अमिलताराकी सुनिता परियारको मन अहिलेजस्तो अमिलो कहिल्यै भएको थिएन। उनका श्रीमान पाँच वर्षअघि जण्डिस भएर उपचार गर्दागर्दै बिते।
श्रीमानको उपचार गर्दा लागेको ऋण तिर्न उनले बस्दै आएको घर ३५ लाख रूपैयाँ बेचे। ऋण तिरेर जोगिएको करिब १५ लाख रुपैयाँले अमिलतारामा सानो टुक्रा जमिन किने र घर बनाए।
अहिले उनका छारा अञ्जित बिरामी छन्। उनको छातीको नसा फुटेको छ। उनलाई मंसिर ९ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियू भर्ना गरियो। झण्डै एक साता उपचारपछि उनी अहिले वार्डमा सारिएका छन्।
अस्पतालले अञ्जनको शल्यक्रिया गरेर डिस्चार्ज गरेको थियो। तर, परिवारसँग बसेको भोलिपल्टै पुरानै समस्या बल्झिएपछि अहिले उनी अस्पतालमा छन्।
अस्पतालबाट डिस्चार्ज भएको एक रात पनि उनी आफ्नो घरमा बस्न पाएनन्। अस्पताल भर्ना भएको केही दिनमै घर पनि भत्कियो। अहिले मंसिरको जाडोमा यो परिवारकै बिचल्ली भएको छ।
सुनिताको परिवार अहिले नजिकै बनिरहेको अर्काको घरमा बस्छन्। झ्याल-ढोका नभएको र भुइँमा प्लास्टर समेत नगरिएको घरमा बस्न कम्ती कष्ट छैन।
सुनिताको घरमा यसअघि सानो चिरा परेको थियो। ब्लकले बनाएको सामान्य घरमा यसअघि प्लास्टर चर्किएको जस्तो मात्र देखिएको सुनिता बताउँछिन्।
अहिले भने चिरा ठूलो हुँदै गएको छ।
‘अलिकति चर्किएको थियो, अहिले भ्वाङ नै परेजसरी चर्किएको छ,’ सुनिताले भनिन्, ‘बस्नै नमिल्ने गरी घर भत्किएको छ।’
सुनिता मात्र होइन, जमिन नै चिरा पर्दा अहिले उक्त स्थानबाट चार घर विस्थापित भएका छन्। विस्थापित भएका अरू तीन घर परिवार बजारमा भाडा लिएर बसाइँ सरेका छन्। सुनितासँग भने बजार गएर भाडामा बस्न सक्ने अवस्था छैन।
अर्काको बनाउँदै गरेको घरमा बस्दा घरबेटी आएर कराउने गरेको उनले बताइन्।
‘हाम्रो घरमा तपाईंहरू किन बसेको छोड्नुस् भन्छन्,’ उनले भनिन्, ‘छोडेर कहाँ जाने?’
