गाउँमा पढ्दा जहिल्यै, पहिलो वा दोस्रो हुन्थे मौदा गुरुङ। कास्कीको मादी गाउँपालिका-२ ताङतिङस्थित हिमालय माविमा अध्ययन गर्दा उनले पढाइमा गरेको प्रगति पोखरामा झरेर दुर्गतिमा परिणत भयो। जब पोखरा झरेर उनले कक्षा-९ मा भर्ना भए, त्यसपछि उनका प्राथमिकता फेरियो।
पोखरास्थित भद्रकाली माविमा भर्ना भएपछि उनको संगत असल साथीसँग भएन। उनले पोखरा झरेपछि धुमपान र मदिरा सेवन सिके। पढाइभन्दा कुलतमै उनको लत बस्यो। भारतीय सेनामा कार्यरत बुबाले मौदालाई खर्चको अभाव हुन दिएनन्। मौदाको खर्च भने कापी कलममा भन्दा चुरोट-रक्सीमा ज्यादा हुन थाल्यो।
साथीहरूको संगत र कुलतको बानीले उनले कैयौं रात घरबाहिर सडक र पाटीपौवामा बिताए। त्यतिबेला सरकारले प्रतिबन्ध गरेका लागुऔषध समेत सेवन गरे। गाउँमा पढिन्जेल राम्रो भनिएका विद्यार्थी पोखरा झरेपछि बिग्रिए। कक्षा ९ मै मौदाले राम्रो नम्बर ल्याउन सकेनन्।
कक्षा-१० मा पुग्दा त उनी लागुपदार्थ सेवनमा यति नराम्रोसँग डुबे कि अब परिवार र आफन्तलाई चिन्ताको विषय बन्यो।
‘मैले सुई लगाउनेबाहेक अरू सबैजसो लागुपदार्थ लिएँ’, मौदाले भने, ‘मेरो कारण आमा बुबा र आफन्तले पनि दु:ख पाए।’
त्यतिबेला ताङतिङ गाउँमा कक्षा ८ सम्ममात्र पढाइ हुन्थ्यो। माध्यमिक तहको अध्ययन गर्न पोखरा झर्नुपर्थ्यो। कुलतमा फसेका मौदाले एसएलसी त दिए, तर पास भएनन्। त्यतिबेला पढाइमा प्रगति गर्न नसकेका गाउँका युवा खाडी र मलेसिया जाने क्रम बढेको थियो। उनलाई पनि आफन्तले विदेश पठाइदिने भने। मौदा पनि तयार भए।
पासपोर्ट बनाएर दिएको केही समयमै मौदालाई साउदी अरब जान भिसा आयो। हेल्परको काम गर्न उनी साउदी अरब पुगे। बुबा आमाका एक्लो छोरो लागुपदार्थ दुर्व्यसनीबाट उम्कियोस्, र सुध्रियोस् भनेर उनलाई परिवारले कलिलैमा साउदी पठाइदिए।
पोखरामा हुँदा न आमा बुबालाई टेर्ने न आफन्तलाई। फुक्काफाल भएर हिँडेका मौदाले साउदी अरब पुगेपछि भने कठोर व्यवहार सहनुपर्यो। साउदी पुगेको १३ दिनसम्म न कम्पनीले काम दियो, न बस्न खान नै दियो। साउदीमा रहेका नेपालीले उनलाई लगेर पाले।
पछि कम्पनीले काम त दियो, पैसा कहिले दिने कहिले नदिने। नेपालमा सम्झौता गरेकोभन्दा धेरै कम, बस्न खान पनि नपुग्ने। पोखरामा परिवारलाई सताएर साउदी धपाइएका मौदालाई नेपाल फर्कन पनि मन लागेन। उता बस्न सक्ने अवस्था पनि थिएन।
विदेश गएर पनि सुध्रेन भनेर टोकासा खानुपर्ला भनेर उनले नेपाल नआउने निर्णय गरे। आफू यस्तो दु:खमा फसेको कुरा पनि परिवारलाई सुनाएनन्।
‘नेपालमा लफङ्गा भएर हिँडेको फेरि काम नगरी फर्कियो भन्छन् भनेर इज्जत बचाउन फर्किनँ’, उनले भने।
साउदीमा हेल्परका रूपमा पुगेका मौदाको खास काम पाइपलाइनमा थियो। पाइपलाइनमा हेल्परको कमाइ उतै खान पनि नपुग्ने भएपछि उनले विकल्प खोजे। कम्पनीमा ८ घन्टा काम गरेपछि बाँकी समय उनी घरघरमा पुगेर फोहोरका टोकरी खोतल्न थाले। साप्ताहिक विदामा पनि उनले बाहिर अन्य काम खोजेर गरे।
बोरा बोकेर घरघरमा पुगेर फोहोरका टोकरी खोतल्दा उनले फलामका टुक्रा, आल्मुनियम, मुस्लिम समुदायले लगाउने बुर्कालगायत खोजे।
त्यसरी खोजिएका कवाडी बेचेर उनले त्यहाँ खाने बस्ने जोहो गरे। ३ वर्ष कट्यो, उनको भिसा सकियो। यो तीन वर्षमा उनले विदेश जाँदा परिवारलाई लागेको खर्च ८० हजार पठाए। त्यही पनि जेनतेन। थप पैसा त भए पो पठाउने!
