कथित ‘उच्च जात’ भनिने अधिकारीको तेस्रो विर्ता हो, कास्कीको अस्ताम गाउँ। माछापुच्छ्रे गाउँपालिका-६ अस्तामलाई अधिकारीहरूको पूर्वको उद्गमस्थल मान्छन्।
जतिबेला बाइसे चौबिसे राज्य उदय हुँदै थियो। स्याङ्जा-नुवाकोटका राजा मिञ्चा खानका दुई भाइ छोरामध्ये कान्छो विचित्र खान कास्की आए। कास्कीकोटमा बसेर राज्य स्थापना गरे। जेठो भक्ति खान भने पैत्रिक सम्पत्तिको हकदार बनेर स्याङ्जा–नुवाकोटको राज्य चलाए।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका अध्यक्ष नरेन्द्रकुमार अधिकारीका अनुसार कास्की राज्य भर्खर स्थापना भएको थियो, जुम्लाबाट जागिर माग्न हरिदत्त कास्कीकोट आए।
कास्की आएर हरिदत्तले नाम फेरेर हरिदास बनाए। राजा विचित्रले हरिदासलाई गुरुजी पद दिए।
त्यतिबेला गुरुजी राज्यको उच्च पद थियो। राजपरिवारले हरिदासलाई परिवार पनि ल्याउन भने। हरिदासले ल्याए। हरिदासका परिवारलाई बस्न खानका लागि सम्पत्ति चाहियो। राजाले हरिदासका माइला र साहिला छोरालाई बिहान घाम झुल्केदेखि अस्ताउँदासम्म हिँड्न लगाए।
हरिदासका माइला र साहिला छोरा कास्कीकोटबाट हिँड्न थाले। पोखरा माथिको अस्ताम गाउँमा पुग्दा घाम अस्तायो। उनीहरू दुबै जनाले त्यही नुहाए र फर्किए।
उनीहरू त्यहाँ पुग्दा घाम अस्ताएकै कारण त्यो गाउँको नाम नै अस्ताम हुन पुगेको स्थानीय विश्वास गर्छन्।
राजाले उनीहरूका साथमा सिपाही पनि पठाएका थिए।
भोलिपल्ट अस्ताम गाउँमा पुग्दा घाम अस्ताएको विवरण सुनाएपछि राजा विचित्रले हरिदासलाई त्यो ठाउँ विर्ता दिए। त्यही विर्तामा हरिदासका माइला र साहिला छोरा बस्न थाले। हरिदासका जेठो छोरा काभ्रे गएर बसे भने कान्छा पर्वत गएको प्रतिष्ठानका अध्यक्ष नरेन्द्रले बताए।
‘अधिकारीको उद्गम थलो मध्य अस्ताम पूर्वको एउटा थलो हो’, उनले भने, ‘अधिकारीले विर्ता पाएको यो तेस्रो ठाउँ हो।’
उनीहरूले देशभर खोजेर प्रकाशन गरेको कश्यप गोत्रीय अधिकारीको बृहत वंशावलीमा समेत उक्त कुरा उल्लेख गरेको नरेन्द्रले बताए।
राजाले विर्ता दिएर बसेको यो बस्तीमा अहिले कृषि-पर्यटनको माध्यमबाट जातीय छुवाछूत र विभेदका घटना कम हुँदै गएका छन्।
यसैको एउटा उदाहरण हो, अस्तामका मोहन प्रसाद अधिकारीको परिवार।
उनका घरमा गाउँकै युवा धनसिंह परियार र दिपिका परियारले काम गर्छन्, पूरै पारिवारिक वातावरणमा।
धनसिंह र दिपिकाले मोहन र उनकी श्रीमती सीता तिवारीलाई बुवा-ममी भनेर बोलाउँछन्, मोहन र सीताले छोराछोरी भन्छन्।
दुइटा भैंसी र एउटा गाई पालेका मोहनको गोठबाट धनसिंह गाई भैंसी दुहेर दुध ल्याउँछन्।
दिपिकाले घरभित्र अँगेनामा पकाउँछिन्। सँगै मिलेर खान्छन्। मोहनले गाउँमै कृषि-पर्यटन थालेकाले कर्मचारीका रूपमा उनीहरूलाई राखेका हुन्।
मोहनको घरमा मात्र होइन, अहिले गाउँमा पनि छोइछिटो कम हुँदै गएको धनसिंहको अनुभव छ।
