विकट पहाडी क्षेत्रको गाउँमा बसोबास भए पनि आइतमान घर्तीको परिवारलाई खेतीयोग्य जमिनको कमी थिएन।
साविकको शक्तिखोर गाविस-४(हाल कालिका नगरपालिका-८) मा पर्ने बुङखोलामा बस्ने उनको एक विघा ४ कट्ठा २.५ धुर नम्बरी जग्गा नै थियो। ऐलानी त कति हो कति, उनैलाई एकिन थिएन।
बाबुको पालादेखि नै धेरै सम्पत्ति भएका कारण गाउँलेहरू आइतमानलाई ‘बख्खे साहु’ भनेर बोलाउँथे।
गाउँका अधिकांश पुराना घर्तीहरूले आर्थिक सहयोगको लोभमा नागरिकतामा चेपाङ थर लेखाउँदा पनि उनलाई यसले लोभ्याएन। बाबुको सम्पत्ति नै उनलाई पुगिसरी थियो।
गाउँमै परिवारसँग रमाइरहेका बख्खे साहुले आफ्नो सम्पत्तिमा बैरीको आँखा लागेको भने मेसै पाएनन्। उनी बाबुले छाडेर गएको सम्पत्ति स्याहार्दै थिए, उता त्यही सम्पत्ति अर्कैले आफ्नो बनाइसकेछ।
यो कुरो थाहा पाउन उनलाई नौ वर्ष लाग्यो। ४६ वर्षेका बख्खे साहु अहिले आफ्नै जमिनमा सुकुम्बासी बनेर बसिरहेछन्।
बाबुको नामको जमिनको मुख्य हकदार जेठो छोराको हैसियतमा आफू रहेको भन्दै उनी अदालत धाउन थालेको एक वर्ष बढी भयो।
यसरी ठगिए आइतमान
बाबु जगसिंहको मृत्यु भएको तीस वर्ष बढी भयो। गाउँलेले बख्खे साहु भने पनि उनीसँग आफ्नो नामको सम्पत्ति भने थिएन। बाबुले छाडेर गएको सम्पत्तिसमेत आफ्नो नाममा पास गरेका थिएनन्। १७ वर्षअघि उनकी आमा गुर्धलीमाया घर्ती पनि बितिन्। आमाको अन्त्येष्टि गर्दा आइतमानको नागरिकता पनि पोलिएछ।
‘हाम्रो चलनमा आमा बित्दा उहाँका सामान पनि सँगै जलाउने चलन छ, उहाँले प्रयोग गरेका सबै सामान जलायौं। पछि पो थाहा भयो मेरो नागरिकता त जलाएको झोलामा पो परेछ,’ आइतमानले सुनाए।
उनी नयाँ नागरिकता बनाउन सदरमुकाम भरतपुर पुगे। जिल्ला प्रशासनले लालपुर्जा नभई हुँदैन भनेर फर्काइदियो।
अर्को दिन आइतमान घरबाट लालपुर्जा बोकेर झरे।
‘यो पटक भने बजारमा चिनेजानेको एक व्यक्ति भेट भए, सबै कुरा सुनेपछि लालपुर्जा दिनु म सबै काम गरेर ल्याइदिन्छु भनेपछि छाडेर घर फर्किएँ,’ उनले भने, ‘तर उसले न मलाई नागरिकता बनाएर दियो, न त लालपुर्जा।’
वर्षौंसम्म पनि कागजपत्र हात नपरेपछि आइतमान फेरि एक्लै प्रशासन कार्यालय पुगे। यसपटक भने उनीसँग लालपुर्जा मागिएन। २०७६ सालको वैशाखमा उनले सजिलैसँगै नागरिकता हात पारे।
अब उनको काम बाबुको नाममा रहेको जग्गालाई आफ्नो नाममा सार्ने थियो। जब लालपुर्जा बोकेर मालपोत कार्यालय पुगे आइतमान छाँगाबाट खसेजस्तो भए। बाबु जगसिंहको नामको जमिन त उनले चिन्दै नचिनेकी सानुमाया प्रजा हुँदै चन्द्रकुमार श्रेष्ठ, बाबुराम श्रेष्ठ र शोभा घिमिरेको नाममा पुगिसकेको रहेछ।
अत्तालिएर गाउँ फर्किएका उनलाई स्थानीय केही व्यक्तिले अदालतसम्म पुग्ने साहस जुटाइदिए। तर सर्त राखे- जग्गा फिर्ता आएपछि ८ कट्ठा जग्गा हामीलाई दिनुपर्छ। सहरलाई नचिनेका आइतमानसामू यो प्रस्ताव स्वीकार्नुको विकल्प नै थिएन। उनले चितवन जिल्ला अदालतमा सानुमाया प्रजाविरूद्ध राजीनामा लिखत दर्ता बदर गर्न माग गरेर अभियोगपत्र दर्ता गराएका छन्। यसको फैसला अझै भएको छैन।
को हुन् सानुमाया?
