मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई मंगलबार बिहान ६ जनाको समूहमा आएका विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए।
वडाध्यक्ष नरबहादुर राईका अनुसार उनलाई बिहान ६ बजे घरबाट लगिएको थियो। राईले यो खबर ८ बजेमात्रै थाहा पाएका थिए।
‘मलाई पनि एक जना भाइले अपहरण भएछ भनी खबर गर्नुभयो,’ राईले भने, ‘के हो त भनेर बुझ्दैगर्दा त गोली हानेर हत्या गरिसक्यो भन्ने खबर आयो।’
राईका अनुसार वडाबाट घटनास्थल अढाइ घन्टा टाढा बर्खे जंगलमा हो। शिक्षक श्रेष्ठको घर सोही जंगल नजिकै हो।
‘घरबाट एक किलोमिटर पर पर्ने बर्खे सरकारी वनमा लगेर हत्या गरेको कुरा छ,’ राईले भने, ‘हत्या भएपछि हामी पनि त्रसित छौं, प्रहरी आएपछि जान्छौं।’
हत्या गरिएका शिक्षक श्रेष्ठ २०४५ सालदेखि सो स्कुलमा कार्यरत् थिए।
वडासचिव जंगबहादुर राईका अनुसार ५४ वर्षीय श्रेष्ठ सेवाबाट रिटायर्ड हुन लागेका थिए।
उनकी श्रीमती, एक छोरा र छोरी छन्। राईका अनुसार श्रेष्ठलाई विप्लव समूहले पहिलेदेखि नै निशाना बनाइरहेको थियो। राईले भने, ‘उहाँलाई विप्लव समूहले सुराकीको आरोप लगाएको कुरा बुझिन्छ।’
वडाध्यक्ष राईका अनुसार श्रेष्ठ शिक्षणसँगै कृषि पेशामा आवद्ध थिए।
मिक्लाजुङ क्षेत्र विप्लव माओवादीको गतिविधि बढी हुने ठाउँ हो। विकट पहाडी क्षेत्र भएका कारण यहाँ सुरक्षाकर्मीको आवातजावत पनि पातलो हुने गरेका कारण विप्लव समूहलाई गतिविधि गर्न सजिलो छ।
‘विप्लव समूहको आउने-जाने भइरहेको गर्छ भन्छन्। तर, हामीले देखेका छैनौं। हामीसँग चन्दा मागेको छैन,’ वडाध्यक्ष राईले भने।
घटनास्थलमा मोरङका विभिन्न प्रहरी कार्यालयबाट टोली परिचालन भएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
सबैभन्दा अगाडि हिँडेको इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली पनि घटनास्थल पुगिसकेको छैन।
‘एकदमै टाढा र विकट क्षेत्र भएका कारण टोलीहरू पुग्न समय लागेकाले हामीले पर्याप्त सूचना संकलन गर्न सकेका छैनौं,’ खड्काले भने।
शिक्षक श्रेष्ठलाई विप्लव समूहले चन्दा मागेको हो/हैन यकिन भइसकेको छैन।
स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बिहान ८:४५ तिर बर्खे जंगलमा गोली चलेको आवाज आएको बताएको छ।
‘गाउँको एकदमै मिलनसार मान्छे हुनुहुन्थ्यो, खै किन यसरी मारियो हामी अन्योलमा छौं,’ आफन्त मदन श्रेष्ठले भने।
यो पनि
विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या