कैलालीका केही स्थानीय तहले प्रशस्तै मान्छेहरूको आवतजावत हुने ठाउँमा पुल बनाउनुको साटो व्यक्तिलाई खोला-नदी ठेक्कामा दिएर जनतासँग पैसा असुल्ने गरेका छन्।
खोला-नदीमा काठेपुल र डुंगा सञ्चालन गर्न स्थानीय तह र ठेकेदारबीच सम्झौता गरिएको छ। काठेपुल र डुंगा सञ्चालन गर्ने ठेकेदारले जनतासँग पैसा उठाउने गरेका छन्।
वर्षेनी ठेकेदारसँग सम्झौता खोला-नदीमा स्थानीय तहले सम्झौता गर्ने गरेका छन्। आवतजावत गरेवापत् स्थानीयबाट ठेकेदारले पैसा उठाउँछन्।
ती स्थानीय तहले दीर्घकालका लागि पुल बनाउन पहल गर्नुको साटो वर्षैपिच्छे ठेकेदारसँग काठेपुल बनाउन र डुंगा चलाउन लाखौं रुपैयाँको सम्झौता गर्ने गरेको छ।
कैलालीको भजनी नगरपालिकाका नदीमा केही महत्वपूर्ण ठाउँमा सरकारले पुल बनाएको छैन। नगरपालिकाले ती नदी तथा घाटमा वर्षातमा डुंगा र हिउँदमा काठेपुल बनाउन केही व्यक्तिलाई ठेक्का दिने गरेको छ।
ठेकेदारले ती पुल, डुंगा र नदी तरेवापत नागरिकसँग पैसा लिन्छन्। त्यसबाट वर्षेनी लाखौं राजश्व नगरपालिकाले उठाउँछ।
स्थानीय सरकार गठन भएको तीन वर्षमा पुल बनेन, तर चारै वर्ष नदी र घाटमा ठेक्का चाहिँ भइरहेको त्यहाँका स्थानीयले बताए।
भजनी नगरपालिका-९ का टिकाराम चौधरीले कन्द्रा नदी दक्षिणका नागरिकलाई नगरपालिकासम्म पुग्नसमेत पुल नभएर समस्या हुने गरेको बताए। ‘नगरपालिका अनि बजार नदीपारि पर्छ। वर्षामा पैसा तिरेरै डुंगा तर्नुपर्छ, हिउँदमा पनि पैसा तिरेर ठेकेदारले बनाएका काठेपुल तर्नुपर्छ,’ उनले भने। वर्षामा बाढी आएका बेला त दुर्घटना पनि हुने गरेको उनले बताए।
भजनी नगरपालिकाले २०७५ साउनदेखि कात्तिक मसान्तसम्मका लागि दुई वटा ठेक्का सम्झौता गरेको थियो।
वडा नम्बर ३ र ५ जोड्ने कान्द्रा नदीको कर्मदेव-पडरिया घाटमा नगरपालिकाले वर्षको तीन महिनामा ३३ हजारमा ठेक्का सम्झौता गरेको थियो।
यस वर्ष कान्द्रा नदीकै वडा नम्वर ९ का बिजुली-पाँचमुडिया घाटमा ८५ हजारमा ठेकेदारसँग सम्झौता गरिएको छ।
सम्झौता गरिएका ठेकदारले जबसम्म पानीको बहाव बढी हुन्छ डुंगा चलाउने र पानी कम भएपछि काठे पुल बनाएर सञ्चालन गर्ने गरेको भजनी नगरपालिकाका सूचना अधिकारी चन्द्रदेव भट्टले बताए।
गत वर्ष भजनीको मोहना नदीका चार घाटमा यस्तो ठेक्का सम्झौता गरिएको थियो।
मोहना नदीको गुलरिया घाटमा गत वर्ष ८ लाखमा सम्झौता गरिएको थियो। यस्तै, दैलेखीटोलको ६४ हजार, हलौना घाटमा ३ लाख ६० हजार, र कौवाखेरामा ३ लाख ५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
भारतसँग जोडिएको मोहना नदीका घाटमा महंगोमा ठेक्का हुने गरेको छ। यो वर्ष भने घाटमा कोरोनाका कारण नेपाल-भारत आवतजावत कम भएपछि ठेक्का नभएको नगरपालिकाले जनाएको छ।
नगरपलिकासँग भएको बजेटले यस्ता ठाउँमा पुल निर्माण गर्न नसकिने अवस्था रहेको भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीको दाबी छ। उनले ठूला पुल बनाउन माथिल्लो सरकारसँग समन्वय भइरहेको बताए। कैलालीकै कैलारी गाउँपालिकाका केही वडाका बासिन्दा पनि पुल नभएर समस्यामा छन्।
