कैलालीको गोदावरीकी एक महिलाले छोराको आसमा १२ पटक छोरीको गर्भपतन गराइन्। गर्भपतनकै कारण उनको ज्यान कमजोर भयो। छोरा पाउन नसकेको आरोप थोपरेर श्रीमानले उनीमाथि सौता भित्र्याए।
‘कहिले भारतको पलिया पुगेर फालें। कतिपटक कैलालीकै अत्तरियामा। कहिलेकाहीँ त आफैं औषधि किनेर पनि खाएँ’ गर्भमा छोरी भएको थाहा पाएपछि गर्भपतन गर्दाको अनुभव सुनाइन् उनले।
तीन छोरी जन्मिएपछि नाति त चाहिन्छ भन्दै सासूससुराबाट सुरू भएको दवाब र मानसिक यातना श्रीमानले सौता भित्र्याएर छोरा जन्माएपछि पनि अन्त्य हुन नसकेपछि अन्ततः उनले सम्बन्ध विच्छेद नै गर्नुपर्यो।
भन्छिन्, ‘सायद भाग्यले पनि मलाई नै ठग्यो। त्यही परिवारलाई छोरा दिन आफ्नो ज्यानको बाजी लगाएँ। तर आज न श्रीमान पाएँ, न सहयोग।’
बरु सुरूमै छोराको लागि गर्भपतन गर्न राजी नभएको भए आज शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्थें भन्ने पनि उनलाई लागिरहेको छ।
भ्रुण जाँच गरेर गर्भपतन गर्नुहुँदैन भन्ने उनका श्रीमान र घरपरिवारलाई थाहा थियो। तर, उनीहरूलाई कानुनको डर, श्रीमती र बुहारीको ज्यानभन्दा छोराको चाहना अधिक थियो। ‘कानुनले के गर्छ र ? पेटमा छोरी छ, फाल्न ला’को भनेर किन हल्ला गर्नु ?’ सासूससुरा र श्रीमानका प्रश्न हुन्थे यी।
त्यही भएर गर्भ जाँच गर्ने, गर्भपतन गर्ने कुरामा उनको पनि चुपचाप समर्थन हुन्थ्यो। १२ पटकसम्म यो प्रक्रिया चलिरह्यो।
उनी मात्रै कहाँ हो र ? उनका छिमेक, आफन्त र नातागोतामा पनि छोरा चाहने हरेक महिलाको जीवनमा फेरि फेरि यो नियति आइरहन्थ्यो।
छोराको आसमा भ्रुण जाँच गरी गर्भपतन गर्नेहरूलाई कारबाही भएको पनि त उनीहरूले देखेका थिएनन्। त्यसैको गलत फाइदा उठाई उनको स्वास्थ्य र कानूनको सायद यसरी धज्जी उड्यो।
गर्भपतनको यो शिलशिलाचाहिँ त्यत्तिकै टुंगिएको होइन। पटक पटक गर्भपतन गराउन अस्पताल पुग्ने उनलाई डाक्टरले ‘अब फेरि पनि गर्भपतन गर्नुभयो भने तपाईंको ज्यान जान सक्ने सम्भावना धेरै छ’ भनेर डर देखाएपछि गर्भाधारण र गर्भपतनका लागि श्रीमानले उनलाई कर गरेनन्। बरु अर्को बिहे गर्छु भनेर दबाव दिन थाले।
१६ वर्षको उमेरमा जीवनरभर दुःखसुख सँगै बिताउने वाचा गरेर प्रेम विवाह गरेकी उनले छोरा पाउन नसकेकै कारण देखाई श्रीमानले दोस्रो विवाह गर्छु भनेपछि आफूले टेकेको जमिन नै भासिएको आभास गरिन्।
तर पनि छोरीको मुख हेरेर आफूलाई सम्हाल्नुको विकल्प थिएन उनीसँग। र चुपचाप सहेर बस्न बाध्य भइन्।
परिवारको कुरा सुनेर श्रीमानले अर्को बिहेको तयारी गरिरहेको थाहा पाइन्। श्रीमान एक हप्ता घर आएनन्। परिवारले खोजी गरेनन्। उनलाई कसैले केही बताएनन्।
भारतमा भएका आफन्तलाई उहाँको केही खबर छ कि! भनेर सोध्दा ‘ऊ त यहाँ केटी घुमाइरा’छ’ भन्ने जवाफ पाइन्। बिहे गरेर भारत गएका श्रीमान २ वर्षपछि छोरो जन्माएर घर फर्के।
