कैलालीको टीकापुरका ३२ वर्षीया कल्पेश कुँवर किशोर अवस्थामा हुने बिरूवाको चिल्लो पातझैं थिए।
जागिरे बुवाका छोरा भएकाले पुल्पुलिएर हुर्किएका। पहाडमा हुर्किए पनि उनी १५ वर्षको हुँदा ९ कक्षा पढ्न टीकापुर आइपुगे।
वीरेन्द्र विद्या मन्दिरमा भर्ना भए। उनी खेलकुदमा अब्बल निस्किए।
‘म पढाइमा भन्दा पनि खेलकुदमा अगाडि थिएँ,’ उनले भने।
विभिन्न खेल गतिविधिमा पदक जिते।
स्कुलले समेत उनलाई कतिसम्म गर्थ्यो भने कतै उनले पुरस्कार जितेको थाहा पाए बिहानी प्रार्थनाको समयमा सबैका अगाडि पुरस्कार दिइन्थ्यो।
अब उनी सहरबाट बाहिर पनि खेल्न जान थाले। त्यहीँबाट सुरू भयो उनको ओरालो गति।
सहरबाट टाढा जाँदा रमाइलो गर्न भन्दै बियर खान थाले, बियर खाँदाखाँदै चुरोट, चुरोटसँग गाँजा…।
‘गेम खेल्न होम टाउनभन्दा बाहिर जान थालेपछि रमाइलोका लागि भनेर साथीहरूसँग बियर खान थाले। पछि त्यही मेरो जीवनमा नशाको धब्बा बन्यो,’ उनले भने।
हुन त बियर खाँदैमा नशामा फसिएला भन्ने सोचेका थिएनन्। साथीहरूले रमाइलो बनाए उनी रंगिए।
उनलाई त्यसबेला कुलतमा कसरी परिन्छ थाहा थिएन। लागुपदार्थ दुर्व्यसनीको सिकार भइहाले त्यसको असर केसम्म हुन्छ भन्ने भेउ पनि पाएनन्।
‘त्यो बेला त के थाहा यसले लत लाग्छ भन्ने, अगाडिका दाइहरूले खाएको देखेर सुरू गरियो,’ उनले भने।
बियर सुरू गरेको केही समयपछि उनको कक्षाका ड्रग्स खाने साथीहरूसँग भेट हुन थाल्यो।
‘स्कुलमा फर्स्ट बेन्चमा बस्ने म पछि लाष्ट बेन्चमा बस्ने भएँ,’ उनले भने।
उनले चियामा घोलेर खाने औषधी अरू साथीसँग मिलेर खान थाले। त्यसैबाट नशाको बिस्तारै लत पस्न थालेको उनले सम्झिए।
‘त्यसपछि लगातार चुरोट, गाँजामा पनि त्यो औषधी मिसाएर खाना थालियो,’ उनले सुनाए।
उनलाई त्यो उमेरमा यो गलत हो, आफू नराम्रो गरिरहेको छु भन्ने लाग्दैन थियो। रमाइलो र अरूको देखासिकीले उनी झन् बढी नशा तान्न थाले।
‘अगाडिका दाइहरूको सिकेर अनि हिरोगिरी देखाउन सेवन गरियो,’ उनले भने।
बुवाको शिक्षकको जागिर हुनाले आर्थिक अभाव कहिल्यै सामना गर्नु परेको थिएन। उनले त्यसैको फाइदा उठाउन थाले।
नशाले उनको खेलकुदमा बनाएको पहिचान बिस्तारै हराउँदै गयो।
‘यसपछि म स्कुलमा ब्याडब्वाइको नामले चिनिन थालें,’ उनले भने।
कक्षा ९ सकिने बेला नशा सेवन गरेर स्कुलमा गएका उनले झगडा गरेका कारण निश्कासित हुनुपर्यो।
‘स्कुलमा साइन्सको प्राक्टिकलकै दिन नशा खाएर झगडा गरेपछि रेस्ट्रिक्टेड भएँ’ उनले भने।
उनीसँगै स्कुलबाट निकालिएका केहीले पढाइ नै छोडे। उनी चाहिँ फेरि अर्को स्कुलमा कक्षा १० मा भर्ना भए।
अब राम्रोसँग पढ्नु पर्छ भन्ने सोच नआएको होइन तर नशामा फसिसकेका उनले राम्रो गर्न सकेनन्।
‘त्यही स्कुलमा एक केटीसँग मेरो लभ पनि पर्यो। लभ परिसकेपछि फिल्मको हिरोले गरेको जस्तो एक्टिङ गर्न मन लाग्थ्यो। चुरोट खान्थें । नशा खाने बित्तिकै त्यो केटीको घर जान्थें,’ उनले भने ।
उनी एसएलसीमा फेल भए।
त्यसपछि उनी झन् बढी बिग्रिए। दिनभरि उनी कहिले कता, कहिले कता गर्दै नशा लिन्थे।
अर्को वर्ष भने उनी एसएलसी पास भए।
