कथित दलित युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि पर्सा बहुदरमाई नगरपालिका-८ रामनगरीमा आफ्नै आमाले छोरीलाई जलाएर हत्या गरेको खुलेको छ।
कात्तिक २९ गते लक्ष्मीपूजाको भएको यो घटनालाई सुरूमा ‘भवितव्य’ ठानिएको थियो। तर, अनुसन्धान गर्दै जाँदा प्रहरीले आमाले १५ वर्षीया छोरीलाई जलाएर मारेको पत्ता लगाएको छ।
१५ वर्षीया छोरी मानाकुमारी साह तेलीको हत्या अभियोग लागेकी आमा लालमती साह तेली पुर्पक्षका लागि कारागार चलान भएकी छिन्। जिल्ला अदालत पर्साले पुस २३ गते लालमतीलाई कर्तव्य ज्यान मुद्दामा कारागार चलानको आदेश दिएको छ।
घटनामा संलग्न मानाकुमारीका बुवा मनबोध साह तेली ‘फरार’ छन्।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार लक्ष्मीपूजाको दिन मानाकुमारी सुतेको फुसको घरमा आगो लागेको थियो।
त्यो आगो आमा लालमतीले लगाएकी थिइन्।
‘सपिङ’ गएर फर्केकै राति आगो लगाएर हत्या
तेली परिवारका एउटा फुस र एउटा टाइलको घर छ। आमाछोरी सधैँ फुसको घरमा सुत्थे।
लक्ष्मीपूजाको दिन पनि आमाछोरी सँगै सुतेका थिए। राति १० बजे फुसको घरमा अचानक आगलागी भयो। आमा लालमती आफू बाहिर निस्किइन्, छोरीलाई निकालिनन्।
आगो निभाउन गएको प्रहरीलाई पनि उनले भित्र छोरी छन् भनिनन्।
आगो लाग्नुको कारण प्रहरीले केही भेट्टाएन।
घटना अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय पोखरिया, पर्साका प्रहरी निरीक्षक दीपक थापाका अनुसार त्यसदिन छोरी मानाकुमारी बजार गएकी थिइन्।
उनलाई एक हजार रुपैयाँ दिएर ‘सपिङ’ गर्न पठाइएको थियो।
बजारबाट घर फर्किंदा मानाकुमारीले बढी सामान ल्याइन् र त्यो सामान कहाँबाट आयो भनी आमा लालमतीले सोधीखोजी गर्न थालिन्।
मानाकुमारीले त्यो सामान किनेको पैसाको स्रोतबारे बताउन सकिनन्।
ट्युसन पढाउने शिक्षकले दिएको हुनसक्ने शंका परिवारले गरे। त्यो पाटोबाट परिवारले मानाकुमारीलाई सोध्दा स्वीकारिन्।
मानाकुमारी बोर्डिङमा पढाउने शिक्षक रामबाबु चमारसँग ट्युसन पढ्थिन्। मानाकुमारी र चमारको सम्बन्धबारे परिवारलाई पहिल्यै थाहा थियो।
सोही विषयलाई लिएर एक-दुई पटक घरमा झगडा भइसकेको थियो। यो सम्बन्ध अगाडि नबढाउन मानाकुमारीलाई बुवाआमाले चेतावनी दिइसकेका थिए।
परिवारले सम्बन्ध अस्वीकार गर्दागर्दै पनि मानाकुमारी रोकिइनन्। जति भने पनि नटेरेको भन्दै हत्या गर्नुअघि बुवाआमा ‘घनिभूत’ छलफलमा बस्छन्। तल्लो जातको युवकसँगको सम्बन्ध स्थापित भए ‘इज्जत जाने’ निष्कर्षसहित बुवाआमाले छोरीलाई मार्ने योजना बनाउँछन्।
त्यही योजनाअनुसार फुसको घरमा आगो लाग्छ। आगो लागेपछि प्रहरी पुग्छ।
‘आगलागी भएको ठाउँमा हेर्दा शंकास्पद रूपमा जलेको लास फेला परेपछि हामीले सुक्ष्म रूपमा अनुसन्धान थालेका थियौं,’ प्रहरी निरीक्षक थापाले सेतोपाटीसँग भने, ‘अनुसन्धानको सिलसिलामा सोधपुछ र बयान लिँदा छोरीको हत्यामा आमाबुवा नै संलग्न रहेको खुलेको छ।’
अनुसन्धानअनुसार आगो लागेको थाहा पाएलगत्तै बुहारी मनीषादेवी निभाउन जान्छिन्। तर, आमा लालमतीले निभाउन दिँदिनन्। बुहारीलाई लखेट्छिन्।
फेरि, काका नाता पर्ने नजिमा साह तेली पुग्छन्। उनलाई लालमतीले शरीरमा भाटाले चोटपटक लाग्ने गरी हिर्काएर खेदाउँछिन्।
‘बयानमा मनीषादेवी र नजिमाले यो कुरा बताएका छन्, त्यो बयान आएपछि लालमतीले हत्या स्वीकार गरेकी छिन्,’ थापाले भने।
थापाका अनुसार लालमतीले छोरी निदाएको बेला उनी सुतेको खाटमा आगो लगाएको बताएकी छिन्। खाटमा मात्र आगो लगाउँदा शंका हुने ठानेर छानोमा पनि आगो लगाएको बताएकी छिन्।
प्रहरीले घोप्टो परेको अवस्थामा मानाकुमारीको शव फेला पारेको थियो। उनको शव निकै जलिसकेको थियो।
पोस्टमार्टम रिपोर्ट संकलनसँगै प्रहरीले घटना भएको एक महिनापछि लालमतीलाई नियन्त्रणमा लिएको थियो।
चमार दलित समुदाय हो। ‘ती दलित युवासँग सम्बन्ध स्थापित हुने नहुने भविष्यको पाटो ठेगान नलाग्दै बुवाआमा मिलेर छोरीको हत्या गरेको यो घटनाको अनुसन्धानले देखाउँछ,’ प्रहरी निरीक्षक थापा भन्छन्।