हिमपातका कारण चिसो समयमा जिल्ला सदरमुकामसँग समेत सम्बन्ध टुट्ने हुम्लाको लिमी उपत्यका र आसापासका गाउँहरूका लागि लाप्चा र हिल्सा नाकाबाट दैनिक उपभोग्य सामग्री आयात गरिएको छ।
कोभिड-१९ को जोखिमका कारण बन्द रहेको नाका एक दिनका लागि खोलेर उपभोग्य सामान आयात गरिएको हो।
गत आइतबार चिनियाँ बजारबाट एक करोड रुपैयाँ बराबरको दैनिक उपभोग्य सामान किनेर ल्याइएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए। उनका अनुसार दुई वटै नाका खोल्न लगाएर नाम्खा गाउँपालिकाको लिमी उपत्यकाका गाउँसहित अरू वडाका लागि सामग्री खरिद गरी ल्याइएको हो।
हिमपातका बेला लिमी उपत्यकाका बासिन्दा आफ्नै वरपरका बस्तीमा समेत जान पाउँदैनन्। यसकारण त्यहाँका मानिसका लागि आवश्यक सामग्री बर्खाको समयमा लिएर भण्डारण गरिसक्नुपर्छ। यसपटक भने कोरोनाका कारण बर्खाको समयमा सामान ढुवानी गर्न सकिएको थिएन।
तीन वटा बस्ती रहेको लिमी उपत्यकामा १४५ घरधुरी रहेको अध्यक्ष तामाङले बताए। जसमा ७०० को हाराहारीमा जनसंख्या छ। ‘लिमीमा त एक सिजनमा मात्र सामान ढुवानी गर्न सक्यो भने भयो, अन्य बेला त सम्भव हुँदैन,’ अध्यक्ष तामाङले भने।
उनका अनुसार लिमी उपत्यकाका बासिन्दाका लागि लाप्चा नाकाबाट चार वटा ठूला ट्रकहरूमा सामान ल्याइएको हो भने हिल्सा नाकाबाट १२ वटा ट्रकमा ल्याइएको सामान गाउँपालिकाका अरु वडाका लागि हो। नाम्खा गाउँपालिकामा ६ वटा वडा छन्। ती सबै वडाहरू चिनियाँ बजारमा निर्भर रहन्छन्। गाउँपालिकाभर साढे चार हजार जनसंख्या रहेको छ।
उच्च हिमाली भेगमा रहेकाले नाम्खा गाउँपालिकाभित्रका सबै वडाहरूमा बस्ने नागरिकको लागि बर्खामा नै बर्षभरिका लागि आवश्यक सामान ढुवानी गरिसक्नुपर्छ। यो वर्ष भने कोभिडका कारण नाका बन्द भएकाले सामान ल्याउन नसकिएको अध्यक्ष तामाङले बताए।
गाउँपालिकाले काठमाडौंस्थित चिनियाँ राजदूतावासलाई आग्रह गरेपछि दूतावासको सिफारिसमा चीन सरकारले तीन दिनका लागि नाका खोलिदिएको थियो। नाका तीन दिनका लागि खुले पनि आवश्यक सामान एकै दिनमा आएपछि पुनः बन्द भएको अध्यक्ष तामाङले जानकारी दिए।
‘कोरोनाका कारण ९ महिनादेखि बन्द रहेको नाका हाम्रो आग्रहमा दूतावासले खोल्न सिफारिस गरिदियो, यसले गर्दा यहाँ आवश्यक सामान ल्याउन सहज भयो,’ अध्यक्ष तामाङले भने, ‘यदि नाका नखुलेको भए चिनियाँ बजारमा निर्भर हाम्रा बासिन्दालाई निकै समस्या पर्ने थियो।’
उनका अनुसार गत असोजमा नै गाउँपालिकाले नाका खोल्न दूतावासलाई आग्रह गरेको थियो। दूतावासले भने मंसिर अन्तिम साता नाका खोल्न सिफारिस गरेको थियो।
गाउँपालिकाले कात्तिकमा पनि खाद्य व्यापार कम्पनीमार्फत प्रतिकिलो ३५ रुपैयाँ ढुवानी अनुदान व्यहोरेर ५०० क्वीन्टल नाम्खा गाउँपालिकाका लागि आयात गरेको तामाङले बताए।
अहिले गाउँपालिकाले चीनबाट आयात गरेको सामानहरुमा मैदा, चामल, खाने तेल, घ्यू, सिरक, कम्बल, जुत्तालगायत छन्। खाद्यान्नमा सबैभन्दा धेरै पीठो १ हजार ३७५ क्वीन्टल खरिद गरिएको अध्यक्ष तामाङले जानकारी दिए।
यस्तै, चामल १७५ क्वीन्टल खरिद गरिएको छ भने ६ हजार जोर जुत्ता खरिद गरिएको उनले बताए।
आइतबार चीनबाट ढुवानी गरिएको सामान पनि गाउँपालिकाले नै खरिद गरेको हो। चिनियाँ बजार ताक्लाकोटमा बस्ने नेपाली व्यापारीलाई रकम व्यहोर्न पठाइएको हो। पछि उक्त सामग्री बिक्री भएपछि ती व्यापारीहरूले आफ्नो रकम असुल गर्ने अध्यक्ष तामाङले बताए।
गाउँपालिकाले ताक्लाकोटमा व्यापार गरी बस्ने नेपाली व्यापारीहरूलाई नाम्खामा उपभोग्य सामान आपूर्तिमा सहजीकरण गर्नेगरी ‘फोकल पर्सन’ समेत तोकेको छ। ६ वटा वडाका लागि एक-एक जना फोकल पर्सन तोकिएको छ। ‘हाम्रो नाम्खाकै त्यहाँ बस्ने व्यापारीहरुलाई हामीले फोकल पर्सनका रुपमा जिम्मा दिएका छौं, उहाँहरूले यहाँ पठाउनुपर्ने सामानको लागि सहजीकरण गर्नुहुन्छ,’ अध्यक्ष तामाङले भने।
नाम्खा गाउँपालिकामा एक सिजन मात्र खाद्यान्न बाली लगाइन्छ। जसमा उवा, फापर, कोदो, आलु, चिनो, कागुनो, मकै, जौं पर्छन्। एक सिजनमा भएको उत्पादन तीन महिनाभित्रै खपत भइसक्छ।
नाका खोल्न लगाएर चीनबाट आयात गरिएको उक्त सामानले अर्को बर्खासम्म पुग्ने रहेको अध्यक्ष तामाङले बताए। ‘हामीले खाद्य व्यापार कम्पनीबाट पनि ल्याएको चामल र अहिले चीनबाट ल्याएको सामानले आउँदो बर्खासम्म नै धान्नेमा हामी ढुक्क छौं,’ उनले भने।