा एकपटक मात्रै,’ उनले भने।
बाबुबाजेले गरेको काम भएकाले कमाइ थोरै भए पनि उनले छाड्न सकेका छैनन्। ‘सुखदु:ख बाबुबाजेले गरेको काम गर्दै आएको छु,’ उनले भने, ‘दिन मार्ने गरी अर्काको निमेक गर्न जान पाउँदिनँ, घोक हाल्नुपर्यो भने मेला पूरा गर्नै पाइँदैन। दाउरा खोज्न जान पनि पाउँदिनँ।’
उनले आफ्नै खेतीबाली भने लगाएका छन्। तर, त्यसले तीन महिना पनि खान पुग्दैन। पालिकाको तलबबाट पनि उनी सन्तुष्ट छैनन्।
‘पालिकाले दिने तीन हजारले त मीठो चिया खाम् भने पनि महिनादिनलाई पुग्दैन नि!’ उनले भने, ‘बरू पहिला अन्नपात दिन्थे, केही समय खान त पुग्थ्यो।’
उनका तीन छोरामध्ये जेठा र माइलाले त्यसै पढाइ छाडे। कान्छो छोरा कक्षा १२ मा पढ्दै छन्। उनी आफू भने अरूले लेखेको खरर पढ्न सक्दैनन्। एक कक्षा पढेका उनले नामसम्म लेख्न सक्छन्।
अहिले मानिसका हातहातमा मोबाइल छ। गोरे आफैंले पनि मोबाइल बोक्न थालेको पाँच वर्षजति भयो। तै पनि खबर सुनाउने काम कटवालले किन गर्छन्?
‘हातहातै मोबाइल भएर के गर्नु! गाउँलेहरूले बुझ्ने गरी खबर दिनुपर्यो नि। हामीलाई गाउँलेहरूको भाका थाहा छ, हामी उनीहरूले बुझ्ने गरी खबर दिन्छौं,’ उनले भने, ‘एफएम रेडियोको पनि त्यही समस्या हो। उनीहरू खबर त फुक्छ्न्, तर गाउँलेहरूलाई त्यसको पत्तो नाइँ।'
त्यही खबरलाई आफूहरूले गाउँले भाकामा सुनाउँदै हिँडेपछि घर-घरसम्म पुग्ने उनको भनाइ छ।
यसरी खबर सुनाउनुअघि गाउँलेहरूको ध्यान खिच्न ठूलो आवाजमा कर्नाल बजाउने गरेको उनले बताए। अहिले उनले बजाउने कर्नाल छ वर्षअघि किनेका हुन्। त्यति बेला २० हजार रूपैयाँ हालेका थिए।
उनले तत्कालीन गाविस र अहिले पालिकालाई हाते माइक किनिदिनू भनेर भनिसके। माइक भए मुख सुक्ने गरी चर्कोसँग कर्नाल फुक्न पर्दैन भन्ने उनलाई लाग्छ। तर, उनको माग सुनुवाइ भएको छैन।
उनी जब घरबाट कर्नाल लिएर डाँडातिर लाग्छन्, सबभन्दा पहिले उनकी आमाले वृद्धभत्ता लिने बेला भएछ भन्ने थाहा पाउँछिन्। उनको घरमा वृद्धभत्ता खाने आमा मात्रै छिन्।
वृद्धभत्ता बैंकबाट वितरण हुन्छ। पहिलेजस्तो टोलटोलमा सचिव पैसा लिएर आउँदैनन्। वृद्धभत्ता खाने मानिस वा परिवारका सदस्य चेक लिएर बैंकसम्म पुग्नुपर्छ।
जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले गाउँपालिकाबाट तलब खाने गरी ११ जना कटवाल राखेको बताए।
‘हामीले वडामा एक जनाका दरले कटवाल राखेका छौं। गाउँपालिकाले सेवासुविधा दिन्छ। उहाँहरूले गाउँबाट अन्नबाली पनि लिन पाउनु हुन्छ,’ उनले सेतोपाटीसँग भने।
रेडियो र फोनबाट दिएका खबरभन्दा कटवाल कराएर दिएका खबर बढी प्रभावकारी देखिएको उनको भनाइ छ। ‘कर्नाल बजाएपछि के रहेछ भनेर मानिसले ध्यानपूर्वक सुन्छन्। यसरी दिएका सूचना प्रभावकारी हुन्छ,’ उनले भने।
त्यही भएर गाउँ-गाउँतिर स्थानीय तहहरूले कटवाल राख्ने गरेका छन्। पर्वतदेखि टाढा गोरखाको दुर्गम गाउँ, धार्चेका सबै वडामा कटवाल छन्। उनीहरूलाई गाउँपालिकाले मासिक एक हजार पाँच सय रूपैयाँ तलब दिने गरेको छ।
गाउँमा फोन, रेडियो, इन्टरनेट पुगे पनि कटवाल राख्नुको कारणबारे धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरूङ भन्छन्, 'गाउँपालिकाको एकतिहाइ जनसंख्याले नेपाली भाषा बुझ्दैनन्। उनीहरूलाई गुरूङ भाषामै खबर सुनाउनुपर्छ।'
धार्चे- ५, गुम्दाका वडाध्यक्ष तुलबहादुर गुरूङले पनि आफ्नो वडाभित्र तीन जना कटवाल राखेको जानकारी दिए। तीमध्ये एक जना अशोक गुरूङलाई गाउँपालिकाले मासिक पन्ध्र सय तलब दिन्छ।
‘हाम्रो वडाको क्षेत्रफल ठूलो छ। ईश्वरमान गुरूङ र जीतबहादुर गुरूङलाई पनि कटवाल राखेका छौं,’ उनले भने, ‘स्थानीय भाषामै गाउँलेले बुझ्ने गरी सूचना दिने भएकाले कटवाल कराउने चलन भरपर्दो छ।’
गाउँपालिकाले एक वडामा एक जना कटवाल सरकारी तलब दिने गरी नियुक्त गरेको छ। ठूलो क्षेत्रफल भएका वडाले स्थानीय व्यवस्थापनमा थप कटवाल राख्न पाउँछन्। गाउँलेहरूले कटवाललाई वर्षको एकपटक अन्नबाली दिनुपर्छ।
धार्चेकै वडा नम्बर १ हुल्चोक केरौंजामा पहिले कटवाल थिएनन्। ०७४ सालमा जनप्रतिनिधि आएपछि गाउँमा सर्वपक्षीय भेला गरेर ३८ वर्षका कान्छा गुरूङलाई कटवाल नियुक्त गरियो।
‘पहिले केरौंजा गाविस हुँदा यहाँ कटवाल थिएनन्। छिमेकी गाउँबाट आएर खबर दिनुपर्थ्यो,’ वडाध्यक्ष दिलिप गुरूङले भने, ‘केरौंजा गाउँलाई दुईवटा वडा बनाएपछि मासिक तलब खाने गरी कटवाल राखेको हो।’
धार्चे- ३, उहियाका वडाध्यक्ष इन्द्रप्रसाद गुरूङले मर्दापर्दा गाउँमा खबर दिने काम कटवालले गर्दै आएको बताए।
‘हामीकहाँ सार्की सुनार कटवाल हुनुहुन्थ्यो। बूढो भएँ काम गर्न सकिनँ भन्नुभयो। उहाँकै छोरालाई हालै कटवाल नियुक्त गरिएको छ,’ उनले भने।