घरमा खुसीयाली छायो। भोज भतेर भयो। नयाँ बुहारीले मानसम्मान पाइन्। तर उनी र उनका छोरीहरूलाई भने घरभित्रै हेला बढ्यो। कुटपिट सुरू भयो। खाना समेत पाइनन्।
यो सबै सहन नसकेर उनी घर छोडेर डेरामा बस्न थालिन्। छोरीहरूको पढाइ, कोठा भाडा तिर्न मजदूरी गर्छिन् ।
छोरी र आफ्नो अंश नलिई नहुने भएपछि उनले जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरिन् र जमिनको हिस्सा प्राप्त गरिन्।
जेठी छोरीले १२ कक्षा पास गरेर बिहे गरिन्। उनको बिहेमा पनि बाबु आएनन्। माइली छोरीलाई नर्स बनाउने उनको सपना छ। कान्छी छोरी कक्षा ५ मा पढ्दै छन्।
***
कञ्चनपुरकी भौनी चौधरीका श्रीमानले पनि छोरीमात्रै जन्मेपछि छोरा जन्माउनलाई भनेर अर्को बिहे गरे ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ भमरभोजकी ५६ वर्षीया भौनीका बसन्ती, जयन्ती, सपना, र उर्मिला ४ छोरी छन्।
सानोमा भौनीले पढाइ गर्न पाइनन्। उनका श्रीमानले पनि पढेका छैनन्। छोरा जन्माउनलाई बहुविवाह गरे कानून कारबाही हुन्छ भन्ने दुवैलाई थाहा थियो।
तर समाजको डरले भौनीले छोरा जन्माउन नसकेकोमा आफूलाई दोषी ठानिन्। श्रीमानले अर्की श्रीमती घरमा ल्याए पनि उनले कानुनी उपचार खोजिनन्।
उनीबाट चार छोरी जन्मेपछि छोरा भएन भनेर कान्छी छोरी आठ वर्षकी हुँदा श्रीमानले अर्को बिहे गरे।
‘छोरीलाई कहिले यिनको बाबाले माया गरेन, छोरा भएन भनेर दोस्रो बिहे गरे,’ उनले भनिन्।
भौनीकी कान्छी छोरी उर्मिलाले आफू छोरी भएकाले बाबाले कहिल्यै माया नगरेको बताइन्।
‘चार छोरी जन्मिएपछि बाबाले छोरा किन नजन्माएको भन्दै आमासँग झगडा गर्न थाल्नुभयो’ उर्मिलाले विगत कोट्याइन्।
यही कुराले उनका बाबाले आमालाई पटक–पटक पिट्थे। छिमेकीहरू पनि छोरा नभएर हुँदैन भन्थे। दोस्रो बिहे गराउन उनको बाबालाई छिमेकीले पनि उकासे।
बाबाले अर्की श्रीमती ल्याएर आँगनमै अर्को घर बनाएर अलग बस्न थाले।
‘कान्छी आमा घरमा ल्याएको दिनदेखि बाबा पहिला भन्दा झन् निर्दयी हुन थाल्नुभयो। हामीलाई पहिलेभन्दा निकै बढी बेवास्ता गर्न थाल्नुभयो। मद्धत गर्न छोड्नुभयो। हामी टुहुरोजस्तै भयौं,’ उर्मिलाले भनिन्।
कान्छी आमाबाट बिहेको दुई वर्षपछि भाइको जन्म भयो।
बाबा टाढिएपछि घरखर्च चलाउन, पढाइलेखाइ गर्न, खेती किसानी गर्न गाह्रो हुन थाल्यो। खेतीपाती लगाउने सिजनमा उनका बाबाले कहिल्यै सघाएन।
उल्टै ‘तिमीहरूको यो जमिनमा कुनै हक छैन’ भनेर धम्काउन थाले। बुवाले भगडा गरेकै कारण केही वर्ष आधा जमिन बाझै छोड्नुपरेको उनले सुनाइन्।
बाबाले मन लाग्दा जग्गा बेच्थे, आफ्नो साह्रोगाह्रो टार्थे। भोज भतेर गर्थे। तर उनीहरू भने जमिनमा अधिकार पाउँदैनथे। आफ्नो नाममा सम्पत्ति नै नभएकाले पनि उनीहरूलाई समस्या आउन थाल्यो।
