एक वर्षअघि रामकृष्ण ठाकुर विराटनगर-९ घोघापुल चोकका एजाज शेख अहमदकहाँ पुगेका थिए।
विराटनगर-१५ रानीका ठाकुरलाई पन्ध्र लाख रुपैयाँ चाहिएको थियो। दुई लाख रुपैयाँ थपेर ब्याज साँवा-ब्याज गरी १७ लाख रुपैयाँ फिर्ता गर्ने सहमति दुबैबीच भएको थियो।
यो त मौखिक सहमति थियो। तर, लिखित सहमतिमा एजाजले ठाकुरलाई परिबन्धमा पारे। ठाकुरले त्यो कागज गर्दा भविष्यमा अफ्ठ्यारो पर्ने सामान्य हेक्का राखेनन्।
एजाजले हामी ‘साथीभाइ हो, १७ लाख तिरे हुन्छ’ भनी ४५ लाखको तमसुक गराए।
ठाकुर मेडिकल कलेजमा विद्यार्थी सम्पर्क गराउने काम गर्छन्। विराट र नोबेल मेडिकल कलेजको सम्पर्कमा विद्यार्थी पुर्याउने काम उनी गर्थे।
ऋण लिएपछि लकडाउन सुरू भयो। उनको काममा पनि यहीँ ‘ब्रेक’ लाग्यो।
तैपनि एक वर्षमा ठाकुरले एजाजलाई पैसा र सुन गरेर १७ लाख रुपैयाँ ऋण बुझाइसकेका थिए। तर, समयमा ऋण नतिरेको भन्दै एजाजले लकडाउनयता दबाब दिन थाले।
‘म त्यत्रो पैसा कसरी तिर्न सक्छु, सहमतिमा जे थियो त्यो तिरिसकेँ भनेर कतिपटक भनेँ-भनेँ तर उसले ६० लाख चाहिन्छ भनेर मलाई दबाब दिन थाल्यो,’ ठाकुरले भने, ‘त्यत्रो पैसा मैले कहाँबाट ल्याउन सक्थेँ र?’
सामान्य परिवारका ठाकुरले त्यत्रो पैसा रकम बुझाउन सक्ने अवस्था थिएन। कोरोनाका कारण काम ठप्प भइरहेकै अवस्थामा एजाजको दबाब तीब्र बन्दै गयो।
यही विषयमा छलफल गर्न भन्दै एजाजले मंसिर २५ ठाकुरलाई बोलाए। ठाकुर रोडशेष चोक आइपुग्दा एजाजले त्यहीँबाट अपहरण गरे। आँखामा पट्टी बाँधेर ठाकुरलाई बा१८च ८९९५ नम्बरको कारमा राखियो।
कारमा राखेर एजाजले ठाकुरलाई दिनभरि विराटनगर ‘फनफनी’ घुमाए। ६० लाख रुपैयाँ बुझाउन दबाब दिइरहे।
ठाकुर आफूले बोकेको दुई लाख रुपैयाँ गाडीभित्रै खोसे।
ठाकुरको खाता रहेको कामना विकास बैंकको चेकमा १ करोड दस लाख रुपैयाँका दुई वटा चेक बनाएर हस्ताक्षर गर्न लगाए। ठाकुरका अनुसार पुस ८ गते ५० लाख र माघ १० गते ६० लाखको चेक बनाएर सही गर्न लगाई एजाजले साँझ ६ बजे देवकोटा चोकमा छोडिदिए।
जबरजस्ती रुपमा असुल गर्नको लागि चेक बनाउँदा एजाजसहित चार जना थिए। यसरी एजाज समूहले ठाकुरलाई १५ लाख रुपैयाँको साँवा-ब्याज गरेर १ करोड १० लाखको चेकमा सही गराए।
‘उल्लेखित मितिमा बैंकमा पैसा नहाले ठिक नहुने, मार्छु, काट्छु, छप्काउँछु भनेपछि म न बाँच्नु न मर्नुजस्तो भएँ,’ ठाकुरले भने, ‘त्यसपछि ज्यानको बाजी थापेरै भए पनि प्रहरीमा उजुरी गर्न बाध्य भएँ।’
ठाकुरले ती दुई मितिमा पैसा तिर्न सक्दैनथे। पैसा तिर्न नसकेको भनी एजाज चेक बाउन्समा जान्थे। चेक बाउन्समा गए ठाकुर थप परिबन्धमा पर्ने थिए।
‘प्रहरीमा नगएको भए म सखाप हुन्थें, अरू केही विकल्प नदेखेपछि म प्रहरीमा गएँ,’ ठाकुरले भने, ‘चेक लिएर गएपछि पनि धम्की दिन थालेपछि प्रहरीमा नगई त भएन।’
उजुरी परेको पाँच दिनपछि एजाजलाई मोरङ प्रहरीले पुस ६ गते पक्राउ गरेको छ। एजाजको समूहले ठाकुरबाट लिएको उक्त चेक प्रहरीले फेला पारेको छैन।
उजुरी परेपछि एजाजका अन्य तीन साथी विराटनगर–९ का ३५ वर्षीय तनवीर खान, सोही ठाउँका ३५ वर्षीय युसुफ भनिने फकिरा शेख र ३२ वर्षीय सावन दास फरार छन्। उनीहरू एजाजमार्फत् मिटरब्याजमा लगाएको पैसा असुली गर्ने गरेका थिए।
प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। पक्राउ परेका मिटरब्याजी एजाजलाई आपराधिक लाभ लिएको मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए। एजाजले पीडित बनाएकाहरू प्रहरीको सम्पर्कमा आइरहेको र प्रमाण जुटाउने काम भइरहेको उनले बताए।
यसअघि प्रहरीले मिटरब्याजी विराटनगर–९ घोघापुल चौकका ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई पक्राउ गरेको थियो। उनी अहिले प्रहरी हिरासतमा छन्।
मन्टुले मिटरब्याजबाट ५० करोडभन्दा बढी असुली गरेको खुलिसकेको छ। मन्टुबाट पीडित भएका विराटनगर, मोरङको धनपालथान, जहदा गाउँपालिका, रङ्गेली र रतुवामाई नगरपालिकाका १६ जनाले प्रहरीमा जाहेरी दिएका छन्। मन्टु पक्राउ परेपछि एजाज पक्राउ परेका थिए। मिटरब्याज धन्दाको रकम असुल्न एजाजले मन्टुलाई सहयोग गर्दै आएको बुझिएको छ।
पक्राउ परेका एजाज विराटनगरमा लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ। पछिल्लो समय उनी आफैं मिटरब्याज लगानीमा सक्रिय छन्।
उनी मिटरब्याजको लगानी ‘कमिशन’ लिएर उठाउने कार्यमा सक्रिय छन्। उनी आठ वर्षअघिको ज्यान मार्ने उद्योगमा अदालतले सजाय सुनाएका व्यक्ति हुन्। उनलाई उच्च अदालत विराटनगरले ६ महिना कैद सजाय सुनाएको छ। सो फैसला भए पनि उनी पक्राउ परेका थिएनन्।
एजाज र उनका दाजु आजम परवेजले तरबार प्रहार गरी तीन जनालाई घाइते बनाएका थिए। विराटनगर–१२ का जाकिर हुसैन, साकिर हुसैन र साजिद हुसैनलाई घरैमा २०६९ साल भदौ ३ गते दिउँसो ३ बजे ज्यान लिने उद्देश्यले तरबार प्रहार गरिएको थियो।