नेपाली सेनाले सैनिकहरूका लागि वीरगन्जस्थित क्राउन टेक्स्टाइल्स इन्डष्ट्रिज प्रा.लि.सँग थालेको कपडा खरिद प्रक्रिया रद्द गरेको छ।
नेपाली सेनाले क्राउनसँग थालेको ११ करोड बराबरको क्यामोफ्ल्याग फेब्रिक (चुस्ता कपडा) खरिद प्रक्रिया रद्द गरेको हो।
क्राउन टेक्सटाइल्स नेपाल प्रहरीको पोशाकमा ठगी मुद्दा खेपिरहेको कम्पनी हो।
कम्पनीका सञ्चालक र प्रतिनिधि ठगी आरोप लागेर पक्राउ परेपछि सेनाले सो कम्पनीसँग चुस्ता खरिदका लागि थालेको प्रक्रिया रोकेको जंगी अड्डा स्रोतले बतायो।
क्राउनले वीरगञ्जस्थित आफ्नो कारखानाबाट स्वदेशी उत्पादन दिने भनेपछि आर्मीले ठेक्का प्रक्रियामा सहभागी गराएको थियो।
सैनिक स्रोतले क्राउन टेक्सटाइल्सलाई दिन थालिएको प्रक्रिया रद्द गरिएको जानकारी दियो।
सेनाका अनुसार क्राउन टेक्सटाइल्सको उद्योग निरीक्षणमा जंगी अड्डाबाट कार्यरथी विभागबाट टोली गएको थियो।
सो टोलीले स्पेसिफिकेसन अनुसार सेनालाई चाहिने कपडा उत्पादन गर्ने उपकरण नदेखिएपछि रद्द गरेर अर्को प्रक्रिया थालिएको सेनाले जनायो।
‘स्वदेशी कपडा उत्पादन गर्ने उद्योगलाई खरिद प्रक्रियामा सहभागी गराउनुपर्ने आर्थिक नियमअनुसार हाम्रो टोली निरीक्षणका लागि गएको थियो, तर उद्योगमा सेनालाई चाहिने कपडा उत्पादन गर्ने उपकरण नभएको देखिएपछि प्रक्रिया रद्द गर्नुपरेको हो,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले सेतोपाटीसँग भने।
क्राउनका प्रतिनिधि ठगी मुद्दामा पक्राउ परेपछि आर्मीले अर्को प्रतिस्पर्धी कम्पनीलाई आशय पत्र दिएको छ। पुस १५ गते आर्मीले एडी सप्लायर्स आज्ञा जेभीलाई चुस्ता खरिदको जिम्मा दिएको हो।
नेपाली सेनाले यो वर्षका लागि ३ लाख ६२ हजार ५५० मिटर चुस्ता खरिद गर्न गत असोज २२ गते टेन्डर आह्वान गरेको थियो।
सो बोलपत्र क्राउन र एडी-आज्ञा जेभीले भरेका थिए। दुई कम्पनीमध्ये सेनाले स्वदेशी उत्पादन हुने भएकाले क्राउनलाई नै दिने तयारी गरिरहेको थियो।
पुस १२ गते नेपाली सेनाको टोली क्राउनको फ्याक्ट्री भिजिट गर्न पर्सा पुगेको थियो। त्यहीबेला पर्साबाट केन्द्रीय अनुसन्धान ब्युरोले क्राउनका सञ्चालक पिताम्बर मुन्का र प्रतिनिधि नरेन्द्रनाथ पौडेललाई ठगी आरोपमा पक्राउ गरेको थियो।
कम्पनीका सञ्चालक नै ठगी आरोपमा पक्राउ परेकाले सेनाले उक्त कम्पनीलाई बोलपत्रमा सामेल नगराएको जंगी अड्डा स्रोतले जनायो।
क्राउनले प्रतिमिटर ३२८ रुपैयाँमा चुस्ता उपलब्ध गराउने प्रतिवद्धता गरेको थियो भने एडीले ३०६ रुपैयाँ प्रतिमिटरमा उपलब्ध गराउने भनेको थियो।
क्राउनले पाउँदा यो ठेक्का ११ करोड ८९ लाख १६ हजार ४०० रुपैयाँ (करबाहेक) को हुन्थ्यो। अहिले एडीले ११ करोड ९ लाख ४० हजार ३०० रुपैयाँ (करबाहेक)मा पाएको छ।
नेपालमै उत्पादन कपडामा १५ प्रतिशत ग्राह्यता दिइने आर्थिक नियम छ। त्यो नियमलाई टेकेर क्राउनलाई दिने तयारी प्रहरीले सञ्चालक पक्राउ गरेपछि आर्मीले रोकेको जंगी अड्डा स्रोतले बतायो।
नेपाल प्रहरीको पोशाक खरिदमा ठगी अभियोग लागेको यही कम्पनीलाई भने सशस्त्र प्रहरी बलले चार करोडको कपडा खरिदमा संलग्न गराएको छ।
वीरगन्जस्थित क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रा.लि. लाई सशस्त्र प्रहरीले ३ करोड ९८ लाख ८८ हजार रुपैयाँ (मु.अ.कर बाहेक)को ठेक्कामा संलग्न गराएको हो।
पुस १० गतेमात्र उक्त कम्पनीलाई सशस्त्र प्रहरी बलले कपडा खरिदका लागि छनोट गरेको हो।
क्राउन टेक्सटाइल्सलाई २१ हजार मिटर उलन पाइन्ट र २८ हजार मिटर उलन सर्ट खरिदका लागि सशस्त्रले छनोट गरेको छ।
उलन पाइन्ट २ करोड ४० लाख १२ हजार र उलन सर्ट १ करोड ५८ लाख ७६ हजार रुपैयाँ (कर बाहेक)को ठेक्का क्राउनलाई परेको छ। पाइन्ट प्रतिमिटर ११४३ र सर्ट ५६७ रुपैयाँ प्रतिमिटरमा खरिद गर्ने सम्झौता सशस्त्र र क्राउनबीच छ।
सशस्त्र प्रहरीले ठेक्कामा संलग्न गराएको दुई दिनपछि क्राउनका सञ्चालक पिताम्बरकुमार मुन्का र प्रतिनिधि नरेन्द्रनाथ पौडेल पक्राउ परेका थिए। उनीहरू अहिले केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्।
नेपाल प्रहरीको उलन पाइन्ट कपडा खरिदमा अनियमितता गरेको अभियोगमा मुन्का र पौडेललाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।
ब्युरोका अनुसार क्राउनले २०७३/०७४ सालमा नेपाल प्रहरीका लागि बीस हजार मिटर उलन पाइन्टको ठेक्का पाएको थियो।उसले प्रतिमिटर १ हजार ८२ का दरले ल्याउनुपर्ने सम्झौता थियो।
यो दुई करोड १६ लाख ६० हजार रुपैयाँ (करबाहेक)को ठेक्का थियो।
उक्त फर्म, प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालयबीच सम्झौता भएपछि क्राउन टेक्सटाइल्सले कपडा खरिद गर्यो।
कपडा खरिद गरिसकेपछि गुणस्तर परीक्षण गरियो। गुणस्तर परीक्षण गर्दा नमूनाअनुसारको कपडा नआएको प्रहरीले थाहा पाएपछि उक्त कम्पनीमाथि छानविन थालेको थियो।
सम्बन्धित समाचार: