नेपालमा कोरोना भाइरस विरूद्धको खोप समयमा नआइपुग्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
खोप आपूर्तिका लागि पैसा दिएर बुकिङ गर्ने प्रमुख काम नै सरकारले नगरेको भन्दै समयमा खोप नआउने उनीहरूको दाबी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने खोप विकास गरिरहेका देशहरूलाई कूटनीतिक नोट पठाइसकेकाले विश्व बजारमा खोप प्रयोगमा आउनुबित्तिकै नेपालमा पनि आउने जनाएको छ। तर सरकारको अहिलेको पहलकदमीले खोप समयमा नआउने जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे बताउँछन्।
'अहिलेसम्म स्वास्थ्य मन्त्रालयले पत्र पठाएका छौं, सम्पर्कमा छौं मात्र भनिरहेको छ। तर कूटनीतिक नोट पठाएर खोप आउँदैन,' डा. पाण्डेले भने, 'प्रष्ट कुरा के हो भने खोप ल्याउनलाई स्वास्थ्य मन्त्री, परराष्ट्र मन्त्री भारत, चीन र रुस गएर खोप निर्माता कम्पनीहरूलाई पैसा दिएर बुकिङ गर्नुपर्यो।'
सरकारले अहिलेसम्म कुनै पनि खोप निर्माता कम्पनीसँग अग्रिम पैसा दिएर खोप बुकिङ गरेको छैन। तर विकसित देशहरूले भने आफ्ना जनतालाई चाहिने खोप धमाधम बुकिङ गरिरहेका छन्।
बंगलादेशले समेत १२ करोड डोज खोप भारतको सेरम कम्पनीसँग बुक गरिसकेको छ। यस्तै क्यानडाले आफ्नो जनसंख्याको पाँच गुणा बढी र बेलायतले आफ्नो जनसंख्याको तीन गुणा बढी खोप बुकिङ गरिसकेको छ।
अहिले बहराइन, कतार, साउदी र दुबईजस्ता देशहरूले समेत आफ्ना नागरिकमा धमाधम खोप लगाइरहेका छन्।
डा. पाण्डेले भने, 'बहराइन र इजराइलमा त एकदम ठूलो महामारी पनि आएको हैन तर सरकारले सुरूमै खोप बुकिङ गरेर क्लिनिकल ट्रायलमा सफल हुनुबित्तिकै खोप ल्याएर जनतामा लगाइदिए। यो तत्परता हाम्रो सरकारमा पनि हुनुपर्यो।'
सरकारले भने अहिलेसम्म खोप बुकिङ गर्ने कुरामा कुनै ठोस कदम चाल्न सकेको छैन। विश्वभर खोप निर्माण गरेका कुनै पनि कम्पनीसँग खोप आपूर्तिका लागि सरकारले सम्झौता गरेको छैन।
'सरकारले सजिलोसँग खोप आउनुबित्तिकै ७२ प्रतिशत जनतालाई खोप दिन्छौं भनेको छ जुन सम्भव नै छैन। नेपालले जहिलेसम्म आफैं गएर पैसा तिरेर बुकिङ गर्दैन त्यो बेलासम्म खोप आउँदैन,' डा. पाण्डेले भने, 'हामी स्पष्ट हुनुपर्छ कि पैसा दिएर बुक गरेनौं भने भोलि आश गरेर बसे पनि हामीलाई कसैले खोप दिँदैन।'
नेपालले कम्तिमा पनि तीन वटा खोप निर्माता कम्पनीसँग सम्झौता गर्नुपर्ने उनको सुझाव छ। कति खोपहरू क्लिनिकल ट्रायलको अन्तिम डेलिभरीको चरणमा समस्या आउने भन्दै जनताले खोप पाउने कुरालाई सुरक्षित गर्न कम्तिमा तीन वटा कम्पनीसँग सम्झौता गर्नुपर्ने उनको भनाइ छ।
उनले नेपालका लागि भारत, चीन र रुसमा बनिरहेको खोप उपयुक्त हुने बताए।
ती देशहरूमा विकास भइरहेका खोपहरू २ देखि ८ डिग्री तापक्रममा राख्न मिल्ने भन्दै उक्त कम्पनीहरूलाई यथाशिघ्र पैसा दिएर खोप बुकिङ गर्नुपर्ने डा. पाण्डे बताउँछन्।
स्वास्थ्य मन्त्रालयले पनि नेपालका लागि २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्ने मिल्ने खोप नै उपयुक्त हुने बताउँदै आएको छ।
खोप महाशाखाका अनुसार नेपालले -२० डिग्री तापक्रममा राख्नुपर्ने खोपलाई पनि भण्डारण गर्नसक्ने भए पनि भण्डारण क्षमता कम भएको जनाएको छ। तर त्यो भन्दा कम तापक्रममा राख्नुपर्ने खोपका लागि भने तत्काल कुनै पूर्वाधार नभएको महाशाखाको भनाइ छ।
जस्तो विश्व स्वास्थ्य संगठनले समेत आपतकालीन प्रयोगका लागि अनुमति दिएको फाइजर बायोएनटेक खोपलाई -७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्छ।
जसका लागि आवश्यक कोल्ड चेन नेपालमा छैन।
अहिले खोप महाशाखाले नेपाल ल्याइने खोपलाई भण्डारणका लागि आवश्यक कोल्ड चेन पूर्वाधार तयार पार्ने काम गरिरहेको छ।
कोरोना संक्रमितको उपचारमा खटिएका एक चिकित्सक पनि समयमा खोप आउनेमा विश्वस्त छैन।
'खोप ल्याउने कुरा सहज छैन। जति पनि विकसित देशहरूले अग्रिम रकम बुझाउने काम गरिरहेको अवस्थामा हामी भने अहिलेसम्म रकम निकासा गर्ने, कुन खोप ल्याउने भन्ने कुराकै छलफलमा छौं,' उनले भने, 'खोप भनेको सिटामोल किनेजस्तो हैन। सप्लायर्सहरूलाई मलाई यो खोप देऊ म यति रकम दिन्छु भनेर निवेदन गर्नपर्यो तर त्यो चरणसम्म हामी नपुगेकाले खोप चाँडै आउलाजस्तो मलाई लाग्दैन।'
अन्य खोप समयमै आउने सम्भावना कम रहे पनि कोभ्याक्स अन्तर्गतको तीन प्रतिशत खोप भने सन् २०२१ को पहिलो चौमासिकभित्र आउनेमा दुवै जना विज्ञ सहमत छन्।
विश्व स्वास्थ्य संगठन अन्तर्गत कोभ्याक्स कार्यक्रममार्फत् नेपाललाई २० प्रतिशत खोप आउने भनिएको छ। जसमा पहिलो चरणमा तीन प्रतिशत खोप आउने मन्त्रालयले जनाएको छ।
जनस्वास्थ्यविद् पाण्डे भन्छन्, 'हामीले कोभ्याक्स र गाभीसँग जति समन्वय, कूटनीतिक पहल गर्यौं त्यति चाँडो आउने हो नत्र कोभ्याक्सबाट आउने खोप आउन पनि ढिला हुन्छ।'