गैरकानुनी रूपमा चीन पुर्याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काभ्रे रोशी गाउँपालिका-४ घर भई ललितपुरको पाटनमा बस्ने ३२ वर्षीय किरण तामाङलाई पक्राउ गरेको हो।
ब्युरोले उनलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालत काठमाडौंबाट अनुसन्धान गर्न चार दिनको म्याद थप गरेको हो।
उनीमाथि २३ वर्षीय महिलालाई चीनमा बेचेको आरोप छ।
प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीका अनुसार तामाङले चीनमा व्यापार तथा रोजगारी दिने भन्दै उनलाई प्रलोभनमा पारेका थिए। त्यसरी ललाईफकाई गैरकानूनी तरिकाले गत वर्ष पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन पुर्याएका थिए।
उनी आफैंले ती महिलालाई चीनको सान्दोङ प्रान्तको हेज सहरको ताङ-लो भन्ने स्थानमा पुर्याएका थिए।
उक्त ठाउँमा बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकलाई तामाङले ती महिला विक्री गरेको एसपी चौधरीले बताए।
ताम्पु थोङले ती महिलालाई शारीरिक र मानसिक यातना दिई बन्धक बनाइराखेका थिए। त्यसरी बन्धक बनाएको अवस्थामा ती महिला कोही नभएको मौका छोपी सामाजिक सञ्जालमार्फत् आफन्तहरूको सम्पर्कमा आएकी थिइन्।
त्यसपछि उनले आफू विक्री भएको र यातना पाइरहेको भन्ने बताएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।
ब्युरोलगायत विभिन्न निकायहरूसँग समन्वय गरी गत कात्तिक १२ गते ती महिलालाई नेपाल फर्काइ आफन्तको जिम्मा लगाइएको थियो।
घटनापछि फरार रहेका तामाङलाई प्रहरीको टोलीले उनलाई ललितपुर महानगरपालिका-३ सानेपाबाट पक्राउ गरेको हो।
उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको एसपी चौधरीले बताए।