‘बिग्रँदै जान थालेको घरमा थाहा भएपछि आमाबुवाले सुध्रेला कि भनेर काठमाडौं पठाए,’ उनले भने।
त्यहाँ मामासँगै बसेर पढ्दा नशा खान नपाएपछि उनले पढाइ एक्लै बस्छु भनेर डेरा सरे। एक्लै बस्न थालेपछि उनलाई झन् ढुक्क भयो। घरका मान्छेको डर नभएपछि उनी रातदिन नशामै मस्त हुन्थे।
उनी फेरि फेल भए। दुई वर्षमा टीकापुर फर्के।
‘म नशामा डुबेको बेला मेरो घर पूरा तहस–नहस भएको थियो। मेरो चिन्ताले बाबा पनि डिप्रेसनमा जानुभयो,’ उनले भने।
उनी दुर्व्यसनीको सिकार बन्दा कयौं पटक जेल परे। कहिले सडकको छेउ त कहिले जंगलमा उनी भेटिन्थे।
‘समाजमा पनि मेरो इज्जत थिएन। म काम नलाग्ने भैसकेको थिएँ, द्वन्द्वकालमा १४ दिनसम्म तत्कालीन माओवादीले सहर गुण्डागर्दी गरेको, नशा खाएको आरोप लगाएर अपहरण गरे,’ उनले भने ।
त्यो शिविरमा उनी नशा नखाइ बसे। फर्केपछि फेरि उस्तै।
‘समाजमा आफन्त इष्टमित्र म देख्नेबित्तिकै भाग्थे। म सोच्थें मेरो डरले भाग्छन् भनेर तर त्यो रहेनछ। उनीहरू मजस्तो बिग्रेको मान्छेसँग किन मुख लाग्ने भनेर भाग्ने रहेछन्,’ उनले भने,‘त्योबेला मलाई यसो नगर भन्ने आँट कसैले गरेनन्। तिमी गलत गर्दैछौ है भनेर कसैले भन्न सकेनन्।’
परिवारको अपेक्षा उस्तै थियो। घरपरिवारले अझै पनि सुध्रिन्छ कि भनेर सन् २०१२ मा उनलाई पैसा खर्च गरेरै दुबई पठाए।
त्यो ११ महिना उनी झन् नशा सेवन गर्न थाले। त्यहाँबाट फर्केपछि उनी भारत गए।
‘भारतमा झन् जताततै हरेक किसिमको नशा पाइने, त्यहाँ त म २४ सै घण्टा नशा खान्थें,’ उनले भने।
भन्छन् नि रागबाट बैराग पलाउँछ। उनलाई पनि नशादेखि बैराग लाग्न थाल्यो।
'अब चाहिँ अति भयो है,' भन्ने सोच आउन थाल्यो।
‘अब मैले जसरी पनि सुध्रिनु पर्छ जस्तो लाग्यो। नशाले आमाबुवा घरपरिवार माया बिर्साइदिएको थियो,' उनले भने, 'म भित्रको एक्लोपन दिक्क देखेरसमेत म दिक्क लाग्दो भएको थिएँ।'
मनले चाह्यो भने जे पनि गर्न सकिने रहेछ भन्ने उनलाई अहिले लाग्छ।
‘मेरो जीवन बर्बाद भएको थियो। प्रहरी चौकी पुग्दा–पुग्दा म थाकिसकेको थिएँ। आफूलाई आफैं बोझ थिएँ। जीवनमा बिग्रनुपर्ने बिग्रिसकेको थियो। जाने कुनै ठाउँ थिएन अनि म भारतबाट नेपाल फर्कें,’ उनले भने।
नशाकै सुरमा फर्केका उनीले परिवारबारे थाहा पाउने कुरै भएन। घरमा नै पनि उनी तीन दिनपछि पुगेका थिए।
घर पुगेपछि थाहा पाए कि मामाघरका हजुरबुवा स्वर्गीय भएछन्।
‘मलाई मामाघरको हजुरबुवाले कैयौंपटक प्रहरीबाट छुटाउनुभएको थियो, खुब माया गर्नुहुन्थ्यो, उहाँकै मृत्युको खबर मलाई थिएन,’ उनले भने।
त्यतिखेर उनी नशाबाट उत्रेका थिए। यसरी उत्रेका रहेछन् त्यहीँनिरबाट घर नगइकन पुनर्स्थापना केन्द्रमा पुगे।
‘मैले जीवनमा जस्तोसुकै समस्या आओस् अब म नशाको साहरा नलिने सोचें’ उनले भने।
एक वर्षमा पुनर्स्थापना केन्द्रमा बसेपछि सुधार भएर निस्के।
‘पुनर्स्थापना केन्द्रमा बस्दा सुरूमा १५ दिन जति धेरै गाह्रो भए पनि सहेर बसें। अन्तत मैले नशा छोडे । आज नशा छोडेको ८ वर्ष पूरा भयो’ उनले खुसी हुँदै भने।
नशामा डुबेको ११ वर्षमा महत्वपूर्ण कुरा गुमाएको उनले बल्ल होस पाए।
