मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो छुट्टै ‘सुरक्षा इकाई’ बनाउन थालेको छ।
सुर्खेतमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले आफ्नो छुट्टै सुरक्षा इकाई बनाउन यो वर्षको सिनेटमा प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।
भौतिक तथा अन्य आवश्यक सुरक्षाका लागि विश्वविद्यालयले ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुरक्षा इकाई’ का रूपमा स्थापना गर्न थालेको उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले बताए।
मध्यपश्चिमाञ्चलले बनाउन लागेको सुरक्षा इकाई नेपालका विश्वविद्यालयहरू मध्येमा पहिलो भएको उनले बताए।
‘संसारका कतिपय विश्वविद्यालयहरूले आफ्नै सेक्युरिटी युनिट बनाएका छन्,’ उपकुलपति सिंहले भने, ‘हामीले बनाउन लागेको सुरक्षा युनिट हाम्रो नेपालको सन्दर्भमा भने पहिलो नै हो।’
विश्वविद्यालयको आन्तरिक सुरक्षा तथा रेखदेखका लागि आफ्नै सुरक्षा इकाई आवश्यक महशुस गरिएको उनले बताए।
‘विश्वविद्यालयको आन्तरिक सुरक्षासँगै भौतिक कुराको पनि रक्षा गर्नु आवश्यक हुन्छ,’ उनले भने, ‘यो पटकको सिनेटमा यसको प्रस्ताव पेश गर्ने तयारी भइसकेको छ।’
हाल बाहिरबाट नियुक्त गरेर विश्वविद्यालयको सुरक्षामा जनशक्ति परिचालन गरेवापत लाग्ने खर्च नै अब बन्ने सुरक्षा युनिटको लागि पर्याप्त हुने उपकुलपति सिंहले बताए।
‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुरक्षा इकाई’ भित्र नेपाली सैनिक, भारतीय सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका मान्यता प्राप्त सुरक्षा संगठनमा काम गरेका व्यक्ति रहने उनले जानकारी दिए।
सुरक्षा संगठन प्रवेश गरी तालिम पूरा गरेका, समयमै अवकाश प्राप्त वा स्वेच्छिक अवकाश रोजेका व्यक्तिलाई विश्वविद्यालयको सुरक्षा युनिटभित्र राखिने उपकुलपति सिंहले बताए।
‘हामीले २५ देखि ३५ वर्ष उमेर समूहभित्रका भूतपूर्व सैनिक वा प्रहरीलाई युनिटमा राख्ने भनेका छौं,’ सिंहले भने, ‘उनीहरूलाई ५० वर्ष पुगेपछि अवकाश दिइनेछ, यसमा जागिर छोडेका वा सेवा निवृत्त भएकाहरू पर्छन्।
विश्वविद्यालयको सिनेटमा पेश गरिने यससम्बन्धी प्रस्ताव पारित भएमा गठन हुने सुरक्षा इकाईमा तत्कालका लागि २० जना राखिने छ।
सुरक्षा इकाईको आफ्नै पोशाक हुनेछ। उक्त इकाईमा तत्कालका लागि करार सेवामा जनशक्ति लिइने उपकुलपति सिंहले बताए।
सिनेट काठमाडौंमा बस्दै
यो वर्षको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट काठमाडौंमा बस्दैछ। विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीको कार्य व्यस्तता र कोभिडले निम्त्याएको परिस्थितिका कारण यो वर्षको सिनेट पनि काठमाडौंमा गर्न लागिएको उपकुलपति सिंहले बताए।
‘विश्वविद्यालय भएकै ठाउँमा सिनेट बस्नु उपयुक्त हुन्थ्यो, तर अहिलेको कोभिडले निम्त्याएको फरक परिस्थिति र उहाँको कार्य व्यस्तताको कारण कुलपति यहाँ आउन नसक्ने हुनुभयो,’ सिंहले भने, ‘त्यसकारण अहिलेको सिनेट पनि काठमाडौंमै हुन लागेको छ।’
यही मंसिर ३० गते बस्न लागेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो १० औं सिनेट हो।
सिनेटका लागि आवश्यक सबै तयारी पूरा भइसकेको उपकुलपति सिंहले जानकारी दिए ।
उक्त सिनेटका लागि विश्वविद्यालयको भौतिक सम्पत्तिको रक्षादेखि आधुनिक विश्वविद्यालय बनाउने लगायतका एजेण्डा तयार पारिएको उनले जानकारी दिए।
विश्वविद्यालयभित्रका विगतका विकृति तथा विसंगतिहरूलाई कानूनसम्वत् सुधारेर लैजानेगरी सिनेटमा छलफल हुने जनाइएको छ।