‘पहिले यो छोइने, त्यो छोइने भन्थे, पानी लिन पँधेर जाँदा पनि उता सर बाबु, यहाँ छोइन्छ भन्थे’, धनसिंहले भने, ‘यहाँ त्यस्तो केही व्यवहार छैन, एकदम खुसी लाग्छ।’
अहिले पनि गाउँका केही पुराना बुढापाकाले भने छोइछिटो गर्ने गरेको धनसिंहको अनुभव छ।
मोहनका घरमा आउने पाहुनालाई पनि छोरा (धनसिंह)ले दुहेको दूध भनेर दिन्छन्, केहीले नखाने भन्छन्, त केहीले केही हुँदैन भनेर खान्छन्।
मोहनकै घरमा काम गर्ने दिपिका पानी भर्नेदेखि दूध, तरकारी लगायत पकाउने काम गर्छिन्। उनलाई भित्रबाहिर गर्न कुनै रोकतोक छैन। दिपिकाको श्रीमान रोजगारीका लागि विदेश गएका छन्। दिपिकाले मोहनको घरमा कृषि पर्यटनमा सघाउने काम पाएकी छन्।
‘खाना म आफैं पकाउँछु, यहाँ कसैले केही भन्नुहुँदैन’, उनले भनिन्, ‘यहाँ त पाहुना आउँदा पनि चिया मैले नै बनाएर दिने हो।’
कथित दलित समुदायका युवालाई घरभित्रै छोइछिटो गर्न दिएकोमा कतिपय ब्राह्मणलाई मन परेको छैन।
अधिकारीको उद्गमस्थलमा दलितलाई भित्रबाहिर गर्न दिँदा कतिपय गाउँलेले आफूहरूलाई हेयभावले हेर्ने मोहनका श्रीमती सीता तिवारीले बताइन्।
‘कोही कोही त हामीमाथि नै छुवाछूत गर्न खोज्छन्, यहाँ आएर पानी पनि खाँदैनन्’, स्थानीय शिक्षिका समेत रहेकी सीताले सेतोपाटीसँग भनिन्, ‘चिया दिँदा धनसिंहले दुहेको दूध भनेर कतिले त छाडेर पनि हिँडे, समाज परिवर्तन गर्न त गाह्रो रै’छ।’
तै पनि उनीहरूले सीता-मोहन दम्पतीले समानताको व्यवहार भने जारी राखेका छन्।
मोहनलाई पनि कतिपय गाउँलेले यस्तो त नगरेको भए हुन्थ्यो भनेर भन्छन्। कथित दलित समुदायका मानिसलाई समानताको व्यवहार गर्दा ‘हेप्ने’ उनीहरूको तर्क छ।
उनीहरूलाई मोहन जवाफमा प्रश्न गर्छन्, ‘हेप्नुको कारण के छ ?’ हेपिने भनेको आफ्नै कारणले हुने उनले बताए।
‘सफा नै चोखो मेरो सिद्धान्त’, मोहनले भने, ‘फोहोर भए उपाध्याय बाहुनले बनाएको चिया पनि खान्न।’
उनको अनुभवमा केही गाउँले पोखरा झरेर एउटै होटल वा रेष्टुरेण्टमा दलित साथीसँगै बसेर खान्छन्। तर गाउँमा आएर छुवाछूतको व्यवहार गर्छन्।
‘बाहुनले दुहे पनि दलितले दुहे पनि गाई दुहुँदा दूध नै आउँछ’, मोहनले भने, ‘घरमा आउने पाहुनालाई दूध चिया नै खुवाउँछु, छुवाछूत मन पराउनेहरू मेरो घर आउँदैनन्।’
अस्ताम गाउँमा झण्डै ८० घर परिवार छन्, जसमा १० घर दलितको छ।
कृषि पर्यटनले फड्को
धनसिंह परियार र दिपिका परियार घरेलु कामदारका रूपमा मोहन-सीताको घरमा काम गर्न गएका होइनन्। उनीहरू बिहान काममा जान्छन्, र साँझ आफ्नै घर फर्कन्छन्।
मोहन-सीता दम्पतीले गाउँमा व्यवसायिक रूपमा कृषि पर्यटन थालेका छन्। त्यही काममा सघाउन उनीहरू कामदारका रूपमा मोहन-सीताको घरमा जान्छन्।
मोहनले घरवरिपरिकै बारीमा ४० वटा टनेलमा तरकारी बाली रोपेका छन्। उनको बारीमा प्रशस्त अकबरे खुर्सानी फलेका छन् भने कुरिलो, लसुन, प्याज, सागलगायत सब्जी त हुने नै भए।
