सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विराटनगरका मिटरब्याजी ‘मन्टु’ भनिने सञ्जय रौनियारमाथि अनुसन्धान थालेको छ।
गैरकानुनी मिटरब्याज लगानीबाट सर्वसाधारण ठगेको पाइएपछि विभागले विराटनगर-९ घोघापुलका ४५ वर्षीय रौनियारको सम्पत्ति छानविन थालेको विभाग स्रोतले जनाएको छ।
विभागका एक अधिकारीका अनुसार रौनियारविरूद्ध तीन जना पीडितले उजुरी दिएका छन्। सो उजुरीपछि विभागले रौनियारविरूद्धका प्रमाण संकलन थालेको हो।
‘गैरकानुनी मिटरब्याज लगानीबाट ठूलो मात्रामा सम्पत्ति आर्जन गरेको र सर्वसाधारण ठगी गरेको उजुरीपछि अनुसन्धान थालेका छौं,’ ती अधिकारीले भने, ‘अहिले प्रमाण संकलन गर्ने काम भइरहेको छ।’
विभागका अनुसार उजुरीमा रौनियारले भन्सार चोरी पैठारी गरेको, सुपारी, मरिच, सुकुमेल र हातहतियारसमेतको गैरकानुनी कारोबार गरेकाले अनुसन्धान गर्न माग गरिएको छ।
रौनियारले मिटरब्याज लगानीबाट करोडौं अकुत सम्पत्ति आर्जन गरेकोबारे अनुसन्धान गर्न पीडितले उजुरीमा माग गरेका छन्।
पीडितमध्येका एक धनपालथान गाउँपालिका-१ का मञ्जर हुसेनले रौनियार विराटनगर तथा ग्रामीण क्षेत्रका सर्वसाधारणसँग मिटरब्याजमा पैसा लगानी गरी तीन गुणाबढी रकमको कागज गराउँदै आएको बताए।
‘धितो भनी जग्गाको राजीनामा पास गराएर लिने र रकम असुल गरिसकेपछि पनि कागज नच्याती, जग्गा फिर्ता नगरी उल्टै अदालतमा लेनदेन मुद्दा दायर गर्ने गरेका छन्,’ हुसेनले उजुरीमा भनेका छन्, ‘सर्वसाधारणलाई उठिबास गराउने ज्यादतीपूर्ण व्यवहार र गैरकानुनी रुपमा आम्दानी भएको सम्पत्ति जफत गरिपाऊँ।’
प्रहरीले मिटरब्याजी रौनियारलाई गत सोमबार मोरङ प्रहरीले पक्राउ गरेको थियो। प्रहरीको हिरासतमा रहेका रौनियारविरूद्ध आएका प्रमाण कमजोर रहेको भन्दै प्रहरीले अन्य कानुनी दाउपेच लगाएर कारबाही गर्न खोजिएको बताइरहेको छ।
‘ठगी मुद्दा आकर्षित गरेर कारबाही गर्ने हाम्रो तयारी छ, उनले आफूविरूद्धका प्रमाण सग्ला राखेका छैनन्,’ प्रहरी उपरीक्षक सन्तोष खड्काले भने।
हुसेनले चार लाख रुपैयाँ ऋणको ३६ लाख रुपैयाँ बुझाउँदा रौनियारले जग्गा फिर्ता नगरेको बताए। उनका बुवाआमाले आठ कठ्ठा जग्गा धितोमा राखेर रौनियारसँग चार लाख रूपैयाँ लिएका थिए।
बुवाको नामको पाँच र आमाको नामको तीन कठ्ठा गरी आठ कठ्ठा धितो राखेर रौनियारबाट चार लाख रुपैयाँ ऋण लिएका थिए।
यो सात वर्षअघि कुरा हो। यो ऋण तिर्न मञ्जर पाँच वर्ष कतार बसे। पाँच वर्षमा उनले ३६ लाख ब्याज तिरेपछि आमाको नाममा राखेको धितो जग्गा रौनियारले फिर्ता गरे। तर, बुवाको नाममा राखेको धितो फिर्ता दिन मानेनन्।
यो बीचमा मञ्जर कतारबाट आएर धेरैपटक रौनियारकहाँ धाए। तर, रौनियारले जग्गा फिर्ता दिएनन्।
‘लकडाउनको बेला कतारबाट फर्केर आएँ, गएर जग्गा फिर्ता गरिदिनुस् भन्दा अरू ६८ लाख तिरेपछि मात्र फर्काइदिन्छु भने,’ हुसेनले भने, ‘पैसा नदिने भन्दा उल्टै मुद्दा हालिदिए।’
सयौं मान्छेलाई ‘मिटर ब्याज’ लगानी गरी पाँचौं गुणा ब्याजअसुल्ने सर्लाहीका ‘मिटरब्याजी’ ‘परदेशी’ भनिने श्यामकृष्ण साहलाई प्रहरीले दुई वर्षअघि पक्राउ गरेको थियो।
सर्लाही मलंगवा नगरपालिका-१० घर भएका साहले ‘चक्रवर्ती’ ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ठगेको आरोप लागेको थियो।
साहले मिटर ब्याज लगानी गरेर सहीछाप गरी अदालतमा समेत मुद्दा दर्ता गरेर पीडितबाट नगद, सरसामान तथा सुनचाँदी जफत गर्दै आएका थिए।
रौनियारको शैली पनि परदेशीको जस्तै छ। जग्गा फिर्ता माग्न जाँदा उल्टै अदालतमा मुद्दा हालेर सर्वसाधारणबाट असुल गर्ने गरेका छन्।
