पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण घट्दै गएको देखिएको छ।
कुनैबेला एकैदिन ५ हजार जनामा संक्रमण देखिएकोमा अहिले दैनिक औसत ६ सय जनामा संक्रमण देखिएको छ।
पुस १ गतेदेखि १३ गतेसम्मको तथ्यांकमा ७ हजार ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो भनेको दैनिक औसत ६ सय जना हो।
कतिपयले सरकारले परीक्षण नै कम गरेकाले संक्रमितको संख्या कमी देखिएको बताएका छन्। यसमा केही सत्यता पनि छ किनभने सरकारले कन्ट्याक्ट ट्रेसिङको कार्यलाई स्थगन गरेकै धेरै भइसकेको छ।
जसका कारण समुदायमा भएका संक्रमितहरूलाई पहिचान गर्न सकिएको छैन। कुनैबेला सरकारले एकैदिन १९ हजार जनासम्मको परीक्षण गरेको थियो। पुस लागेयता दैनिक ५ हजार जनाका दरले परीक्षण गर्दै आएको छ। पुस १ गतेदेखि १३ गतेसम्म जम्मा ६६ हजार ९६ जनाको परीक्षण भएको छ। सरकारले परीक्षण घटाए पनि संक्रमण दरमा देखिएको क्रमिक सुधारले संक्रमण घटेको पुष्टि गर्छ।
गत कात्तिकमा संक्रमण दर २३ प्रतिशत रहेकोमा मंसिरमा घटेर १७ प्रतिशतमा झरेको छ। पुसयता पनि सोमबारसम्मको तथ्यांक हेर्दा संक्रमण दर ११.९४ प्रतिशत छ। मन्त्रालयले पनि संक्रमण दर घटेको ठहर गर्दै २७ वटा निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी अस्पतालमै बेड खाली भएकाले निजी अस्पतालहरूलाई पछि आवश्यक परे फेरि सहयोग लिने गरी हाललाई सूचीबाट हटाइएको जानकारी दिए।
पछिल्लो समय घटेको मृत्युदरले पनि कोरोना संक्रमण घटेको देखाउँछ। कुनैबेला एकैदिन २६ जनासम्म कोरोना संक्रमितको मृत्यु हुन्थ्यो। अहिले मृतक संख्यामै कमी आएको छ। सोमबार ७ जनाको मृत्यु भएको छ। पुस १ गतेदेखि १३ गतेसम्म कोरोनाबाट ८९ जनाले ज्यान गुमाएका छन्।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे मृतकको वास्तविक संख्या अहिलेभन्दा बढी रहेको दाबी गर्छन्। सरकारको परीक्षण नीतिका कारण मृतकको संख्या कम देखिएको उनको ठहर छ।
'पहिले जे कारणले मृत्यु भए पनि स्वाब परीक्षण गरिन्थ्यो र मृतकको संख्या अलिक बढी देखिन्थ्यो। तर अहिले 'होम आइसोलेसन' र अस्पतालमा अन्य कारणले मृत्यु भए पनि स्वाब परीक्षण गरिँदैन,' उनले भने, 'अहिले मृत्यु भइरहेको भनेको सुरूमा कोभिड पुष्टि भएर अस्पताल भर्ना भएपछि अस्पताल भर्ना भएर मृत्यु भएको हो। त्यसैले मृत्यु संख्या अलिक बढी छ भन्ने हो।'
सरकारले यसअघि अस्पतालमा मृत्यु भएका सबैको कोरोना परीक्षण गर्ने गरेको थियो। साथै घरमा 'होम आइसोलेसन' मा मृत्यु भएका व्यक्तिको पनि कोरोना परीक्षण गरेपछि मात्र शवको दाहसंस्कार गर्ने भनेको थियो। तर पछि मृतकको परीक्षणतिर लाग्दा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै सरकारले मृतकको परिवारलाई आवश्यक सतर्कता अपनाएर आफैं शव व्यवस्थापन गर्न भन्यो।
अस्पतालमा गम्भीर संक्रमितको चाप कमी भएकाले पनि मृतक संख्यामा कमी आएको देखाउँछ। स्वास्थ्य मन्त्रालयले अहिले सरकारी अस्पतालहरूमै आइसियू र भेन्टिलेटर खाली रहेको जनाएको छ।