स्थानीय चुल्लु राजीले पुल नभएर स्थानीयलाई अप्ठ्यारो हुने गरेको बताए। ‘नदीमा पुल नभएपछि अप्ठेरो त परिहाल्छ नि, के गर्ने सरकारले पुल बनाउँदैन बरु ठेक्का सम्झौता गर्छ,’ उनले भने।
विद्यार्थी सुरेश चौधरीले नदी तरेर सधैं स्कुल जाँदा वर्षातमा डुंगा पल्टिने डर हुने गरेको बताए। यस वर्ष पनि हिउँदका लागि भजनीका विभिन्न नदीमा आधा दर्जन बढी यस्ता पुल बनाइएका छन्। तिनमा आवतजावत गर्नेले पैसा तिर्नुपर्छ।
लालभोजीका एक ठेकेदारले दैनिक सयभन्दा बढी मानिसहरूलाई आफूले ठेक्का लिएको काठेपुलबाट तार्ने गरेको बताए।
त्यसबाट दैनिक तीन हजार बढी रकम उठ्ने गरेको उनले बताए। उनले पाँच जना मिलेर घाटको ठेक्का लिएको बताए।
‘यस वर्ष लकडाउन भएर कमै मान्छे हिँडे, गाउँघरका मान्छेलाई पैसा पर्दैन, त्यसैले राम्रो आम्दानी छैन,’ उनले भने।
नगरपालिकाका कर्मचारीलाई त्यो पुल तरेको पैसा लाग्दैन। ती ठेकेदारले पुल तरेवापत मोटरसाइकलको ३०, साइकल र पैदलयात्रीसँग १० रुपैयाँ लिने गरेको बताए। हुलाकी सडकमा पर्ने नदी तरेर जाने चारपाङग्रे गाडीले पनि ५० रुपैयाँ तिर्नुपर्ने उनले बताए।
हुलाकी सडक भएर जाने कन्द्रा नदीमा पुल बने आयआर्जनको बाटो समेत खुल्ने स्थानीयको भनाइ छ। विद्यालय जान, स्वास्थ्य चौकी पुग्न पनि सहज स्थानीय बताउँछन्।
स्थानीय सरकार आएपछि पुल बनाउन पहल हुने आशमा बसेकाहरू अहिले शुल्क तिरेर नदी तर्नुपरेको बताउँछन्।
पुल बनाउनका लागि पटक-पटक सरकारी पक्षलाई गुहार्दा बेवास्ता गरिएको मोहनपुरका स्थानीय सुनील चौधरीले बताए।
उनले हिउँदमा काठेपुलमा अलि सहज भए पनि वर्खामा डुंगामा नदी वारपार गर्दा अत्यावश्यक कामका लागि स्थानीयले हैरानी खेप्नु परेको बताए।
‘स्थानीयले मिलेर बनाएका पुलमा पैसा लाग्दैन, ठेकेदारले बनाएकोमा लाग्छ,’ उनले भने।
पुल नभएर गर्भवती, सिकिस्त बिरामी र विद्यार्थी बढी समस्यामा पर्ने गरेको उनले बताए। कैलारीकै वडा नम्बर ७ हौसलपुरमा त पुल नै नुहँदा त्यहाँका विद्यार्थी भारतीय स्कुलमा पढ्छन्। अन्य औषधी-उपचार, खाद्यान्न र नुन तेलका लागि उनीहरू भारतीय बजार नै जान्छन्।
चालु आर्थिक वर्षमा कैलारी गाउँपालिकाकाले वडा नम्बर ३ को मोहना नदीको खोनराजघाटमा काठेपुल सञ्चालनका लागि १० लाख ५० हजारको ठेक्का सम्झौता गरेको छ।
यस्तै, वडा नम्बर ४ मोहना नदीकै भितरियाघाटमा १ लाख ५० हजारमा नगरपालिका सम्झौता गरेको छ।
यस्तै, वडा नम्बर ३ निमुवाबोजी घाटमा ३ लाख ४५ हजार, वडा नम्बरको ५ मोहना नदीकै गोबरेला घाटमा १ लाख ५० हजारमा
सम्झौता गरी ठेकेदारले काम गरिरहेको कैलारी गाउँपालिकाका राजश्व शाखाका प्रमुख लाहुराम चौधरीले जानकारी दिए।
स्थानीय सरकारले झोलुङ्गे पुल निर्माणका लागि पहल गर्न छोडेर ठेक्का सम्झैता गरेर जनताबाट पैसा असुल्दा अत्यन्तै दु:ख पाएको मोहनपुरकी स्थानीय अनिता चौधरीले बताइन्।
पुलै नभएर जनताले सास्ती खेपिरहेको अवस्थामा काठेपुल वा डुंगाबाटै भए पनि सहज होस् भनेर ठेक्का सम्झौता गरेको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए।
‘हामीले जनताकै सहजका लागी यसरी ठेक्का सम्झौता गर्ने गरेका छौं,’ उनले भने।
अध्यक्ष चौधरीले केही घाटमा पुल निर्माणका लागि प्रदेश र संघीय सरकारका योजना सुरू भइसकेको दाबी गरे।