जाजरकोटमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्। शनिबार बिहान घाँस काट्न भिरमा गएकी कुशे गाउँपालिका–४ की शर्मिला नेपाली लडेर घाइते भएकी हुन्।
उनको शनिबार बेलुका ४ बजेतिर सिम्रिक एयरको हेलिकप्टरमार्फत् उद्धार गरी सुर्खेत ल्याइएको छ।
रारामा रहेको हेलिकप्टर उनको उद्धारका लागि राराबाट सिधै कुशे गाउँपालिका गएको थियो।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार घाइते शर्मिलाको दुवै आँखा गुमेका छन् भने एउटा खुट्टा भाँच्चिएको छ।
‘बिहानै घटना भएको रहेछ, १० बजेतिर मात्र आफन्तले थाहा पाएछन्,’ अध्यक्ष बस्नेतले भने, ‘दुवै आँखा गुमेका छन्, ओठ पनि फुटेको छ।’
बिरामीले बोल्न नसक्ने अवस्था रहेको उनले बताए।
स्वास्थ्यकर्मीले राम्रो अस्पतालमा सिफारिस गरेपछि उद्धारका लागि हेलिकप्टर मगाइएको अध्यक्ष बस्नेतले बताए।
उनलाई सुर्खेतस्थि प्रदेश अस्पतालमा लगिएको छ ।