न्यूयोर्कको ब्रुकलिनस्थित फ्ल्याटबुस भन्ने ठाउँमा एउटा यस्तो घर छ, जहाँ झन्डै ५० जना नेपाली बस्छन्।
माथिल्लो मुस्ताङको छुसाङ गाउँबाट गएका ती नेपालीबारे अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले करिब एक वर्षअघि लामो लेख लेखेको थियो।
उनीहरू 'सेके' भाषा बोल्छन्। संसारभरिमा यो भाषा बोल्ने करिब ७ सय जना छन्। तीमध्ये सय जनाजति न्यूयोर्कमै छन्। पचास जना त फ्ल्याटबुसको एउटै घरमा बस्ने भइहाले, बाँकी कोही नजिकै अर्को घरमा बस्छन्, कोही न्यूयोर्ककै क्वीन्सतिर छरिएका छन्।
तिनैमध्ये एक हुन्, २१ वर्षीया रश्मिना गुरूङ।
'म पाँचौं तलामा बस्छु। मेरो काका दोस्रो तलामा बस्नुहुन्छ। मेरा अरू नातेदारहरू छैठौं तलामा छन्। पहिलो तलामा बस्ने पनि हाम्रा नातागोता नै हुन्,' रश्मिनालाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ।
उनले आफू आठ वर्षअघि छुसाङबाट न्यूयोर्क गएको बताएकी छन्। अहिले न्यूयोर्कस्थित लोपोन्मुख भाषा संरक्षण अभियानमा आबद्ध भएर सेके-अंग्रेजी शब्दकोष तयार पार्न मद्दत गर्दैछिन्।
छुसाङ लगायत तिब्बतको सीमानजिक पर्ने मुस्ताङ जिल्लाका पाँच गाउँमा सेके भाषा बोलिन्छ। यो संसारकै एक लोपोन्मुख भाषा हो। सेके बोल्नेहरू मुस्ताङबाट धमाधम पोखरा, काठमाडौं हुँदै अमेरिकाको न्यूयोर्क बसाइँ सरेका छन्। बसाइसराइले भाषा लोप हुने क्रम पनि बढेको छ।
भाषा आयोगले सेकेसहित आठवटा लोपोन्मुख भाषालाई राष्ट्रभाषाको सूचीमा थप्न प्रस्ताव गरेको छ। प्रस्तावित नयाँ भाषामा राना थारु, नार फु, चुम (स्यार), नुब्री (लाक्रे), पोइके, सेराके (सेके), मारेक–याक्खा र नावा शेर्पा छन्।
२०६८ को जनगणनाअनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छन्। भाषा आयोगको यस्तो प्रस्तावसँगै अब २०७८ को नयाँ जनगणनामा संख्या फेरबदल हुनेछ।
आयोगले त्रिभुवन विश्वविद्यालय र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अनुसन्धाताहरूको अध्ययनका आधारमा यी भाषा पहिचान गरेको हो। उनीहरूले २०७५-७६ र २०७६-७७ मा यी भाषामाथि अध्ययन गरेका थिए।
आयोगका अनुसार राना थारु कञ्चनपुर, नार फु मनाङ, चुम (स्यार) र नुब्री (लाक्रे) गोरखा, पोइके डोल्पा र सेराके (सेके) मुस्ताङमा बोलिने भाषा हुन्। धनकुटा मूलथलो भई इलाममा बोलिने मारेक–याक्खा र संखुवासभामा बोलिने नावा शेर्पा २०७६-७७ मा थपिएका दुई नयाँ भाषा हुन्। नावा शेर्पा तिब्बती प्रभावमा परेको भाषा हो। उनीहरूको संख्या एक हजारभन्दा कम छ।
