झापामा बसले मोटरसाइललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मंगलबार बिहान पौने १२ बजे शिवसताक्षी नगरपालिका-८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किएको थियो।
पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख ६०९८ नम्बरको बस र विपरीत दिशा जाँदै गरेको प्र-१-०२-०४३ प ९२१८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनापछि घाइते भएका मोटरसाइकलका चालकसहित दुई जनाको उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पठाइएको थियो।
मोटरसाइकल चालक सुनसरी साविक महेन्द्रनगर गाविस-४का ३१ वर्षीय ज्ञानेन्द्र तामाङको उपचारको क्रममा पौने २ बजे मृत्यु भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए।
त्यस्तै, पछाडि सवार इटहरी उपमहानगरपालिका-५ की २८ वर्षीया सलिना राईको पौने ४ बजे मृत्यु भएको डिएसपी थापाले बताए।
त्यस्तै, बस चालक मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने २७ वर्षीय रबिन खड्कालाई इलाका प्रहरी कार्यालय, झिलझिलेले नियन्त्रणमा लिएको छ।
प्रहरीले बस तथा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ।