सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुमा वि.सं. २०६७मा ‘साना किसान कृषि सहकारी’ संस्था स्थापना भएको थियो।
वि.सं. २०७३ मा संस्थाले एक सय जना कृषकहरूको सहभागितामा ‘आलु बिउ’ उत्पादन समूह गठन गर्यो। उक्त समूहमा आबद्ध कृषकहरूले सुरूको सिजनमा ५०० क्विन्टल आलुको बिउ उत्पादन गरे।
वर्षेनी समूहले उत्पादन गर्ने आलुको बिउ सहकारीले खरिद गरेर विक्रीवितरण गर्ने गर्थ्यो। बिउ उत्पादन भइसकेपछि पुनः रोप्ने सिजनसम्म ताजा राख्न चिस्यान केन्द्र चाहिने भएकाले सहकारीले त्यो बिउ लिएर कोहलपुरको चिस्यान केन्द्रमा राख्ने गर्थ्यो।
२०७३ साल यता आफ्ना कृषकहरूले उत्पादन गरेको बिउ तथा कृषिजन्य अरू उत्पादनहरू संस्थाले कोहलपुरको चिस्यान केन्द्रमा राख्यो। अब यो वर्षदेखि भने संस्थाले आफ्नै पहलमा नजिकै बनेको चिस्यान केन्द्रमा ती कृषि वस्तु राख्ने भएको छ।
महिला कृषकमात्र सहभागी ‘साना किसान कृषि सहकारी’ संस्थाले आफ्नै पहलमा छिन्चुमै कर्णाली प्रदेशको पहिलो ठूलो चिस्यान केन्द्र स्थापना गरेको हो।
२०७५ सालबाट निर्माण सुरू भएको यो चिस्यान केन्द्र यो वर्षदेखि सञ्चालनमा आएको छ।
संस्थाले महिला कृषकहरूकै सहभागितामा सञ्चालक समिति बनाएर चिस्यान केन्द्र सञ्चालनको जिम्मा समेत दिएको छ।
दुई वर्षअघि उक्त संस्थामा आबद्ध कृषकहरूबीच यो विषयमा छलफल भएको थियो। लगातार आफूले उत्पादन गरेको कृषि वस्तुहरू कोहलपुर लिएर चिस्यान केन्द्रमा राख्नुपर्ने समस्या समाधानको बाटोमा अगाडि बढ्ने निर्णय उनीहरूले गरे।
सहकारीको सञ्चालक समिति र उत्पादक कृषकहरूको उपसमूह बनाएर २०७५ मा साना तथा मझौला आयस्तर वृद्धि आयोजनामा छिन्चुमा चिस्यान केन्द्र स्थापनाका लागि सहयोग गर्न प्रस्ताव गरियो। प्रस्ताव स्वीकृत भयो।
आयोजना बाहेकका अरु निकायबाट पनि आर्थिक सहयोग जुट्यो। अहिले २ सय मेट्रिक टन कृषि वस्तु राख्न मिल्ने कर्णाली प्रदेशकै पहिलो ठूलो तथा आधुनिक चिस्यान केन्द्र सञ्चालनमा आएको छ।
‘यहाँ हामीले उत्पादन गरेको कृषिजन्य वस्तु त्यसबेला कोहलपुरको चिस्यान केन्द्रमा राख्नुपर्थ्यो, त्यति टाढा लिएर राखेको वस्तु भनेको समयमा निकाल्न पनि मिल्थेन,’ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष ज्ञानु भुषालले भनिन्, ‘अब हामीले आफ्ना उत्पादन यहीँ नै कोल्ड सेन्टर बनाएर राख्नुपर्छ भनेर यसको लागि पहल गर्यौं, अब समयमा उत्पादित वस्तु राख्न र आफूलाई चाहिएको बेला निकाल्न पनि सक्छौं।’
साना किसान कृषि सहकारीमा सञ्चालक समितिदेखि शेयर सदस्यसम्म सबै महिला कृषकहरू मात्र छन्। सहकारी स्थापना गर्दा २७ जना महिला कृषक आबद्ध थिए। अहिले भने ८६१ जना सदस्यहरू छन्।
नजिकै चिस्यान केन्द्र बनेपछि उत्पादित कृषि वस्तुको मूल्य पहिलेको भन्दा धेरै पाउने अपेक्षा आलु बिउ उत्पादन समूहकी सदस्य खगीसरा पुनले गरेकी छिन्।
एक सिजनमा कम्तिमा २५ किलो आलुको बिउ उत्पादन गर्ने उनले चिस्यान केन्द्रका लागि कोहलपुर पुर्याउनुपर्ने झन्झटिलो प्रक्रियाका कारण सन्तोषजनक मूल्य भने पाउँथिनन्।
‘पहिले सहकारीले किनेर ताजा राख्नका लागि कोहलपुर लैजानुपर्थ्यो, यसले गर्दा हामी उत्पादकले पाउने मूल्य सन्तोषजनक थिएन,’ उनले भनिन्, ‘अब नजिकै कोल्ड सेन्टर बनेपछि मूल्य पनि पहिलेको भन्दा केही बढी पाइएला भन्ने आशा छ।’
