हौसलपुरकी विमला चौधरी कक्षा १० मा पढ्छिन्। उनी पढ्न भारतको सरस्वती शिशु विद्या मन्दिरमा जान्छिन्।
‘हाम्रो गाउँका सबै केटाकेटी भारतमै पढ्छन्,’ उनले भनिन्।
उनीहरू कोही पैदल, कोही साइकल लिएर भारतको स्कुलमा १० मिनेटमै पुग्न सक्छन्।
‘हामी भारतमा पढ्ने भएकाले स्कुलमा हिन्दी, अंग्रेजी र संस्कृत पढ्छौं। नेपालमा नपढेकाले हामी नेपाली भाषा जान्दैनौं र बुझ्दैनौं,’ उनले भनिन्।
स्कुल भए गाउँमा पढ्ने उनले बताइन्। नेपाली भाषा सिक्न पनि जरूरी रहेको उनले बताइन्।
‘यदि हाम्रो गाउँमा पुल बनेको भए, स्कुल बनेको भए हामी नेपालमै पढ्न सक्थ्यौं,’ उनले भनिन्।
कैलालीको कैलारी गाउँपालिका-७ मा विमलाको गाउँ हौसलपुर पर्छ।
यो भारतसँग सिमाना जोडिएको बस्ती हो। यो बस्तीबाट नेपाल आउन मोहना नदी तर्नुपर्छ। मोहना नदीमा पुल छैन।
उनका बुवा राजकुमार हौसलपुर गाउँका चौकीदार हुन्। बस्तीमा करिब ५५ जना स्कुल पढ्ने केटाकेटी रहेको उनले बताए।
‘नेपालका स्कुल जान मिल्ने बाटो छैन हाम्रो गाउँमा,’ उनले भने, ‘पढाउन पठाउँ भने बाढी आउँछ यता। बाटो र पुल नभएका कारणले हामी टापुमा बसेका छौं। नेपाल जान नसकेर हामी केटाकेटीलाई भारतमै पढाउँछौं।’
गाउँमा स्कुल बने केटाकेटीलाई भारत नपठाउने उनी बताउँछन्।
हौसलपुर गाउँका भलमन्सा टिकाराम चौधरीले पनि गाउँमा स्कुल नभएकाले केटाकेटीलाई भारत पढ्न जानुपर्ने बाध्यता रहेको बताए।
‘उता हिन्दी सिक्छन् तर नेपाली बोल्न नै जान्दैनन्,’ उनले भने।
केटाकेटीलाई नेपालको पढाइ नभएर भविष्यमा समस्या पर्ने हो कि भन्ने चिन्तामा अभिभावक रहेको भलमन्सा चौधरीले बताए।
‘भारतमा त खाली पढ्छन् मात्र हाम्रा केटाकेटी, त्यहाँ जागिर खान र केही काम गर्न पहिले त प्रमाण हुनपर्यो,’ उनले भने,
‘नेपालको प्रमाण त छ तर भाषा र सर्टिफिकेट छैन।’
उनले बच्चा निरक्षर नहुन् भन्नलाई भए पनि बाध्यताले भारतका स्कुलमा पढाउनु परिरहेको बताए।
त्यहीँका पुष्पेन्द्र चौधरी भारतकै स्कुलमा बिए प्रथम वर्षमा अध्ययन गर्दैछन्। उनलाई नेपाली भाषा र किताब कस्तो हुन्छ थाहा छैन।
‘मलाई हिन्दी र थारु भाषा आउँछ,’ उनले भने।
भारतको पढाइले योग्यता बढाउन काम लागेको उनको भनाइ छ।
‘यहाँ भारतबाट बिहे गर्नुपरे पनि पढाइ काम लाग्छ,’ उनले भने।
भारतको पढाइले नेपालमा जागिर खान पाइन्छ कि पाइँदैन, उनलाई थाहा छैन।
हौसलपुरका बासिन्दा खेतीपाती, पशुपालन र केहीले अन्य ठाउँमा गएर मजदुरी गर्छन्।
कसरी पुगिन्छ हौसलपुर?
