रोजगारीका लागि भारत गएका नेपाली पलियाबाट पुनः नेपाल फर्केका छन्।
बसवालाहरूले गन्त्यव्य स्थानमा नपुर्याई पलियामै अलपत्र छोडेपछि उनीहरू मंगलबार बिहान १ बजे धनगढी फर्केका हुन्।
धनगढीको बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टुर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट लिएर भारत गएकाहरू धनगढी फर्केका हुन्।
सोमबार साँझ ५ बजे बर्दादेवी टुर एण्ड ट्राभल्स प्रा.लि.बाट बस चढेर गएको कैलालीको गौरीगंगा नगरपालिकाका जय गिरीले बताए।
उनीहरूले भारतको पुनाको टिकट लिएका थिए। त्यही टिकटबाट बसमा चढेर गौरीफण्टा नाका हुँदै साँझ ७ बजे पलियामा पुगेको उनले बताए।
‘पलिया पुगेपछि बसवालाले तपाईंले टिकट लिएको बर्दादेवी टुर एण्ड ट्राभल्सले करोड रुपैयाँ तिर्नुपर्ने छ। ज-जसले त्यहाँबाट टिकट लिएको छ उनीहरूलाई लग्दैनौं भनेर बसबाट ओर्लिन लगाए, ’ उनले भने।
जय जस्तै, सोमबार साँझ गौरीफण्टा नाकाबाट बर्दादेवी टुर एण्ड ट्राभल्सबाटै अरु १ सय ३० जनाले पनि टिकट लिएका थिए।
टिकट लिँदा गन्तव्य स्थानमै पुर्याउने भने पनि टिकट कम्पनीका कारण बीच बाटोमै अलपत्र छोडेको कैलालीकै घोडाघोडी नगरपालिकाका उपेन्द्र महराले जानकारी दिए।
उनले राति पलियामा अलपत्र छोडेपछि पुन: धनगढी फर्केको बताए ।
टिकट काटेका १ सय ३० जनामध्ये अहिले ४० जना धनगढी बसपार्कमा फर्केका छन्।
उनीहरू रातारात बसपार्क फर्केका हुन्। कतिपय पलियामै अलपत्र छन्।
यसअघि पनि बर्दादेवी टुर एण्ड ट्राभल्स प्रा.लि.ले भारतको मुम्बई, बैंङ्गलोर, रत्नागिरी, पुना लगायतका सहरका लागि भनेर पठाएका यात्रुहरू पलिया र पुनामा अलपत्र परेका थिए।
मंसिर ७ गतेका दिन सोही ट्राभल्सले धनगढीबाट बैंङ्लोरका लागि पठाइएका २३ जना यात्रुलाई भारतको पलियास्थित भीरामा अलपत्र बसवालाहरूले यसरी नै अलपत्र छोडेको थियो।
उनीहरू पनि धनगढी फर्केका थिए। अलपत्र छोडिएका २३ जना यात्रु धनगढी फिर्ता भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीको रोहबरमा उनीहरूलाई टिकटबापतको रकम फिर्ता गराइएको थियो।
मंगलबार फर्किएका ४० जनाले ट्राभल्स कम्पनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले अनुसन्धान गरिरहेको बताए।
उनले घटनाको सत्य-तथ्य बुझेर दोषीलाई कारबाही गरिने बताए।
बर्दादेवी टुर एण्ड ट्राभल्स प्रा.लि.का सञ्चालक लोकबहादुर साउदले आफूले कसैलाई पैसा दिनुपर्ने नरहेको बताए।
उनले अरु टिकट कम्पनीका कारण आफूलाई फसाउन खोजेको बताए।