चुरे गाउँपालिका–६ बबेडीकी सुमित्रादेवी कार्कीको घरमा वर्षौंदेखि पाइपबाट ल्याइएको मुहानको पानी आएकै थियो।
‘त्यसबेला घरमै पानी आउनाले समस्या थिएन, पानीको समस्या कस्तो हुन्छ थाहै थिएन,’ उनले भनिन्।
उनी र बस्तीका अरू महिलाहरू पनि घाँसदाउराका लागि वरपरका जंगलमै आश्रित थिए।
तीन वर्षअघि बस्तीमा सडक काट्ने कुरा चल्यो। गाडी चढ्न घण्टौं यात्रा गर्नुपर्ने बाध्यता हट्ने आशामा बबेडीका बासिन्दा खुसी भए। तीमध्येका एक मणि बुढा पनि थिए।
‘सडक बन्दा खुसी लागेको थियो। पछि डोजरले खन्दा जमिनै हल्लियो, पानी पसेर बग्न थाल्यो,’ उनले भने।
ढुंग्यानीदेखि रन्तला गज्यारसम्म जोड्ने सडक बबेडी गाउँ भएरै काटिएको छ। मणिको घरको तल र माथि दुवैतिर सडक बनेको छ।
‘सडकबाट ५/६ मिटरमात्र टाढा होला मेरो घर,’ उनले भने।
सडक बन्ने बेलामा जोखिममा रहेको उनको घर माथिपट्टि जालीको व्यवस्था गर्ने र वाल हाल्ने कुरा भएको उनले बताए।
‘सडक बनेको २ वर्ष पुगिसक्यो वालस्वाल केही बनाएनन्,’ उनले भने।
यस वर्ष साउन १४ गतेदेखि उनको गाउँमा जमिन भाँसिन थाल्यो। त्यही सडकबाट भत्केको जमिनले उनको घरै लग्यो।
उनीजस्तै रगी बोहरा पनि पहिरोबाट विस्थापित भएका छन्।
सुरूमा दुर्गममा बाटो पुग्दा दुःखी बिराम हुँदा गाडी चढेर जान पाउने भयौं भन्ने उनलाई लागेको थियो।
‘अहिले त त्यही भत्केर न सडक रह्यो न बस्ती,’ उनले भने।
नयाँ बनेका सडकमै ५/७ फिट गाडिएको बिजुलीका पोलबाट पनि पानीभित्र छिरेर जमिन कमजोर भएको हो कि भन्ने उनलाई लागेको छ।
कैलालीको चुरे पहाड क्षेत्रमा जथाभावी सडक खनिएपछि पहिरोको जोखिम प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ।
‘अहिले पानीका मुहान पनि सुक्न थालेका छन्,’ सुमित्रा देवीले भनिन्।
चैत वैशाखमा त पानी नै नपाइने गरेको उनले बताइन्।
स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा निर्माण हुने सडकका कारण चुरे पहाड क्षेत्रका धेरै ठाउँमा पहिरो गएको छ।
यस वर्षमात्रै चुरेका २११ घरपरिवार पहिराले विस्थापित भएको तथ्यांक गाउँपालिकाको छ। उनीहरूमध्ये यति परिवारलाई विदेशी सहयोगबाट आएका टेन्ट दिइएको गाउँपालिकाले जनाएको छ। अरु परिवार भने त्रिपालमुनि रात काटिरहेका छन्।
अर्का स्थानीय बिर्ख धामीले बस्तीको तलमाथि जथाभावी काटिएका सडक पनि पहिरोका कारण भएको बताए।
‘चुरे क्षेत्रमा जथाभावी बनाइएका नयाँ सडकका कारण कयौं बस्तीहरूको उठिबास भएको छ,’ उनले भने।
चुरे गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउदले पनि पहिरोको कारण सडक हुनसक्ने बताइन्।
‘२ सय १२ परिवार विस्थापित हुनुमा कहीँकतै सडककै कारण पनि हो,’ उनले भनिन्।