‘हामीले पनि केही जमिन पाउनुपर्छ भनेर बाबालाई सुनायौं। तर, उहाँले सिधै दिन्न भन्नुभयो’ उर्मिलाले भनिन्।
बाबाले तिमीहरू जे गर्छौ गर तर जमिन दिन्न भनेपछि उनकी आमाले अंश मुद्दा हालौं भनिन्। कानुनको बारेमा उनीहरूलाई त्यति धेरै थाहा थिएन।
छोरीले पनि अंश पाउँछ भन्नेचाहिँ सुनेका रहेछन्। आमाले २०७३ को माघतिर अंश मुद्दा हाल्ने कुरा गरिन्। छोरीहरूलाई यो उपाय सुरूमा त ठीक लागेन। बाबाले उल्टै केही समस्या पार्छन् कि ! भनेर डर लाग्यो।
अर्को वर्ष असारमा खेती लाउँदा फेरि बाबाले निकै दुःख दिन थालेपछि आमाले मुद्दा हाल्ने अडान दोहोर्याइन्। अनि तीनै बहिनीले सल्लाह गरे। आमासहित उर्मिलाका तीनै बहिनी बुवाविरूद्ध मुद्दा हाल्न तयार भए।
मामाको सहयोगमा उनीहरू अदालतमा गए। आमालाई साक्षी बनाएर तीनै बहिनीले आफ्नै बाबाविरूद्ध अंशका लागि मुद्दा दर्ता गराए।
उनीहरूले नागरिकता प्रमाण देखाएर अंश लाग्ने जमिनको अंशियार खुलाएर फिराद पत्र लेखेपछि २०७४ को असारतिर मुद्दा दर्ता भयो।
‘मुद्दा दर्ता गरेको कुरा सुनेपछि विगतमा हामीलाई कहिल्यै सहयोग नगर्ने छिमेकीले जन्मदिने बाउको नाममा किन मुद्दा हालेको फिर्ता लेऊ भनेर समेत भने,’ उर्मिलाले भनिन्।
मुद्दा हालेपछि उर्मिलाका बाबा झन् रिसाए। आफूलाई बाबा नभन्न चेतावनी दिए। करिब १७ महिनापछि अदालतले जम्मा सम्पत्तिको चार भाग उर्मिला, सपना, जयन्ती र भौनीले पाउने भन्ने फैसला सुनायो।
‘२०७५ मंसिर ११ गतेको कुरा हो, अदालतले अंश दिनु भन्ने फैसला सुनाएपछि हामी निकै खुसी भयौं’ उर्मिलाले हँसिलो मुहारमा सुनाइन्।
***
कैलालीको गौरीगंगा–४ की ४० वर्षीया एक महिलालाई ललाईफकाई गरेर गाउँकै पुरूषले दोस्रो श्रीमतीको रूपमा बिहे गरे।
‘गरिब भए पनि धेरै माया गर्छु’ भन्ने आश्वासन दिएर जेठीबाट छोरा जन्मेन भन्दै उनलाई दोस्रो श्रीमतीको रूपमा बिहे गरेका रहेछन्।
घरकी जेठी श्रीमतीले पनि श्रीमानले अर्की ल्याएर छोरा जन्माउने भनेर मख्ख परिन्। आफूमाथि सौता हाल्ने श्रीमानविरूद्ध केही कानुनी उपचार खोज्ने र मुद्दा मामिला गर्नेतर्फ लागिनन्।
बिहे गरेको केही समयपछि उनीबाट एक छोरा र एक छोरी जन्मिए।
छोरा जन्मिएपछि श्रीमान खुबै खुसी भए। तर, छोरीको जन्म हुँदा उनले वास्ता गरेनन्। श्रीमान दुई वर्षको छोरा, जेठी श्रीमती र उनीबाटका जन्मेको तीन छोरीसहित भारत भागेको उनले बताइन् ।
‘मलाई त छोरो जन्माइदिनलाई मात्रै बिहे गरेको रहेछ’ उनले भनिन्।
अहिले आफू आर्थिक अभावका बीच निकै पीडामा रहेको पनि उनले सुनाइन्।
पहिलो श्रीमतीसहित भारत भागेका श्रीमान सम्पर्कमै नआउने र कुनै सहयोग नगर्दा सँगै रहेकी डेढ वर्षकी छोरी हुर्काउन निकै समस्या भएको उनले बताइन्।
शिक्षितले पनि भन्छन् - छोरा नै चाहिन्छ
