खोटाङ घर भएका पूर्ण राई र देवानन्द राई ललितपुरका सुन व्यवसायी हुन्। पूर्ण ललितपुर महानगरपालिका-५ लगनखेल र देवानन्द राई ललितपुर-१४ विशाल चोक बस्छन्।
दुवै जनाले प्रयोग गर्दै आएको व्यापारिक फर्म अनुसन्धानको क्रममा रहेकाले प्रहरीले नाम खुलाएको छैन। तर, राईद्वयले २०७४ सालयता पटक-पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएको देखिएको छ।
सुन राख्दै कर्जा लिँदै गरेका दुवै अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। महालक्ष्मी बैंक केन्द्रीय कार्यालयले कर्जा घोटाला भएको भन्दै जाहेरी दिएपछि ब्युरोले अनुसन्धान थालेको हो।
यसक्रममा मंसिर २६ गते राईद्वय पक्राउ परेका हुन्। उनीहरूले राखेका कामदार सन्दीप लिम्बू पनि पक्राउ परेका छन्। उनी ललितपुर-१४ विशालचोककै हुन्।
ब्युरोका अनुसार राईद्वयले कुमारीपाटी शाखाबाट सात करोड ४१ लाख रूपैयाँ कर्जा लिएको देखिन्छ। उनीहरूसमेत गरेर ११ जना कामदारको नाममा कर्जा लिएको देखिएको छ। ती ११ जना कामदार ऋणी देखिएकाले ब्युरोको खोजीमा रहेको बताइएको छ।
यो बराबरको कर्जाको साँवा-ब्याज अहिलेसम्म बैंकमा भुक्तानी भएको देखिँदैन। ब्युरोका एक अनुसन्धान अधिकृतले सेतोपाटीसँग भने, ‘तर, साँवा-ब्याज भुक्तानी नभएको नेपाल राष्ट्र बैंकमा देखिएपछि सशंकित हुँदै आन्तरिक छानबिन गर्छ र धितो राखेको सुनबाट पनि सो कर्जा चुक्ता नहुने देखिएपछि हामीकहाँ अनुसन्धानका लागि लेखेर पठाउँछ।’
बैंकहरूको नियामक निकाय राष्ट्र बैंक हो। महालक्ष्मी बैंकको कर्जाबारे उसले सम्बन्धित बैंकलाई पनि सोधपुछ गरेको बुझिएको छ। तर, उक्त बैंकले कर्जा समस्या समाधान गर्न नसकेपछि बाध्य भएर राष्ट्र बैंकले बैकिङ कसुरमा अनुसन्धान गरिपाउँ भनी प्रहरीमा लेखेर पठाएको देखिएको ब्युरोका ती अधिकृतले बताए।
ती अनुसन्धान अधिकृतका अनुसार राईद्वयले कुमारीपाटी शाखामा पाँच हजार २२८ ग्राम सुन राखेको देखिन्छ। रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम आवश्यक देखिन्छ।
‘बैंकिङ प्रक्रियामा रकमअनुसार धितो यो एकदमै नगन्य देखिन्छ,’ ती अधिकृतले भने, ‘यसमा बैंकिङ कागजातहरू मागिएको छ, ती कागजात अनुसन्धान गरेपछि थप जानकारी पाउन सकिन्छ।’
ती अनुसन्धान अधिकृतले यो कर्जा प्रवाह मिलेमतो नभई सम्भव नरहेको दाबी गरेका छन्।
कम धितोमा बैंकले कर्जा सकार्दैनन्। त्यसकारण उक्त बैंकको कर्जा प्रवाहमा संलग्न कर्मचारी अनुसन्धानमा तानिन्छन्। ब्युरोका अनुसार विगत तीन वर्षयता कुमारीपाटी शाखामा कार्यरत् शाखा प्रमुख अनुसन्धानको दायरामा आउँछन्।
सुनमा बैंकहरूले अधिकतम् ८० प्रतिशतसम्म कर्जा दिने गरेका छन्। साधारणतया बैंकका शाखाहरूले ठूलो कर्जा प्रवाहमा केन्द्रीय बैंकको परामर्श र स्वीकृति लिन्छन्।
राईद्वयको कर्जामा केन्द्रीय बैंकले स्वीकृति दियो दिएन वा त्यहाँका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले कस्तो भूमिका खेले भन्नेबारे अनुसन्धानपछि थाहा हुने ब्युरोले जनायो।
त्यसबेला महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने थिए। उनले गत साउनदेखि महालक्ष्मी बैंक छोडिसकेका छन्।
‘मैले अहिले बैंकको जागिर छोडिसकेको छु,’ उनले भने, ‘जागिर छोडेको हुनाले यो कर्जाबारे मैले भन्न मिलेन।’
ब्युरोका अनुसार महालक्ष्मी बैंकले यो कर्जाबारे कानुनी उपचारका लागि लामो समयसम्म कुनै प्रक्रिया चालेको देखिँदैन।
महालक्ष्मी बैंकका कामु सिइओ सागर शर्माले यो कर्जाबारे हालसालै जानकारी भएपछि मात्रै प्रहरीले अनुसन्धान थालेको बताए। उनले कर्जा प्रवाहको लापरबाही वा मिलेमतोबारे बताउन सकेनन्। उनले शाखाहरूको कर्जा प्रवाहमा केन्द्रीय बैंकलाई सबै कुरा थाहा नहुने पनि बताए।
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले महालक्ष्मी बैंकको कर्जा घोटालामा बैंककै जिम्मेवार व्यक्तिहरूको मिलेमतो देखिएको बताए। यसमा संलग्न जोकोही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न सकिने बताए। ‘कर्जा प्रवाह गर्दा कम धितोमा बढी रकम बाहिरिनुमा बैंकका कर्मचारीको सहयोगबिना सम्भव हुँदैन,’ थापाले भने, ‘यसबारे विस्तृत अनुसन्धान भइरहेको छ, कर्जा प्रवाहको प्रक्रिया सुरू भएदेखिका कागजात मागिएको छ।’