कैलालीको भजनी नगरपालिका-६ का बिष्णु गिरी अचेल प्राय: जंगलमा भेटिन्छन्। ५-७ जनाको टोली लिएर उनी बिहानदेखि साँझसम्म सिमलका ठूला रूखमा लागेका मौरीका घार खोज्छन्।
केही दिनअघि उनको टोली जोशीपुर गाउँपालिका-३ को हरियाली पार्वती सामुदायिक वनमा पुगेको थियो। टोली सदस्यले पराल, पगाहा, केराका सुकेका पात, हँसिया, बाल्टी, सलाईलगायत सामग्री बोकेका थिए।
मंसिर पहिलो साता नै बिष्णुले मह काट्न रूखमा चढ्ने, पगाहा (दाम्लो) तान्ने, मह निचोर्ने, आगो बाल्ने काम गर्ने मान्छे जम्मा पारेर टिम बनाएका थिए।
टिममा केही महिला पनि छन्।
जोशीपुरको जंगलमा पनि उनीहरूले सुरूमा अग्लो सिमलको रूखमा लागेको मौरीका घार हेरे। मौरी भेटाएपछि रूख चढ्ने योजना बनाए।
दुई जनाले रूखमूनि सुकेका पातपतिंगर जम्मा पारे। आगो बाले। भित्र सुकेका केराका पात हालेर बाहिरबाट हरिया पात हालेर धुँवा आउने राँको बनाए।
अरू दुई जनाले पगाहाको टुप्पोमा ढुंगा बाँधेर हाँगामा अल्झिने गरी फाले।
शितलप्रसाद गिरी त्यही पगाहामा झुन्डिए रूख चढे।
टिममा रूख चढ्ने काम शितलप्रसादकै हो। पगाहाको सहायताले उनी अग्ला-अग्ला रूख चढ्छन्। मौरीको टोकाइबाट बच्न घाँटीसम्म छोप्ने जाली भएको टोपी लगाउँछन्।
सिमलको रूखमा काँडा हुने भएकाले रूख नछोइकनै चढ्ने गरेको उनले बताए।
रूखमूनि बसेकाले आगोमा सुकेका पातपतिंगर हालेपछि धुँवा निस्क्यो। रूख चढेका शितलले डोरीमा झुण्ड्याएर धुवाँ निस्कन राँको ताने। घारनजिकै धुँवा निस्किएपछि मौरी उड्न थाले।
उनले बाल्टी र हँसिया पनि डोरीबाट ताने। मौरी उडेपछि देखिएको सेतो चाका र पहेँलो मह भएको भाग हसिँयाले काटेर बाल्टीमा हाले।
केही मह भुइँमा चुहियो।
डोरीमा झुण्डिएको बाल्टी मह बोकेर तल झारे।
तल बसेका महिला-पुरूष बाल्टीमा आएको चाकाबाट मह निचोर्न थाले। मौरीका बच्चा, कुट र मह अलग गर्दै अर्को भाडामा राखे। त्यसलाई फेरि एकपटक छानेर २० लिटरका भाडामा राख्न थाले।
यसरी नै विष्णुको टोलीले एउटै सिमलको रूखमा लागेका ८ घार मौरीको मह काटे।
हरियाली पार्वती सामुदायिक वनजस्तै वरपरका अरू वनबाट पनि मह काट्न बिष्णुले ठेक्का लिएका छन्। यस वनका तीन रूखको मह काट्न उनले वनबाट २० हजारमा ठेक्का लिएका हुन्।
‘मैले यसरी वनमौरीको मह काटेर बेच्न लागेको १६ वर्ष भयो,’ बिष्णुले सेतोपाटीसँग भने।
यो वर्ष उनले चार क्विन्टल जति मह बेचिसकेका छन्। बिष्णु हरेक वर्ष मंसिरदेखि माघसम्म वनमौरीको मह काढ्ने काम गर्छन्। मंसिर पहिलो सातादेखि नै वनमा कहाँ घार छन् भनेर पत्ता लगाउन सुरू गर्छन्। तोरी फुल्ने यो सिजनमा वनमौरीको मह काढ्नु उपयुक्त हुन्छ।
‘एकै रूखबाट पौने २ क्विन्टलसम्म मह निस्कन्छ,’ बिष्णुले भने।
सामूदायिक वनले आफ्नो समितिको बैठक गरेर वनमा मौरीको मह काढ्नेलाई ठेक्कामा दिने गरेका छन्।
विष्णुले हरेक सिजनमा २० क्विन्टलसम्म वनमौरीको मह निकाल्ने गरेको बताए।
बजारमा मौरीको महको माग बढी रहेकाले यो काममा लामो समयदेखि लागिपरेको उनले बताए।
‘मैले कहाँ बेचौंला भन्ने हुँदैन, मह निकालेको थाहा पाएपछि किन्नेहरू वनमै पुग्छन्,’ उनले भने,‘एक रूखबाट मह निकाल्दा काम गर्नेको ज्याला कटाएर २० हजारजति कमाइ हुन्छ,’ उनले भने।
विष्णुको टोलीमा काम गर्नेले दैनिक ५ सयका दरले ज्याला पाउँछन्।
वन मौरी वन समितिको पनि आम्दानीको स्रोत बनेको छ।
उनी सिजनमा २० भन्दा बढी रूखबाट मह निकाल्ने ठेक्का लिन्छन्। यसबाट वार्षिक ४ लाखसम्म आम्दानी हुने बिष्णुले बताए।
‘वनमौरीको मह काढ्ने काममा लगानी धेरै पर्दैन। रूख चढ्नेलाई जोखिम भने हुन्छ,’ उनले भने।
बस्ती नजिकका घारबाट मह काट्दा अरूलाई टोक्ने जोखिम पनि हुने गरेको उनले बताए।
‘सिजनल काम हो, असहज पनि छ तर यसले रोजगार पनि बनाएको छ,’ बिष्णुले भने।