रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा सातै दिन विद्यालय सञ्चालन गर्न थालिएको छ।
नगरपालिकाभित्र रहेका विद्यालयहरु हप्ताको सातै दिन सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो।
नगरपालिकाका मेयर गोर्खबहादुर केसीका अनुसार शुक्रबार पूरै दिन पढाइ हुनेछ भने शुक्रबार हुने अतिरिक्त क्रियाकलापहरु शनिबार बिहान सञ्चालन गरिनेछ।
‘शुक्रबार छुटेका अतिरिक्त क्रियाकलाप शनिबार बिहान सञ्चालन हुन्छ। त्यस बाहेकको बाँकी समय शनिबार पनि पढाइ हुन्छ,’ उनले भने।
उनका अनुसार दसैंअघि नै सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय भएको थियो।
यसै महिना बसेको शिक्षा समितिको वैठकपछि यो निर्णय कार्यान्वयनमा आइसकेको छ।
नगरपालिकाको निर्णय अनुसार आउँदो शैक्षिक सत्रसम्म १५५ दिन विद्यालय सञ्चालन हुनेछन्।
‘बालविकासदेखि कक्षा ९ सम्मको पढाइ २०७८ को वैशाखसम्म सञ्चालन हुनेछ। आगामी वैशाखलाई पनि यसै शैक्षिक सत्रमा गाभेर पढाइ सञ्चालन गर्ने निर्णय भएको छ,’ मेयर केसीले भने।
यस नगरपालिकामा ६३ वटा विद्यालय छन्। करिब १४ हजार विद्यार्थी छन्।
मेयर केसीका अनुसार जाडो बिदा पनि काटिएको छ।
‘कोरोनाको प्रभावले पारेको असरलाई मध्यनजर गर्दै बिदाको बेला पनि पठनपाठन सञ्चालन गर्ने योजना बनाइएको हो,’ उनले भने, ‘जाडो बिदा पनि काटिएको छ, यसरी पठनपाठन सञ्चालन गर्दा कोरोनाले प्रभाव पारेको शैक्षिक क्षेत्रलाई राह पुग्ने अपेक्षा गरिएको छ।’
लकडाउन भए यता बन्द भएका विद्यालय नगरपालिकाले कात्तिक १६ गतेदेखि सञ्चालन गरेको थियो।
केसीका अनुसार कोरोनाका कारण छुटेको पढाइ पूरा गर्नका लागि आवश्यक कार्ययोजना तयार पार्न प्रधानाध्यापकहरुलाई भनिएको थियो। प्रधानाध्यापकहरुले यससम्बन्धी प्रस्ताव तयार गरेका थिए।
उनीहरुले तयार पारेको प्रस्ताव नगर शिक्षा समिति हुँदै कार्यपालिकामा पेस गरिएको थियो। नगर कार्यपालिकाले उक्त प्रस्ताव पारित गरेको हो।
कोरोना संक्रमणको जोखिम बढेको अवस्थाबाहेक अरू बेला पढाइ सञ्चालन हुने केसीले जानकारी दिए।