कालिकोट, खाँडाचक्र नगरपालिका–६ का किशोर शाही १६ वर्षयता ह्विलचेयरमा छन्। भित्र–बाहिर, यताउता गर्ने उनको सहारा ह्विलचेयर हो। योभन्दा बढी उनलाई श्रीमतीको साथ छ।
सुर्खेत, वीरेन्द्रनगर बस्दै आएका किशोरको अधिकांश दैनिकी घरमै बित्छ। 'स्पाइनल कर्ड इन्जुरी' भएर ह्विलचेयरका भरमा जीवन बिताए पनि उनी अरूको सहारा बन्न सधैं तल्लीन देखिन्छन्।
किशोर आफूजस्तै समस्या भएका अरू मानिसलाई सहयोग गर्छन्। अपांगता भएकाहरूलाई आयआर्जनको बाटोमा लगाउने कोसिस गर्छन्।
केही समयअघि मात्र उनले साढे १३ महिनासम्म अपांगता भएकाहरूका लागि सिलाइ-कटाइ सम्बन्धी तालिम सञ्चालन गरे। 'कर्णाली डिसेबल भोकेसनल ट्रेनिङ एन्ड प्रोडक्सन प्रालि' दर्ता गरेर उनले १५ जना अपांगता भएकाहरूका लागि सिलाइ-कटाइ (ट्रयाक–सुट, हुडी, ज्याकेट सिलाउने) तालिम दिएका हुन्।
ती १५ जनामध्ये केही मानिस अहिले कमाउन सक्ने भएका छन्। केहीले घरै बसेर काम गरिरहेका छन्।
'सिलाइ-कटाइसँगै अपांगता भएकाका लागि अटो रिक्सा चलाउने तालिम पनि दिएका छौं। उहाँहरू अहिले कमाउन सक्ने अवस्थामा हुनुहुन्छ,' किशोरले भने।
किशोर नेपाल प्रहरीका बहालवाला कर्मचारी हुन्। प्रहरी नायव निरीक्षक (सब-इन्सपेक्टर) पदमा रहेका उनी अरू सामान्य प्रहरी जस्तै ड्युटी त गर्न सक्दैनन्, तर आफूजस्तै समस्या भएकालाई सहयोग गर्न आफूलाई समर्पित गरेका छन्।
२०५८ सालमा सहायक प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवा प्रवेश गरेका किशोर २०६१ सालमा कैलालीमा ड्युटी गर्थे। २०६१ माघ १४ गते उनी समावेश प्रहरी टोली पूर्व–पश्चिम राजमार्गमा गस्ती गरिरहेको थियो।
त्यसबेला सशस्त्र द्वन्द्व चलिरहेकै थियो। त्यस समयमा तत्कालीन विद्रोही समूह माओवादीले एक्कासि गोलाबारी गर्यो। गस्तीमा रहेका किशोरलाई दुइटा गोली लाग्यो। त्यसमध्ये एउटा गोली उनको मेरुदण्डसम्म पुग्यो। त्यही गोलीले स्पाइनल कर्ड इन्जुरी भयो। त्यो गोली अहिले पनि उनको शरीरमै छ।
४६ दिन प्रहरी अस्पतालको आइसियुमा बसेका किशोर त्यसपछि काभ्रेमा रहेको स्पाइनल पुनःस्थापना केन्द्र गए। त्यहाँबाट फर्किएपछि उनी काठमाडौं, जोरपाटीमा कोठा लिएर बसे।
कोठामा बस्दै गर्दा आफू परिवार र समाजका लागि बोझ भएको उनलाई महसुस भयो।
'चार पटक आत्महत्या प्रयास गरेँ। बेडमै दिशापिसाब गर्ने अवस्था भएपछि बाँचेर काम छैन भन्ने सोच आयो,' उनले भने, 'पहिलो पटक पेट्रोल खोजेँ, भेटिएन। दोस्रो पटक मट्टितेल खोजेँ, त्यो पनि पाइनँ। तेस्रो पटक मुसा मार्ने औषधि खान खोजेँ।'
त्यो औषधि लिएर शौचालयमा गएर ढोका बन्द गरेछन्। खानै लाग्दा उनको हातबाट खसेर भिज्यो। फेरि ब्लेडले हातको नसा काट्ने खोजे। त्यही बेला बिजुली चम्केझैं उनको मानसिकता सकारात्मकतार्फ मोडियो।
'म जस्तो नेपाल प्रहरी, जसको तलब आउँछ, उपचार राज्यले गरिदिन्छ, मैले नै आत्महत्या गरेँ भने दुरदराजमा भएका मजस्ता मानिसको के हालत होला भन्ने सोच आयो,' उनले भने, 'अनि जीवनलाई हेर्ने नजर नै फेरियो। पहिले कोठाबाट बाहिर निस्कनै लाज लाग्थ्यो, पछि बाहिर निस्कन पनि थालेँ।'
जीवनलाई जस्तो छ, त्यस्तै स्वीकारेपछि उनको जीवन अन्धकार पन्छाएर उज्यालोतिर मोडियो। सुरूमा उनले आफूजस्तै ह्विलचेयरका सहारामा बस्ने सात जना साथीलाई समावेश गराएर 'नेपाल स्पाइनल कड इन्जुरी खेलकुद संघ' गठन गरे। त्यसमार्फत उनी खेलकुद क्षेत्रमा अघि बढे।