अर्को कुरा संक्रमण व्यापक भएको भए त्यसले जोखिम समूहलाई आक्रमण गर्ने र धेरै मानिसहरूलाई अस्पताल भर्ना गर्नुपर्ने स्थिति आउने थियो। जसले गर्दा मृत्यु हुनेको संख्या स्वत: वृद्धि हुने थियो। तर अहिले अस्पतालहरूमा पहिलेजस्तो आइसियू र भेन्टिलेटरमा गम्भीर संक्रमितको चाप छैन। डेढ महिनाअघि पनि सरकारलाई गम्भीर संक्रमितको उपचारका लागि आइसियू र भेन्टिलेटर व्यवस्थापन गर्न सकस थियो।
अहिले भने त्यो स्थितिमा निकै सुधार आएको छ। पहिलेजस्तो अस्पतालहरूमा कोरोनाका गम्भीर संक्रमितको चाप छैन। वीर अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युतराज कार्कीले आइसियू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्यामा निकै कमी आएको जानकारी दिए।
उनले अहिले आइसियूमा ५ जना संक्रमितलाई भर्ना गरिएको र एक जनालाई भेन्टिलेटरको सहायता दिइएको बताए। डा. कार्कीले पुसयता गम्भीर संक्रमित भर्ना हुनेको संख्यामा कमी आएको बताए।
'पुस लागेदेखि गम्भीर संक्रमित भर्ना हुने संख्या घटेको छ। अहिले दैनिक औसत ५ देखि ६ जना आइसियूमा हुनुहुन्छ,' उनले भने।
कात्तिक महिनामा वीर अस्पतालमा मात्र दैनिक ८० देखि ९० जना संक्रमित भर्ना हुन्थे तर अहिले त्यो संख्या २४ जना रहेको डा. कार्कीले बताए। संक्रमित भर्ना हुने संख्यामै कमी आएपछि अस्पतालले कोभिडको बेड संख्या नै घटाएको छ। यसअघि अस्पतालले बेड विस्तार गरेर १ सय ४० पुर्याएकोमा अहिले भने ५० मा झारेको डा. कार्की बताउँछन्।
'संक्रमितको चाप घटेपछि 'नन कोभिड' बिरामीको उपचारका लागि कोभिडको बेड घटाएका हौं। पछि आवश्यक परे तत्काल कोभिडका लागि प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गरेका छौं,' उनले भने।
अहिले देशभर नै आइसियू र भेन्टिलेटरमा उपचाररत् संक्रमितको संख्यामा कमी आएको छ। जसले गर्दा कोभिडबाट मृत्यु हुने संख्यामा पनि कमी आएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत आइतबारको प्रेस ब्रिफिङमा देशभर आइसियूमा उपचाररत् संक्रमितको संख्या २ सय ३५ र भेन्टिलेटर उपचारत संक्रमितको संख्या ५३ रहेको जानकारी दिए।
जबकी गत कात्तिक २६ गतेको तथ्यांकअनुसार देशभर आइसियूमा उपचाररत संक्रमितको संख्या ३ सय ८२ र भेन्टिलेटरमा उपचाररत् संक्रमितको संख्या ९५ जना थियो। यसले कात्तिक महिनायता भने विस्तारै गम्भीर संक्रमितको संख्यामा कमी आएको देखिन्छ।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे पनि अहिलेको अवस्था हेर्दा नेपालमा कोरोना संक्रमण बिस्तारै घट्दै गएको बुझ्नु पर्ने बताउँछन्।
'महामारीको एउटा चक्र हुन्छ। सुरू भएर एउटा उच्च विन्दुमा पुगेपछि फेरि विस्तारै घट्दै जान्छ। अहिलेको अवस्था हेर्दा संक्रमण विस्तारै घट्दै गएको देखिन्छ,' उनले भने, 'अहिले अस्पतालहरूको आइसियू र भेन्टिलेटरमा पहिलेजस्तो चाप छैन। यसले नेपालमा कोरोना महामारी घट्दो क्रममा छ भन्ने देखाउँछ।'
छिमेकी भारतमा पनि कुनै बेला दैनिक ८० हजार बढी व्यक्तिमा संक्रमण देखिएकोमा गत शनिबार १८ हजार जनामा संक्रमण देखियो। जुन गत छ महिनायताकै न्यून दैनिक संक्रमण हो।
जनस्वास्थ्यविद् पाण्डे भन्छन्, 'अलिक अघि नेपालमा पनि वीरगन्ज, नेपालगन्ज र विराटनगरजस्ता ठाउँहरूमा महामारी फैलिएको थियो। तर अहिले त्यहाँ परीक्षण गर्दा पनि धेरै संक्रमण देखिएको छेन। अस्पताल आउने मानिस पनि घटेका छन्। आइसियू पनि खाली छ। यसको मतलब के हो भने जति मानिसलाई संक्रमण हुनुपर्ने हो त्यो भइसक्यो र मर्ने पनि मरिसके। संक्रमण भइसकेकामा इम्युनिटी आइसक्यो। त्यसले गर्दा पनि अहिले संक्रमण व्यापक फैलिएको छैन।'