धनगढी–सत्ती हुलाकी सडक हुँदै वसन्ता क्षेत्रको सुरूको विन्दुबाट दक्षिणतिर खेती लाउन किसानले बनाएका बाटो हुँदै हौसलपुर जानुपर्छ। हौसलपुरकै लागि भनेर बाटो नबनेको त्यहाँका पूर्वभलमन्सा नरमेन्द्र चौधरीले बताए।
उनले मुख्य सडकबाट करिब सात किलोमिटर पर रहेको मोहना नदीमा वर्षामा डुंगा तरेर वारिपारि गर्नुपर्ने बताए।
‘हिउँदमा पनि केटाकेटी डुब्नेसम्म आउने पानी हुन्छ,’ उनले भने।
आजभोलि काम परे ट्याक्टरले मान्छे र सामान ओसारपसार गर्ने गरेको उनले बताए।
सरकारी बजेटले सिमावर्ती क्षेत्रलाई कसरी समेट्दै छ?
कैलारी गाउँपालिकाले हौसलपुरसहित अरु सिमावर्ती बस्तीको विकासका लागि विशेष कार्यक्रम लागू गरेर बजेटको व्यवस्था गरेको जनाएको छ।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले हौसलपुरमा यसै वर्ष ग्राभेल बाटो बनाउने काम भएको बताए।
‘केही महिनाअगाडि हौसलपुरमा हामीले बिजुली पनि पुर्याएका छौं,’ उनले भने।
स्थानीयले केटाकेटीलाई पोलियो थोपा खुवाउन पनि डुंगा चढेरै स्वास्थ्य स्वयंसेवीका हौसलपुर पुग्नु परेको बताउने गरेका छन्।
हौसलपुरमा स्वास्थ्य चौकी नभएकाले भारतमै औषधी-उपचार गर्ने गरिएको नरमेन्द्र चौधरीको भनाइ छ।
गाउँपालिकाका अध्यक्ष चौधरीले त्यहाँ स्वास्थ्य स्वयंसेवीका राख्ने कुरा बताए पनि दुई वर्षमा त्यो काम भएको छैन।
बस्तीलाई नेपालसम्म जोड्ने झोलुंगे पुलका लागि संघीय सरकारबाट काम सुरू भएको उनले दाबी गरे।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सिमावर्ती क्षेत्रमा नागरिक कतिपयसम्म सरकार पुग्न नसकेको स्वीकार गरे।
उनले हौसलपुरमा पुल नभएरै केटाकेटीले भारतमा पढ्नुपर्ने विषयमा आफैं बुझेर समस्या समाधान गर्ने आश्वसन दिएका छन्।
हौसलपुरमा २८ घर छन् र जनसंख्या २ सय ६० जना जति छ। त्यहाँका नागरिकसँग आफूले प्रयोग गरेको जमिनको लालपुर्जा छैन।
एक स्थानीयका अनुसार मोहना वारि र पारि गरी ४२ बिगाहा जति जमिन उनीहरूसँग छ।
बस्तीका करिब ६० प्रतिशतसँग नेपाली नागरिकताको प्रमाण पत्र पनि नभएको उनले बताए।
‘अलि अघिसम्म नेपालबाटै बिहे गर्ने चलन थियो, अहिले भारततिर बढी निर्भर हुन थालेपछि केहिले बिहेवारी पनि उतैबाट गर्न थालेका रहेछन्,’ पुष्पेन्द्रले भने।
हौसलपुर गाउँको इतिहास के हो?
५० वर्षीया रामकृष्णी चौधरीले सुरूमा हौसलपुरमा डंगुवा थारु १२ वर्षजति बसेको बताइन्।
‘सरदारहरूले महिलालाई दुर्व्यवहार गर्ने, पशुचौपाया चोर्ने, खान, बस्न निकै दु:ख थालेपछि आजित भएर उनीहरू त्यहाँबाट भागेका रहेछन्,’ उनले भनिन्।
त्यहाँ जमिन छ भन्ने थाहा पाएपछि कमैया बसेका २५ परिवार हौसलपुर पुगेर बस्न थालेका उनले बताइन्।
‘सरकारले कमैयालाई मुक्त गराएपछि मालिकले निकाले, आफूसँग जग्गा जमिन थिएन, पछि जमिन छ भन्ने थाहा पाएपछि यहाँ आयौं,’ उनले भनिन्।
उनीहरूलाई पनि सरदारले कसैका घरको ढोका ढकढक्याउने, महिला मान्छेलाई जिस्काउने, कुखुरा-सुँगुर मारेर लगिदिने गरेको उनले बताइन्।
‘अहिले कसैले त्यस्तो गर्दैनन्। हामी पनि होसियार बनेका छौं, डराउँदैनौं,’ उनले भनिन्।