सगरमाथा नेपाल र नेपालीलाई विश्वमा चिनाउने प्रतीक हो। यसअघि ८ हजार ८ सय ४८ मिटर उचाइ मानिने यो चुचुरो पृथ्वीको सबैभन्दा अग्लो ठाउँ हो।
देशको पहिचान भए पनि अहिलेसम्म नेपालले सगरमाथाको उचाइ नापेको थिएन।
सन् १९५४ मा 'सर्भे अफ इन्डिया' ले सगरमाथाको उचाइ नापेको थियो। त्यसयता विभिन्न संस्थाहरूले विभिन्न समयमा सगरमाथाको उचाइ नापे पनि 'सर्भे अफ इन्डिया' ले मापन गरेको उचाइलाई नै अहिलेसम्म आधिकारिक मानिन्थ्यो।
अब भने नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिले नापेर सगरमाथाको उचाइ सार्वजनिक गरेको छ।
मंगलबार आयोजित विशेष कार्यक्रममा नेपाल र उत्तरी छिमेकी चीनका अधिकारीहरूले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन्। अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको छ।
नापी विभागका प्रवक्ता दामोदर ढकालका अनुसार नेपालले लगभग दुई वर्षको अवधि खर्चेर आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो। जसका लागि झन्डै १३ करोड रुपैयाँ खर्च भएको ढकालले जानकारी दिए।
२०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चर्चा सुरू भएपछि नेपालले आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नाप्ने घोषणा गरेको थियो।
कसरी नापियो सगरमाथाको उचाइ?
ढकालका अनुसार समुद्री सतहबाट सगरमाथा शिखरसम्मको उचाइ नाप्न नेपालले मिश्रित विधि अपनाएको छ। जसमा परम्परागत र आधुनिक विधि छन्। दुबै विधिबाट संकलित तथ्यांक प्रशोधनपछि सगरमाथाको वास्तविक उचाइ निस्किएको हो।
परम्परागत विधिमा समुद्री सतहबाट स्केलले नाप्दै जमिनकै बाटो हुँदै शिखरसम्म पुगिन्छ। स्केलले एकचोटिमा ५० देखि ७० मिटरमात्र नाप्न मिल्छ। यसरी दिनको डेढ देखि दुई किलोमिटर मात्र नाप्न सकिने ढकाल बताउँछन्।
कुनै पनि ठाउँको उचाइ निकाल्दा समुद्री सतहदेखिको नाप निकालिन्छ। नेपालको समुद्री पहुँच नभएकाले सिरहाको माडरलाई प्रारम्भिक विन्दु मानिन्छ। समुद्री सतहबाट माडरसम्मको उचाइ भने भारत सरकारले नापिदिएको हो।
माडरसम्मको उक्त उचाइ निकालेर त्यहाँ खम्बामा अंकित गरिएको ढकालले जनाए।
माडरदेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको पातले डाँडासम्म १ सय ७० किलोमिटर दूरीको उचाइ नाप्ने काम सम्पन्न भइसकेको प्रवक्ता ढकालले जानकारी दिए।
'यही तरिकाले नाप्दै सगरमाथा चुचुरोसम्मै पुग्नुपर्ने हो, तर भौगोलिक जटिलताले सम्भव भएन,' उनले भने, 'त्यही भएर सगरमाथा चुचुरो देखिने कम उचाइका डाँडाहरूसम्म यो विधि प्रयोग गर्यौं।'
तीमध्ये पातले डाँडा, छोलेयामु र पिके सब-हिलस्टेसन सोलुखुम्बुमा पर्छन्। यसबाहेक थप नौ डाँडामा उचाइ नाप्ने 'थियोडोलाइट' यन्त्र जडान गरियो। ती डाँडाबाट सगरमाथा चुचुरोको कोण र दूरी निकालियो।
यति गरेपछि पराम्परागत विधि सकिन्छ।
आधुनिकि विधि भनेको 'ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम' अर्थात् 'जिएनएसएस’ हो। यसलाई चलनचल्तीमा 'जिपिएस सिस्टम' पनि भनिन्छ।
नापी विभागले यो सर्भेका लागि २८५ वटा विन्दु पहिचान गरेको थियो। सगरमाथा शिखर तिनै विन्दुमध्ये एक हो। सबै विन्दुमा रिसिभर यन्त्र राखेपछि स्याटलाइट तथ्यांकका आधारमा उक्त विन्दुको अक्षांश, देशान्तर र उचाइ प्राप्त हुन्छ।
उचाइ नाप्ने प्रकृया यतिमै सकिँदैन। उचाइलाई गुरूत्वाकर्षणले पनि फरक पार्छ। त्यही भएर सगरमाथाको उचाइ नाप्दा गुरूत्वाकर्षण सर्भे पनि गर्नुपर्ने हुन्छ।
'जिएनएसएस' सर्भे गरेको २८५ वटै विन्दुमा गुरुत्वाकर्षण सर्भे गर्नुपर्छ।
सगरमाथा उचाइ नाप्न संकलन गर्नुपर्ने अर्को तथ्यांक भनेको जलवायु हो।
परम्परागत र आधुनिक विधि प्रयोग गरिएका सबै विन्दुहरूबाट त्यहाँको जलवायु तथ्यांक संकलन गर्नुपर्छ। यसले त्यहाँको वातावरण, तापक्रम र हावाको चाप थाहा हुन्छ।
यी सबै काम सकिएपछि हेलिकप्टरमा क्यामरा जडान गरेर सगरमाथा क्षेत्रको 'लाइडार' सर्भे गरिएको थियो। यसअन्तर्गत क्यामराले फाल्ने प्रकाशका आधारमा उचाइको तथ्यांक निस्कन्छ।
यसरी फरक-फरक विधिबाट संकलित तथ्यांकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशोधन गरेपछि बल्ल सगरमाथाको वास्तविक उचाइ निस्किएको ढकाल बताउँछन्।
'एउटै तरिकाबाट निकालेको तथ्यांकले वास्तविक उचाइ थाहा हुन्न। फरक-फरक विधिबाट तथ्यांक निकालेर सबैलाई एकैठाउँ प्रशोधन गर्नुपर्छ,' प्रवक्ता ढकालले भने, ‘त्यसमध्ये जिएनएसएस सर्भे र सम्बन्धित ठाउँको गुरुत्वाकर्षण सर्भे पनि गर्नुपर्ने भएकाले सगरमाथाको उचाइ निकाल्न चुचुरोमा नपुगी हुन्न।'