संक्रमण घटिरहेकै बेला जनस्वास्थ्य मापदण्ड अझ कडाइका साथ पालना गरे संक्रमणबाट बाहिर निस्किन सकिने डा. पाण्डेको सुझाव छ। सरकारबाटै जनस्वास्थ्यको मापदण्ड पालना गर्ने कुरा नभएको र मानिसहरू पनि इच्छुक नभएकाले संक्रमणको दोस्रो लहर आउनसक्छ।
पाण्डेका बुझाइमा नेपालमा संक्रमणको दोस्रो लहर आउन सक्ने सम्भावनाको पहिलो कारण जनस्वास्थ्य मापदण्ड पालना नगर्नु हो।
अहिले पनि बाहिर निस्कँदा हामी महामारीको अवस्थामा छैनौं भन्ने अनुभूति हुने उल्लेख गर्दै डा. पाण्डेले भने, 'अहिले प्रमुख राजनीतिक दलहरूमा आएको विवादले लामो बैठक, जुलुसहरू भइरहेको छ। नाइट क्लब, फिल्म हलहरू खुलेका छन्। त्यसैले झन् जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने देखिन्छ। एउटा मास्कमात्र सही तरिकाले लगाइयो भनेमात्र पनि संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ।'
दोस्रो लहर आउनसक्ने अर्को जोखिम बेलायतमा देखिएको कोरोनाको नयाँ प्रजातिलाई डा. पाण्डे औल्याउँछन्। पहिलेकोभन्दा
निकै कडा स्वभाव रहेको उक्त भाइरस ७० प्रतिशत बढी संक्रामक रहेको अध्ययनहरूले देखाएका छन्।
सुरूमा उक्त भाइरस बेलायतमा देखिए पनि अहिले विभिन्न मुलुकमा फैलिएको छ। डा. पाण्डेले उक्त प्रजातिको कोरोना नेपाल प्रवेश गरे यसले धेरै मानिसलाई संक्रमित बनाउने, मृत्यु बढ्ने र त्यही संक्रमणको दोस्रो लहर हुने बताए।
सरकारले बेलायतमा कोरोनाको नयाँ प्रजाति फेला परेपछि नेपालमा त्यसको रोकथामका लागि काम अघि बढाएको छ। सोही अनुसार स्वास्थ्य मन्त्रालयले पुस १ देखि ७ गतेभित्र बेलायतबाट आएका सबै यात्रुलाई अनिवार्य १० दिन 'होटल क्वारेन्टिन' मा बस्न अपिल गरेको थियो।
उक्त अवधिमा नजिकको सरकारी प्रयोगशालामा परीक्षण गराउनसमेत अनुरोध गरेको थियो। अहिलेसम्म परीक्षण गराएकामध्ये पाँच जनामा भने संक्रमण पुष्टि भएको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले परीक्षण गरिएकामध्ये पाँच जनालाई संक्रमण पुष्टि भए पनि अहिले उक्त संक्रमण पुरानो हो वा नयाँ हो भनेर यकिन नहुने बताए। उनले त्यसका लागि 'जिन सिक्वेन्सिङ' गर्नुपर्ने बताए।
मन्त्रालयले बेलायतबाट आएका यात्रुमा कोरोना पोजेटिभ देखिए नयाँ प्रजातिको कोरोना हो/होइन भनेर यकिन गर्न 'जिन सिक्वेन्सिङ' गरिने जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले 'जिन सिक्वेन्सिङ' गर्नलाई दुई वटा विकल्प रहेको बताए।
'हामी यसका लागि नेपालमै रहेको प्रयोगशालामा पनि गर्नसक्छौं वा विश्व स्वास्थ्य संगठनसँग सहकार्यमा रहेका विदेशको प्रयोगशालामा पनि पठाउन सकिन्छ,' उनले भने।
डा. अधिकारीले बेलायतसँगै नयाँ प्रजातिको कोरोना अन्य देशमा पनि फैलिरहेको भन्दै अब जुनसुकै देशबाट आउने यात्रुको परीक्षण गरिने र पोजेटिभ आएकाहरूको थप एकिन गर्न जिन सिक्वेन्सिङ गरिने बताए।
अब नयाँ प्रजातिको कोरोना नेपाल भित्रिने/नभित्रिने कुराले पनि आगामी संक्रमणको स्थिति तय गर्नेछ।