चुरे संरक्षणका लागि स्थानीय सरकारले बोटबिरुवा रोप्ने काम गरिरहेको उनको दाबी छ।
‘केही जोखिम भएका ठाउँमा तटबन्ध गर्ने काम पनि भएको छ,’ उनले भनिन्।
पहिरोको सबभन्दा मुख्य कारण वन विनाश नै भएको उनको तर्क छ।
‘जुन ठाउँमा वैज्ञानिक वनमा लागू भएर रुख काटिएको छ, त्यही पहिरो बढी गएको छ,’ उनले भनिन्।
उनका अनुसार सबै वडामा पहिरोले प्रभाव पारको छ भने वडा नम्बर ६ र ५ मा बढी प्रभावित भएका छन्।
‘उनीहरूको पुनर्स्थापनाका लागि हामीले जग्गा दिन सक्दैनौं, विस्थापितको विवरण प्रदेश र संघमा दिएर पहल गरिरहेका छौं,’ उनले भनिन्।
विस्थापित परिवारका महिलालाई झनै समस्या
पहिरोले घरखेत लगेपछि विस्थापित भएर जंगलमा पालमुनि बस्दा कैलालीको चुरेका महिलाहरूले पीडित बनेको बताएका छन्।
अहिले पहिरो र बाढीको जोखिम हिउँद लागेसँगै कम भए पनि सरकारी सहयोग पाउने अपेक्षामा उनीहरू जंगलमै बसिरहेका छन्।
शौच गर्न, नुहाउन र टालो फेर्न उनीहरू टेन्टदेखि टाढाको जंगलमा जानु परेको उनीहरू बताउँछन्।
जसका कारण आफूहरू असुरक्षित रहेको उनीहरूले बताए।
त्यहाँका महिलाहरूमा सरसफाइ अभावमा स्वास्थ्यसम्बन्धी समस्या समेत देखापर्न थालेका छन्।
सुमित्रा देवीको परिवार अहिले गौरीगंगा नगरपालिका–३ मा रहेको माघी शिविरमा त्रिपालमुनि बसिरहेका छन्।
गएको साउन १४ गतेको वर्षातपछि उनको घर र खेत पहिरोले बगाएकाले उनको परिवार विस्थापित भएर यता सरेको हो।
‘जग्गा पनि गयो, घर पनि गयो, आफू र गाइबाख्रा जोगाउन सक्यौं,’ उनले भनिन्।
पहिरोले विस्थापित भएका उनीहरूले खानीडाँडा नजिक बेल्चापालनमा भीमदत्त राजमार्ग किनारमा ५ महिना टेन्टमुनि बिताए।
‘यहाँ पनि स्कुलले आफ्नो जमिन हो भन्छ, वनले आफ्नो हो भन्छ, उठिहाल भन्छन्,’ उनले भनिन्।
पाँच महिनाको त्रिपालको बसाइले प्रभावित परिवारका महिला तथा किशोरीहरू निकै समस्यामा रहेको उनी बताउँछिन्।
साउनको वर्षात टेन्टमुनि काटेको उनको परिवारले तराईको शितलहर पनि त्यसमै बिताउनुपरेको छ।
‘कोरोनाको महामारी छ, यस्तो शितलहर र चिसो छ, दिसापिसाब गर्न पनि ठाउँ छैन,’ उनले भनिन्।
उनीहरूले अँध्यारोमा कसैले नदेख्ने गरी जंगलमा शौच गर्न जानुपर्छ।
‘एक्लै जान पनि डर लाग्छ। दिशा पिसाब गरेको फेला पारे पैसा लाग्ने जंगलका मान्छेले भन्छन्,’ उनले भनिन्।
उनलाई महिनावारीका बेला बढी समस्या हुने गरेको छ।
‘यहाँ नल्का छैन, मन्दिरको नल्काबाट पानी ल्याउँछौं। महिनावारी भएका बेला त्यहाँ जान मिल्दैन। एक घण्टा टाढाको खोलामा गएर नुहाउँछौं,’ उनले भनिन्।
महिनावारीका बेला आफूले पनि समस्या भोग्नुपरेको शिविरमै बस्ने चुरे–५ की फूलमाया गुरूङले बताइन्।