छोराको आसमा अशिक्षितले मात्रै होइन, शिक्षितले पनि बहुविवाह गर्ने गरेका छन्।
गौरीगंगा नगरपालिकाकै एक महिला स्वास्थ्य स्वयंसेविका हुन्। उनका श्रीमान पनि पढे-लेखेका जमिनदार हुन्।
२१ वर्षकी हुँदा छोरी जन्मिएकी उनी अहिले ५० वर्षकी भइन्।
एउटा बाहेक उनीबाट अर्को सन्तान जन्मिएन।
एक छोरीमात्रै भएकाले श्रीमानले छोरो त चाहिन्छ भनेर उनी ३० वर्षको हुँदा अर्को बिहे गर्ने चाहना राखे।
‘सुरूमा त मैले छोरी पनि आफ्नै सन्तान त हो भनेर सम्झाएँ,’ उनले भनिन्, ‘श्रीमानले मानेनन्। छोरी अर्काको घरमा जान्छे। छोरा नभई हुन्छ ? भन्दै हेलोहोचो र कुटपिट गर्न थाले।’
तिमीलाई पनि दुःख दिन्नँ, छोरीलाई पनि दुःख दिन्नँ भनेर श्रीमानले दबाव दिन नछोडेपछि वाक्क भएर आफ्नै बहिनीसँग दोस्रो बिहे गर्न सहमति दिएको उनले सुनाइन्।
अहिले बहिनीबाट दुई छोरा र दुई छोरी छन्। पहिले ३ जना मात्रै भएको परिवारमा अहिले ८ जना छन्।
बहिनी अर्थात् सौतासँग कहिलेकाहीँ मनमुटाव हुँदा आफूले जन्माएको छोरीमा श्रीमानले चित्त बुझाएको भए यस्तो हुने थिएन।
मेरो जीवनमा सौता आउँथिनन्। परिवारमा शान्ति हुन्थ्यो। प्रेम हुन्थ्यो जस्तो लाग्ने गरेको उनले दुखेसो पोखिन्।
सुदूरपश्चिममा बढ्दै छ बहुविवाह
छोराको आसमा बहुविवाह हुने क्रम बढेको महिला पुनर्स्थापना केन्द्र (ओरेक)कैलालीकी संयोजक बिनु रानाले बताइन्।
‘छोरा नजन्मेपछि दोस्रो बिहे गरेका धेरै घटना हामीकहाँ पनि आउँछन्,’ उनले भनिन्।
छोरा नजन्माएको भन्दै हिंसामा परेका, श्रीमानले अर्को विवाह गरेपछि अलपत्र परेका महिलाहरूको संख्या बढी नै रहेको उनको भनाइ छ।
उनका अनुसार पछिल्लो एक वर्षमा मात्रै ओरेक कैलालीमा १ सय ४१ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन्।
त्यसो त सुदूरपश्चिम प्रदेशमा पनि बहुविवाहको तथ्यांक बढ्दो छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४८, २०७५/०७६ मा ७५ र २०७६/०७७ मा ६३ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बहुविवाहका घटनाले माथि हिंसा हुने क्रम बढ्दै गएको बताए।
जिल्ला अदालत कैलालीमा पनि पछिल्लो तीन वर्षमा मात्रै बहुविवाहका ८० मुद्दा परेका छन्। जिल्ला अदालतमा आर्थिक वर्ष ०७४/०७५ मा १३, आर्थिक वर्ष ०७५/०७६ मा २१, र आर्थिक वर्ष ०७५/०७६ मा बुहविवाहका १७ मुद्दा दर्ता भएको जिल्ला अदालत कैलालीका स्रेस्तेदार राइभान कुन्जडाले जानकारी दिए। तीमध्ये ४५ मुद्दा फैसला भइसकेको कुन्जडाले बताए।
यस्तै, चालु आर्थिक वर्षको पछिल्ला ३ महिनामा जिल्ला अदालत कैलालीमा १७ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन्।
छोराकै आसमा महिलामाथि हुने हिंसा र बहुविवाहले सिंगो समाजलाई नै प्रभाव पारेको महिला मानवअधिकार रक्षक सञ्जाल सुदूरपश्चिमकी संयोजक निर्मला बागचन्दले बताइन्।
‘११, १२ छोरी जन्मे पनि छोरा नभई हुँदैन भन्ने गलत संस्कारले समस्या पारेको छ,’ उनले भनिन्।
छोराको आकांक्षाले बहुविवाह गर्ने प्रचलन पनि नरोकिएको उनले बताइन्।
श्रीमानले अर्को बिहे गरेपछि एकल जीवनयापन गरिरहेका महिलालाई छोरीको पालनपोषण र शिक्षादीक्षामा समस्या हुनेगरेको बागचन्दको भनाइ छ।
छोराको आसमा श्रीमती र छोरीमाथि हिंसा गर्ने पुरूष स्वयं पनि सुखी वा खुसी नहुने गरेको बुझाइ छ समाज अध्येता तथा लेखक पदम रानाको।
‘आफ्नो सन्तान अर्थात् छोरीलाई वंश नठान्ने व्यक्ति समाजका कलंक हुन्। अरूलाई दुःख दिने, कुभलो चिताउने मान्छे कहिल्यै खुसी हुँदैन। अर्को बिहे गरेर अर्थात् छोरीको गर्भ तुहाएर छोरा पाउँदा उनीहरू सुखीजस्तो देखिए पनि भित्रैबाट सुखी हुँदैनन्। खुसीजस्तो देखिनु उनीहरूको ढोङ हो,’ रानाले भने ।
राना बहुविवाह गर्ने पुरूषहरू स्वयं अरूलाई दुःख दिएको कुरा मनमा खेलाएर दुःखी हुने गरेको बताउँछन्।
छोराको आसमा गरिने यस्ता कुकर्मले सिंगो समाजलाई नै दूषित बनाउने भए पनि अधिकांश मान्छे त्यसविरूद्ध बोल्ने आँट नगर्ने पनि अध्येता रानाको बुझाइ छ।
यद्यपि मान्छेहरूको आफ्नै जीवन, आफन्त र परिवारमा पनि कोही न कोही व्यक्ति छोराको आसमा छोरीलाई गर्भमै मार्ने, श्रीमती र भएका छोरीमाथि हिंसा गर्ने, यातना दिने, बहुविवाह गर्ने हुँदा मानिसहरू छोराको आसमा हुने बहुविवाहविरूद्ध नबोल्ने गरेको राना अनुभव सुनाउँछन्।
नेपालको कानुनमा बहुविवाह गर्न नहुने भनिएको छ। मुलुकी अपराध संहिता २०७४ मा विवाहित पुरूषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन भनिएको छ।
यस्तै, कुनै पुरूष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरूषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन पनि भनिएको छ।
यसप्रकारको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था संहिताले गरेको छ।
‘तर कानुनको फितलो कार्यान्वयन, झण्झटिलो कानूनी व्यवस्था र विद्यमान कानुनको ज्ञानै नभएका कारण श्रीमान र परिवारले छोरा जन्माउन कर गर्दा, यातना दिँदा, घर निकाला गर्दा, बहुविवाह गर्दा पनि महिलाहरू हत्तपत्त मुख खोल्दैनन्,’ अधिकारकर्मी साबित्रा घिमिरे भन्छिन्, ‘बरु छोराको तुलनामा छोरी मात्रै हुने आमाबुबा बढी खुसी भएको देख्छु।’
विज्ञान, प्रविधि र चेतनाको युग भनिने २१ औं शताब्दीमा पनि मानवले चेतनाशून्य अवस्थाझैं आफूलाई अपराधी करार गर्न नहुने तर्क गर्छिन् घिमिरे।
भन्छिन्,‘गलत संस्कार र परम्पराहरू तोड्दै युग सुहाउँदा, अवस्था सुहाउँदा रीति र संस्कारहरूको विकास गर्ने हो भने अब पनि छोरा नै चाहिन्छ भन्नु मानवीय संवेदना विपरीतको काम हो। यो कुसंस्कार हट्नै पर्छ। किनकी शवले मेरो छोराबिना म जल्दिनँ त भन्दैन नि !’