‘सुरूमा त पढाइ बिगारें, पढेर केही गर्ने सपना अधुरो रह्यो। बाबाको इच्छा पूरा गर्न सकिनँ, आमाबुवाको मन दुखाएँ,' उनले भने, खेलकुदमा देखेको भविश्य बिगारें, इज्जत गुमाएँ।’
अब त उनी नशारहित भएर बाँच्न थालेका छन्।
‘गुमाएका कुरा फिर्ता नआए पनि मैले अहिले धेरै कुरा फेरि पाएको छु,’ उनले भने।
सुधारिएपछि घरमा आफूले पुर्याएको नोक्सानीको ज्ञान उनलाई भयो। रोजगारीका लागि विदेश जान मन लाग्यो। त्यसपछि उनी साउदी अरेबिया गए।
केही पैसा कमाउन सके। फुर्सदमा फेसबुक चलाउँथे। फेसबुकमा एक युवतीसँग उनको चिनजान भयो।
उनी विदेशबाट फर्केपछि ती युवतीसँग बिहेको कुरा चल्यो। दुर्व्यसनीमा फसेको केटालाई छोरी नदिने बताए।
युवती कल्पेशलाई धेरै पटक थुनामा लगेका प्रहरी कर्मचारीकी छोरी थिइन्।
‘उनले मेरो बाबालाई चिन्नुहुन्छ भनेर फोटो पठाएपछि नशामा हुँदा तीनचोटि चौकीमा थुनेका पुलिस अफिसर थिए,’ कल्पेशले हाँस्दै भने,'कसरी मान्थे बुवाआमा?'
उनले आफ्ना बारेमा सबै भनेका थिए। ती युवतीले पनि साथ दिन तयार भइन्।
‘हामीले बिहे गर्यौं,’ उनले भने।
पढ्ने उमेरदेखि नै दुर्व्यसनीको सिकार बनेका कल्पेश अहिले आफू बसेकै पुनर्स्थापना केन्द्रमा जागिर गर्छन्।
‘हिजो नशा खान पैसाका लागि साथीभाइ, आफन्त धेरैसँग ऋण माग्नु पर्थ्यो तर अहिले आफैं कामएर परिवार पाल्न सक्छु,’ उनले भने।
अहिले नयाँ जीवन पाउँदा उनीमात्र होइन परिवार पनि धेरै खुसी छन्।
‘सबभन्दा बढी त ससूरालीपट्टि पनि प्यारो ज्वाइँ बन्न सकेको छु,’ उनले भने।
उनले आफैंले दुई ठाउँमा यस्तै दुर्व्यसनीमा परेकाहरूलाई छुटकारा दिलाउने पुनर्स्थापना केन्द्र खोलेका छन्।
‘अब पछाडि फर्केर हेर्न चाहन्नँ। हिजो समाजमा आफन्तबाट गाली पाउँथे, म देख्दा भाग्नेहरू आज मलाई उदाहरण दिन्छन् ,’ उनले भने।
उनी कसैलाई पनि नशाका लत नपरोस् भन्ने चाहन्छन्।
कैलालीमा पछिल्लो समय दुर्व्यसनीको सिकार हुने युवा बढेकोमा उनलाई निकै पीर छ। उनले काम गरिरहेका तीन पुनर्स्थापना गृहमा ७५ जना अहिले पनि उपचाररत् छन्।
‘विद्यालय पढ्ने उमेरका थुप्रै बालबालिका यसको जोखिममा छन्,’ उनले भने।
सामाजिक सञ्जालबाट यससम्बन्धि कुरा हेरेर पनि धेरै केटाकेटी बिग्रेका उनले बताए।
‘अभिभावक र स्कुलका शिक्षकहरूले बालबालिकाको प्रत्येक दिनको क्रियाकलाप बुझ्नु पर्छ,’ उनले भने ।
कैलालीमा लागुपर्दाथ दुर्व्यसनीसम्बन्धी अपराध बढ्दै
जिल्ला प्रहरी कार्यालय कैलालीमा वर्षेनी लागुपर्दाथ दुर्व्यसनीका अपराध बढ्दै गएका छन्।
आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषधसम्बन्धी ८७ मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्षमा ९८ र चालु आर्थिक वर्षको ५ महिनामा २९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
भारतसँग खुला सीमाना जोडिएकाले पनि दुर्व्यसनीसम्बन्धी अपराध बढेको उनको बुझाइ छ।
डिएसपी विष्टले लागुऔषधसम्बन्धी अपराधमा स्कुल पढ्ने उमेरका बालबालिकाको पनि संलग्नता हुने गरेको बताए।
'बालबालिकाको हकमा मुद्दा दर्ता भने भएको देखिएको छैन तर संलग्नता भने हुनेक्रम बढेको छ। पहिला सेवनमात्रै गर्ने गरेको देखिन्थ्यो अहिले त कोरोबार पनि गर्ने गरेको पाइएको छ,’ उनले भने।