ह्विलचेयर बास्केट बल, क्रिकेट, स्वीमिङ जस्ता खेल नेपाल भित्र्याउन उनले मुख्य भूमिका निर्वाह गरेका छन्। खेल्ने क्रममा किशोरले धरान, पोखरा, चितवन, जुम्ला, कालिकोट, मुगुमा ह्विलचेयर बास्केट बल प्रतिस्पर्धा समेत गराए। ह्विलचेयर टिम लिएर उनी बंगलादेश, डेनमार्क पनि पुगेका छन्।
उनका अनुसार अहिले नेपालमा १४ वटा ह्विलचेयर बास्केट बल क्लब र दुई सयभन्दा धेरै खेलाडी छन्।
खेलकुदसँगै उनले आफ्नो निजी व्यवसाय पनि सुरू गरे।
'६ महिना गाडामा बसेर तरकारी बेचेँ। आफ्नो आयस्तर मजबुत बनाउन र अपांगता भएकाले पनि केही गर्न सक्छन् भन्ने देखाउन पनि त्यो गरेको हुँ,' किशोरले भने।
त्यसपछि काठमाडौंमै दस रोपनी जग्गा भाडा लिएर उनले तरकारी खेती गरे। जहाँ सुनाइसम्बन्धी अपांगता भएका चार जनाले पनि काम गर्न पाएका थिए। उनले ह्विलचेयरमै बसेर ८ वर्षसम्म गरेको त्यो खेतीबाट भएको मुनाफाले सुर्खेतमा घडेरी किने।
'त्यसपछि अब आफ्नै प्रदेशमा केही गर्नुपर्छ भन्ने लागेर यहाँ आएँ,' उनले भने, 'नबनाई नहुने भएकाले किनेको घडेरीमा घर पनि बनाएँ। भाडामा मजस्ता मानिसलाई बस्न समस्या पनि हुन्छ।'
उनले कर्णाली प्रदेश सरकारलाई बारम्बार अनुरोध गरेर आर्थिक वर्ष २०७५/७६ मा अपांगता भएकाका लागि तालिम सञ्चालन गर्न बजेट व्यवस्था गर्न लगाए। उद्योग मन्त्रालयले २० लाख रूपैयाँ उनको तालिम केन्द्रलाई दियो। त्यसबाट ११ लाख रूपैयाँको मेसिन किने, ६ लाख रूपैयाँमा अटो रिक्सा।
त्यसबाट कर्णालीका दसै जिल्लाका अपांगता भएकाहरू समावेश हुनेगरी ७ पुरुष र ८ महिलालाई एक वर्ष बढी तालिम दिए। सहभागी सबैलाई उनले तालिम अवधिभर आफ्नै घरमा निःशुल्क आवासीय सुविधा दिएको बताउँछन्।
अहिले उनले वीरेन्द्रनगर नगरपालिकामा 'अपांग कृषि समूह' दर्ता गराई ४० जना अपांगता भएकाहरूलाई समेटेर बेसार खेती गर्न लगाएका छन्।
'मसँग तरकारी खेतीको अनुभव थियो। उहाँहरूलाई तपाईंहरू खेती गर्नुहोस्, म सहयोग गर्छु भनेँ,' किशोरले भने, '१० विघा जग्गा पनि भाडामा लिइदिएँ। अहिले उहाँहरूले खेती गर्नुभएको छ।'
पछिल्लो समय किशोरले कालिकोटमा आफ्नो स्थानीय तहमा अपांगता भएकाहरूलाई पनि रोजगारी दिने प्रयास गरिरहेका छन्। खाँडाचक्र नगरपालिकामा रहेका १९० जना अपांगता भएकामध्ये कम्तिमा यो वर्ष ३५ जनालाई नगरपालिकामार्फत रोजगार बनाउन उनले पहल थालेका छन्।
'पैसा दिनुपर्छ भन्ने छैन। उनीहरूसँग भएको सीप अनुसारको आवश्यक सामग्री अनुदान दियो भने आफैं काम गर्छन्,' उनले भने, 'यही कुरा नगरपालिकालाई गरेका छौं, सकारात्मक छ। सम्भवतः यो पुस अन्तिमबाट त्यहाँ तालिम व्यवस्था पनि हुनेछ।'
उनको लक्ष्य छ- कर्णाली प्रदेशका अपांगता भएकालाई आयआर्जनमा सरिक गराउनु।
कुनै सीप, खेलकुद वा कृषिमार्फत आयको बाटो देखाउने काममा राज्यले सहयोग गरे आफू सफल हुन सक्ने उनी बताउँछन्। राज्यले अपांगता भएकाको समस्या नजिकबाट महसुस गरी बजेट वा संरचना व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
'अपांगता भएकाहरू आफैं कमाउन सक्ने भए भने न राज्यलाई बोझ हुन्छ, न परिवारलाई,' किशोरले भने, 'हामीले आफैं कमाएर परिवार पाल्न सक्ने हुनुपर्छ। राज्यको योजनामा अपांगता भएकाको समस्या समाधान पनि प्राथमिकतामा रह्यो भने राज्यले हामीलाई सम्झिएको महसुस गर्छौं। नत्र अपांगता भएकाको नरकीय जीवन जस्ताको तस्तै हुन्छ।'