वीरगन्जस्थित नेसनल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोग र इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)को निर्देशन अटेर गर्दै रामजी रामलाई परीक्षा दिनबाट रोकेको छ।
सोमबारदेखि सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षा दिन गएका रामजीलाई कलेजले गैरकानुनी रूपमा कलेज परीक्षा हलबाटै निकालेको हो।
मेडिकल कलेजहरूको शुल्क नियामक निकाय चिकित्सा शिक्षा आयोगले आइतबार मात्रै सरकारी छात्रवृत्तिमा पढिरहेका रामजीको सबै शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको हुँदा उनलाई परीक्षामा सामेल गर्ने व्यवस्था गर्न आइओएमलाई पत्र लेखेको थियो। सो पत्रको बोधार्थ आयोगले कलेजलाई पनि पठाएको थियो।
आइओएमका डिन डा. दिव्या सिंहले रामजीलाई परीक्षामा सामेल गराउन कलेजलाई निर्देशन दिइएको दावी सेतोपाटीसँग गरिन्।
'पत्र आएपछि हिजै कलेजलाई फोन गरेर रामजीको फाराम पठाएर परीक्षामा बस्न दिनू भनेका थियौं। तर अहिले परीक्षामा सामेल नगराएको भन्ने सुन्न आएको छ। यसबारे छानबिन गर्छौं,' उनले भनिन्।
डा. सिंहले चितवन मेडिकल कलेजबाट पनि यस्तै समस्या आएको भन्दै दुवै विद्यार्थीलाई परीक्षामा सामेल गराउन भनी निर्देशन दिएको जनाइन्।
उनले भनिन्, 'चितवनमा मेरो आज बिहान कुरा भएको थियो। उहाँले के गर्नु भनेर सोधेपछि मैले परीक्षामा बस्न दिनू भनेकी थिएँ। सायद बस्न दिनुभयो होला।'
उनले अब नेसनल कलेजको हकमा भने छानबिन गरेर आवश्यक कारवाही गरिने बताइन्।
नेसनल मेडिकल कलेजका सञ्चालक बसरूद्दीन अन्सारीले भने आइओएमबाट निर्देशन आए पनि शुल्क नतिरी रामजीलाई फाराम नदिने जनाए।
'परीक्षा हामीले लिने होइन, आइओएमले लिने हो। अब उसैले लिए भइगयो नि। मलाई के मतलब?,' अन्सारीले सेतोपाटीसँग भने, 'मलाई त मेरो पैसा पाउनुपर्यो, त्यति हो।'
उनले कलेजको बक्यौता तिरे मात्र रामजीलाई फाराम दिइने बताए। बसरूद्दीनले रामजीसँग माग गरेको शुल्क अवैधानिक हो। बसरूद्दीनको कलेजले विद्यार्थीहरूसँग सरकारले तोकेभन्दा बढी शुल्क असुल्ने गरेको छ।
आफूले तिर्नु नपर्ने र कलेजले अनुमगन टोलीले समेत नतिर्नू भनेको शुल्क मागेर केलजले परीक्षा दिनबाट बन्चित गरेको रामजीले बताए।
'म परीक्षा हलमा छिरेको एक मिनेट मात्र भएको थियो। त्यहाँ रहनुभएका सरले विधि प्रक्रिया मिलेको छैन भनेर बाहिर निकाल्दिनुभयो,' उनले भने।
रामजी सरकारको सहयोगमा एमबिबिएस अध्ययन गर्दैछन्। २०७२ सालमा सरकारले वादी, डोम, मुसहर र चमार गरी चार समुदायकालाई पैसा तिरेर पढाउने भनेपछि रामजी पनि सोही अनुरूप छात्रवृत्ति पाएर वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा भर्ना भएका हुन्।
अहिले पाँचौं वर्षमा रहेका उनले गत वर्ष नै पैसा अभावका कारण नियमित परीक्षा दिन पाएनन्। यसपटक भने उनले विभिन्न मानिसबाट सहयोग उठाएर होस्टल र मेस शुल्क बापत कलेजलाई ८ लाख ११ हजार पाँच सय रूपैयाँ बुझाए।
कलेजले भने थप ७ लाख ५० हजार १३१ रूपैयाँ तिर्नुपर्ने भन्दै उनलाई परीक्षा दिनबाट रोकेको छ।
सञ्चालक अन्सारीले भने बाँकी सबै शुल्क बुझाए मात्र रामजीलाई फाराम दिइने दोहोर्याए।
'उनलाई कसैले भर्ना लिएको थिएन तर नेसनलले लियो। आज आएर गल्ती गरियो भन्ने फिल भइरहेको छ,' उनले भने।
यो पनि पढ्नुस्ः