सुनिता र उनका छिमेकी विस्थापित हुनुमा उनीहरूको मात्र दोष छैन। जोखिमयुक्त बस्तीमा घर बनाउन दिने राज्य पनि उतिकै दोषी छन्। पोखरा महानगरले सेती नदी किनारबाट ३० मिटरभित्र घरलगायत भौतिक संरचना बनाउन नपाउने मापदण्ड बनाएको छ। यसअघि उक्त मापदण्ड ५० मिटर थियो।
यता भू–गर्भविदहरूले भने सेती नदी किनारबाट कम्तीमा सय मिटर वरिपरि घर बनाउन नहुने सुझाव २२ वर्षअघि नै दिएका थिए। खानी तथा भू-गर्भ विभाग र जर्मन भू–गर्भविदहरूको टोलीले सन् १९९८ मा गरेको ‘इञ्जिनियरिङ एण्ड इन्भाइरोंमेन्टल जियोलोजिकल म्याप अफ पोखरा’ नामक अध्ययनले पोखरालाई भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र भनेको छ।
उक्त अध्ययनले सेती नदी दायाँ-बायाँ सय मिटरसम्म जोखिम रहेकोले उक्त क्षेत्रमा भौतिक संरचना नबनाउन सुझाव दिएको थियो। विज्ञहरूको टोलीले अध्ययन गरेर दिएको सुझाव अहिलेसम्म पोखरा महानगरले पालना गरेका छैनन्। नदी किनारदेखि पाँच मिटरकै दुरीमा दर्जनौं निजी संरचना बनिसकेका छन्।
स्थानीय निर्वाचन पश्चात जनप्रतिनिधिले स्वार्थ समूहको दबाबमा मापदण्ड घटाएको पीडित बताउँछन्। अमलटारमा पनि यस्तै भएको हुन सक्ने धेरैको आँकलन छ।
पोखरा–१५ का वडाअध्यक्ष प्रकाश पौडेलका अनुसार घर नै भासिएको जमिन सेती नदीको किनारमै छ।
‘भासिएका घरहरू महानगरले अनुमति दिएर बनेका होइनन,’ उनले भने, ‘तर, बनाउने बेलामै अनुगमन गरेर रोक्नुपर्थ्यो।’
ती घर निर्वाचन हुनुअघि नै बनेको उनले बताए।
अमलतारा भासिनुको मुख्य कारण भने मानवीय नै रहेको देखिएको छ। पोखराको जमिनभित्र रहेका भ्वाङहरूका कारण अन्यत्र भासिने गरेको विज्ञहरू बताउँछन्। अमलटारको हकमा भने मानवीय कारणले नै अहिले चार घर विस्थापित हुन पुगेका हुन्।
अमलताराका स्थानीय वृद्धहरुका अनुसार अहिले जमिन भासिएका ठाउँमा पहिले नै भ्वाङ थिए। व्यक्तिको नाममा लालपूर्जा भएको जमिन भए पनि भ्वाङ भएका कारण त्यहाँ बस्ती थिएन। धेरैपछि मात्र बस्ती बसेको वडाअध्यक्ष पौडेलले बताए।
भ्वाङ भए पनि त्यहाँका जग्गाधनीले जग्गा बिक्री गर्ने उपाय खोजे। जग्गाधनी र घरजग्गा कारोबारीले सेती किनारका भ्वाङ माटोले पुरिदिए। माटोले पुरिएका भ्वाङमाथि कालान्तरमा घर बने। ‘भ्वाङ पुरेको ठाउँको जमिन फाटेर गयो,’ वडाअध्यक्ष पौडेलले भने, ‘जसको परिणाम आज देखियो।’
पोखरा महानगर र सरकारले आवास व्यवस्थापन सम्बन्धी मापदण्ड कडाइका साथ लागू नगर्दा सुनिता र उनका छिमेकी घरबारविहीन हुन पुगेका छन्। सस्तोमा जग्गा पाएर बस्न पुगेका सुनिता र अन्य परिवार घर-जग्गाविहीन बनेका छन्।
घर चिरिएर बस्न नसक्ने अवस्था भएपछि तत्कालीन राहतस्वरुप सुनिताका परिवारलाई पोखरा महानगर र स्थानीयले बस्ने खाने व्यवस्था मिलाइदिएका छन्। अञ्जनको उपचारमा पनि सहयोग गर्ने वडाध्यक्ष पौडेलले बताए। तर, सुनिताका परिवारले भने अहिलेसम्म कसैले केही सहयोग नगरेको बताएका छन्।
पोखराका मेयर मानबहादुर जिसीले पनि पीडितलाई राहत दिने विषयमा कुनै निर्णय नभएको बताए। ‘जमिन भासिएको विषयमा अध्ययन गर्न प्राविधिकहरूलाई भनेको छु,’ उनले भने, ‘पीडितलाई राहतका लागि छलफल गर्दैछौं।’