लुम्बिनी चिनी उद्योग प्रा.लिका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्।
उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले बतायो।
किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए।
उक्त चिनी मिल सुशिला गोयलको नाममा छ। तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो।
‘तर मिल पूर्ण रूपमा उसको (मनोज) नाममा आइसकेको छैन’, स्रोतले भन्यो।
यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो।
उखु किसानलाई उक्त चिनी मिलले १६/ १७ करोड तिर्न बाँकी छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
१ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गतेदेखि किसानहरू फेरि आन्दोलनमा उत्रिएका थिए।
सरकारसँग ४ बुँदै सहमति भएसँगै पुस १३ गते उनीहरूले आन्दोलन स्थगित गरेका थिए।
सम्झौता भएको दिनेदेखि २१ दिनभित्र चिनी मिललाई भुक्तानीको लागि म्याद तोकिएको छ। त्यतिबेलाभित्र नतिरे उनीहरूमाथि कारबाही अगाडि बढाइने सरकारले वाचा दिएको छ।