रौनियारले दिएका सर्वसाधारणविरूद्ध मोरङ जिल्ला अदालतमा ५० वटा मुद्दा अझै विचाराधीन छन्। यसमा रौनियारले १० करोड रुपैयाँ सर्वसाधारणले तिर्नुपर्ने दाबी गरेका छन्।
रौनियारले २०७० सालयता तीन सय जनाविरूद्ध मुद्दा दायर गरिसकेका छन्। सोबापत ५० करोड रुपैयाँ आर्जन गरेको पीडितहरू बताउँछन्।
रौनियारसँग १० किलो सुन, ५० किलो चाँदी रहेको उजुरीकर्ताले उल्लेख गरेका छन्।
रौनियारले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती र भारतस्थित आफ्नो ससुरालीलाई प्रयोग गरेको विभागमा उजुरी छ।
विभागका अनुसार रौनियारका विराटनगर महानगरपालिकामा उनका तीन वटा घर अनुसन्धानको दायरामा छन्। उनीसँग ५० करोडभन्दा बढीका ५०० भन्दा बढी पछाडिको मिति राखेर तयार पारिएका कपाली तमसुक रहेको थाहा भएको छ।
रौनियारको नाममा ४० कित्तामा जग्गा देखिएको छ। उनले श्रीमती ज्योति रौनियारको नाममा पनि २० कित्तामा जग्गा राखेको देखिएको छ।
रौनियार सामान्य परिवारका व्यक्ति हुन्। उनी कुनै व्यापार-व्यवसाय तथा औपचारिक काममा छैनन्।
२०६८/६९ यता उनी भन्सार चोरी पैठारी र मिटरब्याजमा सक्रिय रहेको प्रहरीले जनाएको छ।
पीडितले उजुरी गर्दा रौनियारले अंशबण्डा हुँदा प्राप्त गरेको सम्पत्तिको कागजात पेश गरेका छन्।
यस्तै, उनीसँग मोरङ जिल्लाभरि राजीनामा कागजबाट प्राप्त ४० कित्ता जग्गाको विवरण, उनकी श्रीमती ज्योतिको नाममा देखिएका जग्गाहरूको विवरण बुझाएका छन्।
रौनियारको पुरानो घर धनपालथान गाउँपालिका-१ हो। विराटनगरमा बसेर उनले रतुवामाई, सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिकामा आफ्ना एजेन्ट खटाउने गरेका छन्। ती एजेन्ट गाउँ-गाउँ जाने र पैसाले अफ्ठेरोमा परेका मानिसहरूलाई ऋण दिने भनी रौनियारको सम्पर्कमा ल्याउने गर्छन्।
‘पैसाको खाँचो परेका र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई ऋण दिने, त्यसबापत जग्गा राजीनामा पास गर्ने र पैसा उठाएको उठाई गर्ने गरेका छन्,’ अर्का पीडित नुरुल मियाँले भने।
गरिबीको रेखामुनि रहेका सर्वसाधारण रौनियारको निशानामा छन्। विराटनगर-८ को बेलाहाको विपन्न बस्तीमा उनले आफ्ना एजेन्ट खटाउने गरेका थिए। केही एजेन्टहरूको खोजी भइरहेको भने पनि प्रहरीले पक्राउ गरेको छैन। रौनियारविरूद्ध हालसम्म १६ जनाले उजुरी दिएका छन्।
जग्गा फिर्ता माग्न जाँदा डिएसपी, एसपी र न्यायाधीशको धम्की
धनपालथान गाउँपालिका-७ का विनोदकुमार सिंहका अनुसार रौनियार र उनकी पत्नी ज्योतिले सुरूमा सामान्य ब्याजको कुरा गर्ने र पछि हिसाब मिटरब्याजमा परिवर्तन गराउँछन्।
रकम नदिएमा अदालतमा गएर मुद्दा दायर गर्ने गरेका छन्। सिंहले २०६९ चैत १ गते रौनियारबाट तीन लाख रुपैयाँ लिएका थिए। घर व्यवहार चलाउन भनेर उनले आमा फागुनी देवी सिंहको नाममा ऋण लिए।
ऋण लिँदा उनले मोरङ कदमाहा-७ को ९ कठ्ठा ७ धुर जग्गा धितो राखेका थिए।
रौनियारले उक्त ऋणको १२ लाख रुपैयाँ कपाली तमसुक बनाए। सिंहले सो बराबरको रकम २०७६ फागुनमै तिरिसके। तर, रौनियारले हालसम्म जग्गा फिर्ता दिएका छैनन्।
रौनियारले पुन: ३५ लाख रुपैयाँ साँवा-ब्याज तिरेपछि मात्र जग्गा फिर्ता दिने भनेका छन्।
‘हामीले पटक-पटक मिटर ब्याजको रकम तिरिसकेको हुँदा जग्गा फिर्ता पाऊँ भन्यौं, यही पीडाले मेरी आमाको मृत्युसमेत भयो,’ सिंहले इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दिँदै भनेका छन्, ’३५ लाख रुपैयाँ नदिए कागज नच्यात्ने भनी धम्की दिँदै आएका छन्।’
‘जग्गा फिर्ता नदिए उजुरी गर्छौं भन्दा रौनियारले उल्टै प्रहरीङ्का एसपी, डिएसपी र न्यायाधीश सबै मेरै हो, तँलाई घरमै सडाइदिन्छु भन्छन्,’ सिंहले निवेदनमा भनेका छन्।
यो पनि हेर्नुहोस्