यातायात कार्यालयमा आउने सेवाग्राहीलाई हैरानी दिने बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० गुर्जुधारास्थित कार्यालयबाट बुधबार प्रहरीले एक जना बिचौलियालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) घनश्याम श्रेष्ठले बताए।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१० घर भएका २४ वर्षीय बालकृष्ण खत्री छन्।
'त्यहाँ आउने सेवाग्राहीलाई हात नै तानेर हाम्रो सटरमा आउनुस् भन्दै हैरान गरेको थियो,'उनले भने,'त्यसपछि हामीले उनलाई नियन्त्रणमा लिएका हौं।'
उनका अनुसार बिचौलियाले लकडाउनअघि पनि त्यसरी नै हैरानी दिने गर्थे। अहिले उनीहरूले फेरि त्यसरी हैरानी दिएपछि पक्राउ गरेको उनले बताए।
उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।