सानुमाया प्रजा ५६ वर्षकी भइन्। साविकको काउले गाविस-५ (हाल इच्छाकामना-२) भोटेगाउँमा रहेको घरमा उनी र श्रीमान नेत्रबहादुर प्रजा बस्छन्। उनी निरक्षर हुन्, गतिलोसँग नेपाली भाषा बोल्न पनि जान्दिनन्।
आइतमानको घरबाट सानुमायाको घरमा पुग्न दिनभर हिँड्नुपर्छ। तर केही वर्ष अघिसम्म आइतमानको घरनजिकै सेरबास भन्ने ठाउँमा सानुमायाका भतिज जितबहादुर र उनकी श्रीमती दिलु प्रजा बस्थे। उनीहरूकै दबाबमा सानुमायालाई प्रयोग गरेर यो कारोबार सम्पन्न गरिएको दाबी आइतमानको छ।
आइतमानले मुद्दा हालेपछि जिल्ला अदालतको आदेशमा प्रहरीले सानुमायालाई गत चैत ४ गते पक्राउ गरेर २४ दिन हिरासतमा राखेको थियो। लकडाउन लम्बिएपछि प्रहरीले उनलाई छाड्यो। आइतमानले नै दर्ता गरेको ठगी मुद्दामा गत कात्तिक १८ गते फेरि अदालतले ३५ दिन भित्रमा प्रहरीमार्फत् अदालतमा हाजिर हुन उनीविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ।
सानुमायालाई वर्षौंअघि भतिजा र बुहारीले फकाएर आफू प्रजाको नभई घर्तीकी छोरी रहेको भन्न र बाबुको नाम जगसिंह घर्ती भन्न लगाएको राम्रै याद छ।
‘मलाई यति भन्नुभयो भने धेरै पैसा आउँछ जसरी पनि भन्नु भनेर फकाउने-कराउने गरे, पछि समस्या आउला कि भन्दा समस्या आए हामी छौं भने,’ सानुमायाले भनिन्, ‘अहिले मलाई अलपत्र पारेर उनीहरू भागिरहेका छन्।’
तत्कालीन शक्तिखोर गाविसको रेकर्डमा जगसिंहको मृत्यु दर्तादेखि जग्गा बिक्री गर्नेसम्मको प्रक्रिया पूरा गर्न सानुमायालाई ६ महिना लागेको देखिन्छ।
२०६८ सालको वैशाख २५ गते सानुमायाले जगसिंह आफ्नो बाबु रहेको भन्दै मृत्युदर्ताका लागि वडा कार्यालयमा सूचना दर्ता गरेकी छन्। आफू जगसिंह घर्तीकी एकमात्र छोरी रहेको दाबी गर्दै उनले निवेदन दिएपछि भोलिपल्ट जगसिंह र उनको बीचमा बाबु छोरीको नाता प्रमाणित गर्न गाविसले सिफारिस गरेको छ।
सोही सालको असार १२ गते जगसिंहको नामको सम्पूर्ण जमिन सानुमायाको नाममा आएको देखिन्छ। उक्त जमिन २०६८ सालको असोज ५ गते सानुमायाले रत्ननगर-१२ पिठुवाका चन्द्रकुमार श्रेष्ठ, बाबुराम श्रेष्ठ र शोभा घिमिरेलाई बिक्री गरेको देखिन्छ।
‘मलाई यो विषयमा केही थाहा छैन। म केही नजानेको गरीब मान्छेलाई आफ्नै मान्छेले पैसा आउँछ यति भन्नु भनेपछि भनिदिएँ, जता–जता ल्याप्चे लगाऊ भने त्यहीं लगाइदिएँ। तर मलाई तिनीहरूले महिनौंसम्म त्यत्रो दुःख दिएर पनि ५ हजार रुपैयाँमात्र दिएर भागे,’ सानुमायाले भनिन्, ‘पुलिसले पहिले पनि लगेर थुन्यो, फेरि खोजिरहेको छ भन्छन्।’
गाउँसम्मै भूमाफियाको जालो
कालिका नगरपालिकाकै पदमपुरका सुकराम महतोलाई ५० लाख रुपैयाँको चेक देखाएर १० हजार रुपैयाँमा घडेरी जग्गा पास गरिएको समाचार सेतोपाटीमै प्रकाशित भएको थियो। सोही गाविसको पहाडी क्षेत्रमासमेत भूमाफियाको जालो फैलिएको अहिलेको घटनाले पुष्टि गर्छ।
आइतमानको जग्गा सानुमाया हुँदै तेश्रो व्यक्तिलाई बिक्री गर्न सानुमायाका भतिजा र बुहारीमात्रै होइन तत्कालीन गाविस सचिवदेखि स्थानीय नेताहरूकोसमेत भूमिका देखिन्छ।
२०६८ सालमा सानुमायाले मृत्यु दर्तादेखि नाता प्रमाणितको सिफारिस बनाउँदा तत्कालिन शक्तिखोर गाविसमा सचिव अर्जुन पंगेनी थिए। त्यतिखेर सचिवमै सर्वाधिकार हुन्थ्यो। उनी अहिले रत्ननगर नगरपालिकाका योजना शाखामा कार्यरत छन्।