सम्बन्धित स्थानीय तह, प्रदेश सरकार तथा अरू पनि सरकारी निकायको सकारात्मक सहयोगका कारण महिला कृषकहरूले पहल गरेको चिस्यान केन्द्र बनाउनका लागि महत्वपूर्ण सफलता मिलेको सहकारीका अध्यक्ष भुषालले बताइन्।
‘महिला दिदीबहिनीले आँटेको कामलाई सफल पार्नुपर्छ भनेर सबै निकायले यसमा लगानी गरिदिनुभयो, यसले गर्दा हामीलाई सहज भयो,’ उनले भनिन्, ‘हामीसँग आबद्ध महिला कृषकहरूले पनि उत्पादनको क्षेत्रमा अझ धेरै सरिक हुने प्रयत्न गर्नुभएकोले हामीलाई यो बनाउने कुरामा आँट गर्न पनि सजिलो भयो।’
‘साना किसान कोल्ड सेन्टर’ विभिन्न भागमा विभाजन गरी उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो।
कोल्ड सेन्टर निर्माणका लागि कुल लागत २ करोड ९७ लाख २५ हजार ३१० रुपैयाँ लागेको उनले जानकारी दिइन् ।
जसमा कर्णाली प्रदेश सरकार, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका, साना तथा मझौला आयस्तर वृद्धि आयोजना (रिजम)स्थानीय कृषि समूहको लगानी छ।
भुषालका अनुसार दुई आर्थिक वर्षमा विभिन्न निकायबाट बजेट विनियोजन गरी कोल्ड सेन्टर निर्माणमा लगाइएको हो।
आर्थिक वर्ष ०७५/७६ मा भेरीगंगा नगरपालिकाबाट ६१ लाख ३९ हजार ५०० रुपैयाँ, गुर्भाकोट नगरपालिकाबाट ५ लाख, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १५ लाख, साना तथा मझौला आयस्तर वृद्धि आयोजनाबाट ३३ लाख ३९ हजार रुपैयाँ चिस्यान केन्द्र निर्माणमा लगाइएको छ।
आर्थिक वर्ष ०७६/७७ मा कृषि विकास निर्देशनालयमार्फत् ६६ लाख ५० हजार रुपैयाँ, भेरीगंगा नगरपालिकाबाट ९ लाख ८६ हजार लगानी गरिएको छ। चिस्यान केन्द्र निर्माणमा लागेको कुल लागतमध्ये सरकारी निकायबाट २ करोड ८ लाख ४९ हजार ५०० रूपैयाँ रहेको छ भने संस्थाको तर्फबाट ८८ लाख ७५ हजार ८१० रूपैयाँ रहेको छ।
निर्माणको लागि पहल गर्ने संस्था स्वयंले आर्थिक वर्ष ०७५/७६ मा २८ लाख ९५ हजार ८०० रुपैयाँ उक्त चिस्यान केन्द्र निर्माणका लागि विनियोजन गरेको थियो।
०७६/७७ मा पनि संस्थाले ५९ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको थियो।
उनका अनुसार राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले पनि चिस्यान केन्द्र निर्माणमा सहयोग गरेको छ। आयोजनाले भवन वरिपरिको पर्खाल बनाइदिएको उनले बताइन्।
भेरीगंगा नगरपालिका–१० झिलमिलेमा निर्माण भएको कर्णाली प्रदेशकै पहिलो ठूलो चिस्यान केन्द्रमा सुरूमै ३९ हजार ७८० किलो अदुवा राखिएको छ। सल्यान र सुर्खेतका कृषकहरूले उत्पादन गरेको अदुवा त्यहाँ राखिएको हो।
उक्त अदुवा प्रशोधनको काम पनि भइरहेको भुषालले बताइन्।
भेरीगंगामै रहेको अदुवा संकलन गर्ने एक व्यवसायिक कम्पनीसँग सहकार्य गरी चिस्यान केन्द्रमा अदुवा राखिएको हो। कृषक समूह वा व्यक्तिगत रूपमा पनि कृषकहरूले आफ्ना उत्पादन यो चिस्यान केन्द्रमा राख्न मिल्ने भुषालले बताइन्।
‘प्रदेशभरका कृषकहरूले आफ्नो समूह वा व्यक्तिगत रूपमा यहाँ आफ्ना उत्पादित कृषि वस्तु राख्न सक्नुहुनेछ,’ उनले भनिन्, ‘स्थानीय स्तरका कृषकको प्रत्यक्ष लगानी र सरकारको अनुदानबाट बनाइएको यो चिस्यान केन्द्रले कृषकहरूलाई राहत मिल्ने छ।’
कृषकहरूले उत्पादित कृषि वस्तु चिस्यान केन्द्रमा राखेवापत एक सिजनमा प्रतिकिलो ४.५ रुपैयाँ शुल्क तिर्नुपर्ने छ।