रामजी रामलाई भोलिको परीक्षामा सामेल गराउन वीरगन्जस्थित नेसनल मेडिकल कलेजलाई इन्स्चिच्युट अफ मेडिसिन (आइओएम) ले कडा निर्देशन दिएको छ।
मंगलबार बसेको बैठकले भोलि हुने परीक्षा र बाँकी परीक्षामा रामजीलाई सामेल गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको आइओएमका सहायक डिन डा. राजेन्द्र गुरागाईंले जानकारी दिए।
'रामजीलाई भोलि हुने परीक्षा र बाँकी परीक्षाहरूमा पनि सामेल गराउन भनेर कलेजलाई टेलिफोनबाट भनेका छौं र चिठी पनि पठाएका छौं,' उनले भने, 'भोलि पनि राख्नुभएन भने कारबाहीको लागि कदम चाल्छौं।'
उनले गत सोमबार पनि कलेजलाई रामजी रामलाई परीक्षामा सामेल गराउन निर्देशन दिइए पनि कलेजले नमानेको भन्दै पुनः कडा निर्देशन दिइएको जनाए।
उनले भने, 'अस्ति पनि चिकित्सा शिक्षा आयोगबाट पत्र आएपछि हामीले कलेजलाई फोन गरेरै उहाँलाई परीक्षामा बस्न दिनु भनेर भनेका थियौं। त्यो भन्दाभन्दै पनि नगरेकाले पुनः स्मरण गराउँदै कडा निर्देशन दिएका छौं।'
सोमबारदेखि सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षा दिन गएका रामजीलाई कलेजले परीक्षा हलभित्र छिरेको एक मिनेटमै निकालिदिएको थियो।
नेसनल मेडिकल कलेजका सञ्चालक बसरूद्दीन अन्सारीले भने उनले बक्यौता रकम नबुझाएकाले परीक्षामा बस्न नदिएको बताएका छन्।
तर रामजीले भने कलेजले आफूलाई अवैध शुल्क माग्दै परीक्षा दिनबाट बञ्चित गराएको बताएका छन्।
आफूले होस्टल र मेस शुल्कबापत ८ लाख बुझाए पनि अहिले थप ७ लाखको बक्यौता रकम तिर्न कलेजले ताकेता गरेको उनले जनाए।
हाल पाँचौ वर्षमा अध्ययनरत उनले गत वर्ष नै पैसा अभावका कारण नियमित परीक्षा दिन पाएका थिएनन्। तर यसपालि भने बाहिरका मानिसहरूसँग सहयोग उठाएर कलेजको होस्टल र मेस शुल्क बुझाए पनि कलेजले अतिरिक्त शुल्क माग्दै उनलाई परीक्षामा सामेल नगराएको हो।
२०७२ सालमा सरकारले वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर पढाउने भनेपछि उनी पनि सोही कार्यक्रम अन्तर्गत नेसनल कलेजमा भर्ना भएका थिए।
यी पनि हेर्नुस् :
अब डाक्टर रामजी रामले किनिदिने छन् बालाई जुत्ता
पैसा नबुझाएको भन्दै रामजी रामले दिन पाएनन् एमबिबिएस चौथो वर्षको परीक्षा
रामजीलाई परीक्षा दिन रोकेकामा बसरूद्दीनको कलेजलाई आइओएमले कारबाही गर्ने