‘खानलाई पनि पानी छैन, सरसफाइ गर्न पाइँदैन,’ उनले भनिन्।
त्यहीकी सिर्जना सुनाहाको पनि खेती बारी पहिरोले लगेपछि त्रिपालमुनि बसिरहेकी छन्।
‘दूध खाने बच्चा छन्, हुर्काउन पनि कठिन भइरहेको छ,’ उनले भनिन्।
६ छोराछोरीकी आमा उनले दुई काखे बच्चा आफैंसँग राखेर बाँकीलाई आफन्तका घरमा बस्न पठाएको बताइन्।
दिउँसो शिविरका महिलाहरू चौमालामा रहेका आफन्तकहाँ चामल, दाल, साग, तरकारी आदि माग्न जाने गर्दछन्।
दिनभरि खाद्यान्नको जोहो गरेर फर्केका उनीहरू बेलुका जर्किनमा धाराबाट पानी बोक्छन्।
विकासका नाममा विनाश
चुरेमा सडक बनाउँदा कैयौं रूख काटिएका छन्। स्थानीयले सडक खन्ने क्रममा साल, सल्ला लगायतका ठूला रूखहरू धेरै काटिएका बताए।
सडक निर्माण गर्दा कानूनअनुसार गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन समेत यहाँ गरिएको छैन। जसकारण बाढी र पहिरोको जोखिम बढेको छ।
वैज्ञानिक वनका नाममा दुई लट रूख काट्ने काम सकिएको छ। यसले पनि वन विनाश भएर पहिरो र बाढी आउने त्रास स्थानीयमा छ।
चुरे क्षेत्रको विनाशले प्राकृतिक विपत्ति निम्तिदा मानव जीवनमा ठूलो प्रभाव परेको छ। कैलालीको पहाडी स्थानीय तह चुरे गाउँपालिकाका सबै ६ वटै वडाका बासिन्दाहरू पहिरो र बाढीको सामना गरिरहेका छन्।
चुरे–६ का वीरजीत बोहराले सबै वडामा पहिरोले प्रभाव परेको बताए।
प्रभावितहरू चौमालाको सरकारी जमिनमा जंगलछेउ बसेको १६ पुगेको उनको भनाइ छ।
‘विस्थापित भएपछि सरकारले पुनर्स्थापना गर्छ कि भन्ने आशमै उनीहरू बसेका हुन्,’ उनले भने ।
चुरेमा अहिले बस्ती जोड्ने दर्जनौं रोड बने, दीगो वन पनि त्यहीभित्र रह्यो।
‘लठ्ठा काट्दाखेरी दीगो वन माथितिर भयो। बीचमा रोड छ। त्यही तल मेरो घर। अनि त पहिरो आउने नै भयो,’ उनले भने।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका जियोलोजिस्ट प्रेम नाथ पौडेलले मापदण्डबिना सडक बनाएर चुरे क्षेत्रलाई जोखिममा पार्न नहुने बताए।
‘बाटोको आवश्यकता के हो, त्यसले पार्न सक्ने असर, कसरी कम गर्ने भनेर वातावरण मैत्री विकास गर्नुपर्छ,’ उनले भने।
तर धेरै ठाउँमा यसो नभएकाले चुरे क्षेत्रमा जोखिम बढेको उनले बताए।
‘वातावरणीय अध्ययन गरेर मात्र विकास गनुपर्ने हो । तर गरेको पाइँदैन,’ उनले भने।
खनेर विकास गर्ने चलनले पनि चुरेमा क्षति पुगेको उनले बताए ।
पुरेर बाटो बनाउँदा पो जोखिम कम हुने हो कि भन्नेतिर पनि ध्यान दिन उनले सुझाए ।
जथाभावी खन्दा जमिन भिरालो हुने वा कमजोर हुन सक्छ । माटो ढुंगाको सही व्यवस्थापन नगर्दा पनि बगेर पहिरो जाने उनले बताए।