कोरोना भाइरसको महामारी सेलाउन नपाउँदै अझ कडा प्रकारको कोरोना भाइरस विभिन्न मुलुकहरूमा देखा परेको विभिन्न अध्ययनहरूले देखाएको छ।
सुरूमा बेलायतमा देखिएको भनिएको उक्त नयाँ प्रकारको कोरोना अहिले फ्रान्स, स्पेन, क्यानडा र जापानमा पनि देखा परेको बताइएको छ।
विभिन्न अध्ययनअनुसार यो प्रजाति पहिलेको भाइरसभन्दा ५६ प्रतिशत बढी संक्रामक छ। अर्थात् यो नयाँ प्रजातिको कोरोना पहिलेको भन्दा छिटो शरीरको कोषिकाभित्र प्रवेश गर्नसक्छ।
नयाँ प्रजातिको कोरोना फेला पर्न थालेपछि लन्डन र इङ्ल्यान्डको दक्षिणी भेगमा लकडाउन गरिएको छ।
नेपालमा पनि नयाँ प्रजातिको कोरोना भित्रिन सक्ने जोखिम औंल्याइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १ गतेदेखि ७ गतेसम्म बेलायतबाट नेपाल आउने सबैलाई अनिवार्य 'होटल क्वारेन्टिन' मा बस्न अपिल गरेको थियो। र क्वारेन्टिन बसाइको ७ देखि १० दिनको बीचमा सरकारी प्रयोगशालामा परीक्षण गराउन भनिएको थियो।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि नेपालमा नयाँ प्रजातिको कोरोना भित्रिने जोखिम रहेको बताउँछन्।
यो प्रजाति अझ कडा भएकाले नेपाल प्रवेश गरे संक्रमण र मृत्यु नै बढी हुने उनको ठहर छ।
'बढी संक्रमणशील भयो भने मृत्युदर उति नै भए पनि धेरै मानिसको मृत्यु हुनसक्छ,' उनले भने।
पछिल्लो समय नेपालमा संक्रमण र मृत्यु संख्या नै घटेको छ।
शनिबारमात्र जम्मा ५ सय जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो भने ३ जनाको मृत्यु भएको थियो। यसरी संक्रमण र मृत्यु घटिरहेका बेला नयाँ प्रजातिको भाइरस अन्य देशमा देखा पर्नुले नेपालमा पनि चिन्ता थपेको छ।
तर अहिलेसम्म नेपालमा कोरोनाको नयाँ प्रजाति भित्रिएको पुष्टि भइसकेको छैन। यो पत्ता लगाउनलाई भाइरसको 'जिन सिक्वेन्सिन' गर्नुपर्छ जुन प्रविधि नेपालमा अहिले उपलब्ध छैन।
यो प्रविधिबाट भाइरसमा के-के कुरा फरक छ भनेर पत्ता लाग्छ। एक दुई वटा प्रयोगशालाले जिन सिक्वेन्सिङ गर्न सक्ने दाबी गरे पनि अहिलेसम्म त्यसमा कुनै काम भएको छैन।
युरोपमा विस्तारै फैलिएको यो भाइरस नेपाल प्रवेश गरे नियन्त्रण गर्न पहिलेभन्दा कठिनाइ हुने डा. सुवेदी बताउँछन्।
पहिले फैलिएको महामारी नै नसेलाएको भन्दै अब नयाँ लहर आए नियन्त्रण गर्न अझ गाह्रो हुने उनको दाबी छ।
'हाम्रोमा महामारी घटेको छ/छैन त्यो थाहा छैन तर बढेको जस्तो पनि देखिँदैन। सायद कति क्षेत्रमा मानिसहरू संक्रमित भइसकेकाले पनि हुनसक्छ,' उनले भने, 'तर नयाँ प्रजातिको कोरोना आयो भने फेरि धेरै मानिस संक्रमित हुनुपर्छ।'
नयाँ प्रजातिको भाइरस भित्रिए महामारी नियन्त्रण गर्न नसक्ने स्थितिमा पुग्ने औंल्याउँदै अहिले नै सरकारले नियन्त्रणका लागि आवश्यक कदम लिनुपुर्ने उनको जोड छ।
त्यसका लागि पहिले जुन रणनीति अपनाएको हो त्यसलाई नै अझ प्रभावकारी र व्यापक पार्नुपर्ने उनको सुझाव छ।
उनले जिन सिक्वेन्सिङ प्रविधि नेपालमा नरहेको भन्दै नेपालमा यो भाइरस रहेको/नरहेको थाहा नहुने भन्दै पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएकाहरू कडाइका साथ क्वारेन्टिन वा आइसोलेटन गर्नुपर्ने उनी बताउँछन्।
'परीक्षण बढाउने, ट्रेसिङ गर्ने कुरालाई व्यापक बनाउनुपर्छ जुन अहिले भएको देखिँदैन,' डा. सुवेदीले भने।
साथै, बेलायतसँगै अन्य देशबाट आउने मानिसलाई पनि कडाइका साथ क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ।
सरकारले भने तत्काल बेलायतबाट आउने मानिसलाई मात्र क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ।
डा. सुवेदी भन्छन्, 'यो भाइरसबाट कुन देशका मानिस अछुतो छन् भनेर स्पष्ट छैन त्यसैले सबै देशबाट आउनेलाई निगरानी गर्नुपर्छ।'
तर यो नयाँ प्रजातिको कोरोनाले पहिले संक्रमण भएको व्यक्तिलाई पुनः संक्रमण गर्ने सम्भावना भने कम रहेको डा. सुवेदी बताउँछन्।
'यसबारे अध्ययनहरूले अहिले नै बताउन सकेको छैन तर पुरानो भाइरसहरूको अध्ययनबाट तिनीहरूको व्यवहार हेर्दा थोरै जेनेटी परिवर्तनले नै फेरि नयाँ संक्रमण हुन्छ भन्ने लाग्दैन। त्यसैले नयाँ उपप्रजातिबाट पहिले संक्रमित भएकालाई पुनः संक्रमण हुने सम्भावना कम हुन्छ।'