सप्तरीमा बिहीबारदेखि बेपत्ता रहेका बालक मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुने बालक तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुराका ६ वर्षीय आनन्द मुखिया छन्। शुक्रबार बिहान ९ बजे आपको हाँगाले छोपेको अवस्थामा उनको शव फेला परेको हो।
परिवारका अनुसार आनन्द बिहीबार करिब २ बजे घरबाट खेल्न निस्किएका थिए। उनी आफ्नै घरको पूर्वपट्टी रहेको आँपको बगैंचामा खेल्दै थिए। तर, पछि उनी त्यहाँबाट बेपत्ता भए।
राति ७ बजेसम्म पनि आनन्द फेला परेनन्। त्यसपछि परिवारले सप्तरीको प्रहरी चौकी तिलाठीमा खबर गरेका थिए।
खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो। खोजी गर्ने क्रममा प्रहरीले आनन्दको शव शुक्रबार बिहान मात्रै फेला पारेको हो। प्रहरीका अनुसार शव आँपको हाँगाले छोपिएको थियो।
प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले सवारीसाधनले ठक्कर दिएर बालकको मृत्यु भएपछि घटना लुकाउन आँपको हाँगाले शव छोपेको देखिएको बताए।
प्रहरीले गरेको प्ररम्भिक अनुसन्धानमा आनन्दलाई ट्याक्टरले ठक्कर दिएको खुलेको हो।
‘हिजोदेखि बेपत्ता रहेका बालकलाई स१त ७७५२ नम्बरको गाउँकै ट्याक्टरले ठक्कर दिएर मारेको रहेछ,’ डिएसपी साहले भने, ‘बालकको मृत्यु भएपछि चालकले शव लुकाएका हुन्।’
चालक अहिले फरार छन्। प्रहरीले ती चालकको घरसम्म पुगेर खोजी गरिसकेको छ। तर, उनी हिजोदेखि नै फरार रहेको डिएसपी साहले बताए।
आनन्दको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको छ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार आनन्दलाई ट्याक्टरले ठक्कर दिएको एक बालकले पहिले नै देखेका थिए।
‘एक जना उनकै उमेरका बालकले परबाट ट्याक्टरले ठक्कर दिएको देखेका रहेछन्। ठक्कर दिएपछि त्यहीबेला चालकले बालकलाई उठाएर लगेका थिए,’ उनले भने, ‘बालकले अस्पतालमा वा परिवारलाई बुझाउन लगेको भन्ने सोचेछन्।’
सो बालककै मद्दतबाट आनन्दलाई ट्याक्टरले ठक्कर दिएको कुरा प्रहरीले गए राति नै पत्ता लगाइसकेका थिए।
तर, उनको शव भने फेला परिसकेको थिएन। तिनै बालकको भनाइ अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अहिले प्रहरीले चालकको खोजी गरिरहेको छ। प्रहरीले चालकको पहिचान खुलाएको छैन।