भिसा सकिएपछि उनी नेपाल फर्किए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिँदा उनको खल्तीमा २५ हजार रुपैयाँमात्र थियो। घर आइपुगे।
त्यसपछि मौदा फेरि विदेश जाने भए। यसपालि साउदी अरबहोइन, दुबई (युएई) उडे। दुबैको आल्मुनियम कम्पनीमा पुगेका मौदा ४ वर्ष हेल्परका रूपमा काम गरे। त्यसपछि उनलको पदोन्नति भयो। काम गर्दै जाँदा उनले सीप सिके, अपरेटर बने।
‘दु:ख त निकै दु:ख थियो, एप्रोन लगाएर काम गर्नुपर्थ्यो’, मौदाले भने, ‘पानी हो की पसिना थाहै हुन्थेन, कति त काम गर्दा गर्दै ढल्थे।’
साउदी अरबको तुलनामा दुबईमा राम्रो तलब आयो, उनले त्यहाँ ९ वर्ष विताए।
‘विदेशले धेरै कुरा सिकायो’, मौदाले भने, ‘दु:ख पाएपछि चेतना आउँदो रहेछ।’
पढ्ने बेला राम्रो गरिरहेका मौदालाई कक्षा ९ मा पढ्न पोखरा झरेको एकाध jर्षमै लागुपदार्थ दुर्व्यसनमा चुर्लुम्म डुबेका थिए। त्यसको नतिजा उनले खाडीमा बेहोर्नुपर्यो।
विदेश आउने जाने गरिरहँदा पनि उनले मदिरा सेवन त्यागेका थिएनन्। अहिले भने उनले लागुऔषध दुर्व्यसन र मदिरा सेवन त्यागिसकेका छन्। लागुपदार्थ त्याग्दाको पनि उनको अर्को कथा छ।
एक दिन साँझ गाउँमा युवा क्लबका नाचगान कार्यक्रम थियो। मौदा मदिरा सेवन गर्ने सबलाई थर्काउने डनजस्ता थिए। मदिराको नसामा झुम्मिएका मौदा त्यस नाचगान कार्यक्रममा पुगे। आफूले भनेका गीत बजाउन र नाच्न लगाए।
मदिराले मैमत्त मौदालाई कसैले प्रतिकार गरेनन्। उनले जे-जे भने, गाउँका अरु युवाले पनि मान्दै गए। जब उनी बसिरहेको ठाउँबाट लडे, गाउँलेहरू आत्तिए, नाचगान कार्यक्रम रोकियो।
सारा गाउँलेले मदिराले मात्तिएर लडेको भनेर गाइगुइँ भयो, परिवारले यो सब सुन्नुपर्यो। उनलाई पनि त्यसपछि निको लागेन, सबै मदिरा र लागुपदार्थ सेवन त्यही दिनदेखि त्यागिदिए।
‘त्यो दिनपछि मैले रक्सी पनि खाएको छैन’, मौदाले भने, ‘नखाने मान्छे लडेको भए माया गर्थे होलान्, मेरो त बेइज्जत भयो।’
अहिले भने गाउँका असल व्यक्तिका रूपमा उनी परिचित छन्।
‘पढ्ने बेला दुर्व्यसनमा नफसेको भए कहाँ हुन्थें हुँला’ उनी सोच्छन्।
कक्षा ८ मा प्रथम भएर कक्षा ९ मा भर्ना हुन पोखरा झरेका मौदा वर्ष दिन नकट्दै फेल हुने अवस्थामा पुग्दा उनलाई पढाएका शिक्षक पनि दु:खी बनेका थिए। ताङतिङस्थित हिमालय माविका प्रध्यानाध्यापक प्रकाश गुरुङ भन्छन्,
‘त्यतिबेला यहाँ कक्षा १० सम्म पढाइ हुन्थेन, भए त मौदाले राम्रो गर्न सक्थ्यो।’
पोखरा, साउदी अरबर दुबई हुँदै अहिले मौदा गाउँमा बस्छन्।
‘विदेश बसेर फाइदा छैन’, उनी भन्छन्, ‘गरे त गाउँमै पाइन्छ काम।’
उनले गाउँमा निजी र सार्वजनिक भवन बनाउनेदेखि पेन्टिङ गर्ने काम गर्छन्। यसका अलवा तकारी खेती र कुखुरापालन गरेका छन्। गाउँको उत्पादन गाउँकै होमस्टे र होटलले किनिदिन्छन्।
उनलाई दुबईस्थित कम्पनीका म्यानेजरले अहिले पनि फोन सम्पर्क गरेर काममा फर्कन भन्छन्। उनको इमान्दारिता र काम प्रतिको लगनशीलता कम्पनीका म्यानेजरलाई मन परेछ, बोलाइराख्छन्। तर मौदा भने आउँदिन भनेर जवाफ दिन्छन्- गाउँमै ठिक छ।