यहाँ जगसिंहको मृत्युदर्ता सानुमायाले मात्र होइन छोरा आइतमानले पनि गरेका छन्। यी सबै प्रक्रियामा भतिज र बुहारीमात्रै नभई स्थानीय नेताहरूसमेत साक्षी बसेका छन्।
आइतमानले सबै कुराको चाल पाएपछि उनकै आग्रहमा गत भदौमा हालको कालिका नगरपालिका वडा नम्बर ९ को कार्यालय (साविकको शक्तिखोर गाविस रहेको भवन)मा वडाध्यक्ष हेमबहादुर क्षेत्रीले सरोकारवाला सबैलाई भेला गरेर समस्या समाधानको प्रयास गरेका थिए, तर सकेनन्।
जग्गाका मुख्य हकदार आइतमानदेखि अहिलेका जग्गा धनीसम्म सहभागी भएको भेलाले सानुमायाका भतिज, बुहारीले भोगचलन गर्दै आएको सेरबासको ऐलानी जमिन अहिलेका जग्गा धनीलाई उपलब्ध गराएर पछि त्यसलाई नम्बरी कायम गर्ने र उनीहरूको नाममा रहेको नम्बरी जमिन आइतमानलाई नै दिने सहमति गरेको थियो।
सानुमायालाई उपयोग गरेर जग्गा कारोबार गरेको आरोप लागेका भतिज जितबहादुर र बुहारी दिलुदेखि उनीहरूले जग्गा बिक्री गरेका व्यक्तिहरू समेतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
‘तर पछि ती व्यक्तिहरूले आफूले खरिद गरेकै जमिन चाहिने भन्दै छाड्न मानेनन्,’ वडाध्यक्ष क्षेत्रीले भने।
धान खाने मुसो, चोट पाउने भ्यागुतो
जितबहादुर मानबहादुर चेपाङका छोरा हुन्। मानबहादुरका भाइ नेत्रबहादुरकी श्रीमती हुन् सानुमाया।
जितबहादुरको परिवार केही वर्षदेखि शक्तिखोर बजार नजिकै बस्दै आएको छ। जितबहादुर र उनकी श्रीमती दिलु हिजोआज घरमा भेटिँदैनन्।
‘अदालतमा जग्गासम्बन्धी मुद्दा चलिरहेको छ भन्ने सुनेको छु, दिदी भिनाजुलाई पनि मुछेका छन् रे,’ घरमा भेटिएकी दिलुकी बहिनी पार्वतीले भनिन्, ‘यसबारेमा मलाई अरू कुरा थाहा छैन।’
पार्वतीकाअनुसार केही वर्ष अघिसम्म उनका दिदी, भिनाजु आइतमानको घरनजिकै पर्ने ठाउँमा बाख्रा पालन व्यवसाय गर्थे। पछि उनीहरू शक्तिखोर झरेका थिए।
किर्ते कागज खडागरी छिमेकीको जग्गा बिक्री गरेर पनि वर्षौंसम्म ढुक्कले बसेको यो परिवारलाई जग्गाका मुख्य हकदारले सबै कुरा थाहा पाएर मुद्दा दर्ता गरेपछि घरमा बस्न डर भएको छ।
‘गाउँमा नयाँ मान्छे आयो कि बुढाबुढी नै भागिहाल्छन्,’ स्थानीयवासी भन्छन्।
‘बुबा जगसिंहको नाममा रहेको जग्गाको लालपुर्जा भेटाएपछि जितबहादुर र दिलुले सानुमायालाई प्रयोग गरेको देखिन्छ,’ आइतमानका सँधियार कर्णबहादुर चेपाङ भन्छन्, ‘सोही स्थानमा बाख्रापालन गर्ने क्रममा आइतमान सोझो रहेको मेसो पाएपछि उनीहरूले जग्गा आफ्नो बनाउने काम थाले।’
सानुमायाले आफ्नो बाबुको नाम जग्बर प्रजा रहेको र उनको आफू सानो छँदैमा मृत्यु भएको बताइन्। उनका तीन दिदी बहिनी र एक भाइ थिए। अहिले उनीहरू के कस्तो अवस्थामा छन् उनलाई थाहा छैन।
‘सेरबास गाउँ त म पुगेको पनि छैन, जगसिंह, आइतमान कसैलाई चिन्दिनँ,’ उनी भन्छिन्, ‘मैले चिनेको भतिज र बुहारीमात्रै हो, उनीहरूले जबरजस्ती गरेपछि डराएर जता भन्यो त्यतै ल्याप्चे लगाइदिएको थिएँ।’
कानुनी रूपमा हेर्दा सानुमायाले नै किर्ते कागजपत्र बनाएर आइतमानको जमिन आफ्नो बनाएको देखिए पनि उक्त जग्गाको कारोबारमा देखिएको संलग्नतालाई हेर्दा नेपाली उखान ‘धानखाने मुसो, चोट पाउने भ्यागुतो’ चरितार्थ हुन्छ।