टनेलमा बेर्ना उत्पादन गरेर बेच्ने योजना समेत उनले बनाएका छन्।
गाउँमा उत्पादन भएका खुर्सानीदेखि घ्युसम्म पर्यटकले किनेर लैजान्छन्, मोहनलाई बजार खोज्दै हिँड्न परेको छैन।
पर्यटनका लागि सम्भावनाले भरिएको गाउँ हो अस्ताम। पोखराको हेम्जाबाट उत्तरतर्फ देखिने डाँडाको टुप्पामा बसेको यो गाउँबाट उत्तरपूर्वमा देखिन्छ अन्नपूर्ण हिमश्रृङ्खला। अगाडि नै देखिने माछापुच्छ्रेले झनै मनमोहक देखिन्छ।
पोखराबाट नजिकै रहेको अस्ताममा ठूला होटल, रेष्टुरेण्ट त छैनन्, मोहनले जस्तै टेन्ट टाँगेर पर्यटक राख्ने ३ वटा होटल छन्।
यी ३ वटा क्याम्प स्टेमा गरेर ८० जना पर्यटक राख्न सक्ने क्षमता छ। जसमा सबभन्दा धेरै मोहनले मात्र २० वटा टेन्ट राखेका छन्।
अगाडि घर छ पछाडि बारीमा टेन्ट। बारीबाटै देखिन्छ भीमकाय हिमाल। नेपाली पर्यटक क्याम्प फायर गरेर टेन्टमा सुत्छन्, बिहान सबेरै उठेर हिमाल हेर्छन्। लकडाउनका कारण विदेशी पर्यटक नआए पनि नेपालीले नै अहिले व्यवसाय धानेको मोहन बताउँछन्।
पर्यटकका लागि उनीहरूले स्थानीय उत्पादन नै खुवाँछन्। आफ्नै गाई भैंसीबाट दुहेको दूध, खिर, तरकारीदेखि प्राय: सबैजसो खाना स्थानीय उत्पादन हुन्छ। धेरै जसो पर्यटकले स्थानीय खाना मन पराएर किनेर समेत लैजाने गरेको मोहन बताउँछन्।
‘यहाँ उब्जेको तरकारीबाली बेच्न पोखरा लैजानुपरेको छैन’, उनी भन्छन्, ‘यहीँ आउनेले पोखराको भाउमा किनिदिन्छन्।’
त्यसो त अस्ताम गाउँ पुरानै पर्यटकीय गन्तव्य थियो। पोखरा-बाग्लुङ सडक अर्थात् भूपी शेरचन राजमार्ग बन्नुभन्दा अगावैको कुरा हो। त्यतिबेलै विश्वचर्चित बनेको अन्नपूर्ण आधार शिविर पदयात्रा यही अस्ताम गाउँ हुँदै जानुपर्थ्यो।
अस्तामबाट धम्पुस, लान्द्रुक, घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविर पदयात्रा जानुपर्थ्यो, राजमार्ग बनेपछि मानिसहरू सिधै घान्द्रुक वा लान्द्रुक जान सक्ने भए।
त्यसपछि ओझेलमा परेको अस्ताम गाउँ कृषि पर्यटनको माध्यमबाट फेरि उदाउँदैछ।
अस्तामबाट देखिने दृश्य र स्थानीय उत्पादनको स्वादले अस्ताम गाउँ नै कृषि पर्यटनमा होमिँदैछ। पोखरा झरेर पर्यटन व्यवसायमा लागेका व्यवसायी समेत अहिले गाउँ फर्कंदैछन्।
यसकै उदाहरण हुन्, व्यवसायी झविलाल अधिकारी। पोखरामा होटल ड्रिम, डिप्लोम्याट अपार्टमेन्ट, ट्राभल एण्ड ट्रेकिङ एजेन्सी लगायत व्यवसाय चलाएका झविराम अहिले गाउँमै डेष्टिनेसन अस्ताम एग्रो टुरिजम चलाउँदैछन्।
उनले गाउँमा लोकल कुखुरापालन, बाख्रापालन, तरकारी खेतीका साथै पर्यटक राख्न क्याम्पिङ पनि चलाउँदैछन्।
‘कोरोना भाइरसले अब पोखरामा व्यवसाय फस्टाउन २, ३ वर्ष लाग्ला’, झविराम भन्छन्, ‘गाउँमा त नेपाली पर्यटक पनि आएर बस्दा रहेछन्, अब यतै व्यवसाय गर्छु।’