यक्खा पूर्वी किराँती भाषासँग सम्बन्धित छ, जुन लिम्बूभित्रको उपभाषामा पर्ने बताइन्छ। समाजशास्त्री जनकलाल शर्माद्वारा लिखित ‘हाम्रो समाज एक अध्ययन’ अनुसार पूर्वी नेपालको अरुणदेखि मेचीसम्म जहाँ–जहाँ लिम्बूहरू बस्छन्, त्यहाँ यक्खा भाषा भेटिन्छ। यक्खाहरु धनकुटा, झापा, सुनसरी, इलाम र तराईका केही भागमा बसोबास गर्छन्। उनीहरू पनि किरातँझैं प्रकृतिपुजक हुन्।
गोरखामा बोलिने नुब्रीलाई पनि युनेस्कोले लोपोन्मुख सूचीमा राखेको छ। हङकङको एक विश्वविद्यालयको अध्ययनअनुसार चार सय वर्षअघि नुब्रीहरू तिब्बतमा बस्थे। करिब २ हजार जनसंख्या भएका उनीहरू बसाइँ सरेर यता आएका हुन्।
उपल्लो गोरखामा नुब्री भन्ने ठाउँ नै छ। सन् २०१९ मा डाक्टर सन्दुक रुइतको टोलीले नुब्रीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो। करिब पाँच सय जनाले आँखा जचाएका थिए।
संविधानले मातृभाषाका रूपमा नेपालमा बोलिने सबै भाषालाई 'हाम्रो देशका भाषा' भनेको छ। २०६८ को जनगणनाअनुसार मातृभाषाका रूपमा नेपाली बोल्नेहरू ४४.६४ प्रतिशत छन् भने दोस्रो भाषाका रूपमा बोल्नेहरू ३२.२८ प्रतिशत छन्।
मातृभाषा संरक्षणकै लागि भाषा आयोग गठन भएको हो। २०७६-७७ सालमा ३० वटा भाषा संरक्षण र विकाससम्बन्धी काम गर्ने आयोगको योजना छ। अहिलेसम्म १५ वटा भाषाका वर्ण निर्धारण, शब्द संकलन, शब्दकोष निर्माण, इतिहास लेखन, व्याकरण लेखन, पाठ संकलन र दोस्रो चरणको भाषा कक्षा सञ्चालनसम्बन्धी प्रारम्भिक कार्य भएका छन्।
‘लोपोन्मुख भाषाको शब्द संकलन गरी एउटाको शब्दलाई अर्कोमा अनुवाद गरेर बहुभाषिक, विद्युतीय भाषाकोष निर्माण गर्ने काम सुरू भएको छ,’ आयोगका सूचना अधिकारी लोकबहादुर लोपचनले सेतोपाटीसँग भने।
आयोगका अनुसार २०७६-७७ मा दोस्रो भाषाका रूपमा नेपाली बोल्ने थारु र लिम्बूहरूको स्थलगत अध्ययन गरिएको छ। बाह्मी, गुप्त र कुटिला लिपिहरूको अध्ययन पनि भएको छ। शास्त्रीय भाषाहरू पाली, संस्कृत र भोटको पनि अध्ययन सुरू भएको उनले बताए।
नेपालमा बोलिने १२३ भाषामध्ये चिनियाँ–तिब्बती परिवारका ६८, भारोपेली परिवारका ४८, आग्नेली परिवारको एउटा (सन्थाली भाषा), द्रविड परिवारको एउटा (उराँव र कुडुख भाषा) र भाषिक परिवार नखुलेको कुसुन्डा अस्तित्वमा छन्।
२०७३ मा गठन भएको भाषा आयोगले अहिलेसम्म चारवटा प्रतिवेदन बुझाइसकेको छ। ती प्रतिवेदन हेर्दा हजारभन्दा कम मातृभाषीहरू भएका करिब ३७ भाषा छन्– कुसुन्डा (२८), मालपाँडे (२४७), सुरेल (२८७), मनाङे (३९२), राउटे (४६१), डडेल्धुरी (४८८) आदि।
त्यस्तै, वालुङ, कटरिया, धुलेली, थुलुङ, लोहोरुङ, जुम्ली, बराम लगायत भाषाको अझै भाषिक अभिलेखीकरण हुन सकेको छैन।
‘अंग्रेजीको अनावश्यक मोह, औपनिवेशिक मानसिकता र बजारले सिर्जना गरेको भ्रमका कारण नेपालको भाषिक विविधता र बहुभाषिक जीवन पद्धति संकटमा पर्दै गएको छ,’ आयोगको प्रतिवेदनमा भनिएको छ।