इन्सिच्युट अफ मेडिसिन (आइओएम) ले कडा निर्देशन दिएपछि वीरगन्जस्थित नेसनल मेडिकल कलेजले रामजी राम र पंकज रामलाई परीक्षामा सामेल गराउने भएको छ।
एक घण्टा अगाडि मात्र कलेजले फाराम भर्न बोलाएको रामजीले सेतोपाटीलाई जानकारी दिए।
'एक घण्टा अगाडिमात्र कलेजले बोलाएर फाराम भर्ना लगाउनुभयो। अहिलेलाई परीक्षा दिँदै गर भन्नुभयो,' उनले भने।
योसँगै रामजी राम र पंकज रामले बुधबारको परीक्षा दिन पाउने भएका छन्।
हिजोबाट सुरू भएको एमबिबिएस परीक्षा दिन गएका उनीहरूलाई कलेजले शुल्क नतिरेको भन्दै परीक्षा हलमा छिरेको एक मिनेटमै कलेजले बाहिर निकालिदिएको थियो।
रामजी भने कलेजले आफूसँग लिन नपाइने शुल्क मागेको बताउँछन्।
परीक्षामा सामेल नगराएपछि आइओएमले मंगलबार कलेजलाई रामजी रामलाई परीक्षामा सामेल गराउनु भन्दै कडा निर्देशन दिएको थियो। सोमबारको परीक्षामा रामजीलाई कलेजले निकालिदिएपछि मंगलबार आइओएमको आपतकालीन बैठक बसेको थियो।
आइओएमको निर्देशनपछि कलेजले सुरूमा रामजी रामको नाममा मात्र पत्र आएको भन्दै आफूलाई मात्र बोलाएको भन्दै रामजीले भने, 'सुरूमा मलाई मात्र बोलाउनुभएको थियो। त्यसपछि पंकज पनि छ भन्दा उहाँहरूले पंकजको नाममा पत्र आएको छैन भन्नुभयो तर फेरि पछि पंकजलाई पनि बोलाएर दुवै जनालाई फाराम भर्न लगाउनुभयो।'
तर सोमबारको परीक्षा भने दुबै जनाको छुटिसकेको छ। रामजीले यसबारे आइओएमलाई जानकारी गराइएको र उताबाट के गर्ने भन्ने अहिले जानकारी नआएको जनाए।
रामजी र पंकज राम दुबै जना अहिले एमबिबिएस् पाँचौं वर्षमा अध्ययनरत छन्। सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमारलाई पैंसा तिरेर पढाउने भनेपछि सोही कार्यक्रम अन्तर्गत दुबैजना नेसनल मेडिकल कलेजमा भर्ना भएका हुन्।
उनीहरूको सम्पूर्ण खर्च विश्वविद्यालय अनुदान आयोगले तिरिदिने व्यवस्था छ। जसमा होस्टल र मेस खर्च भने उनीहरू आफैंले तिर्नुपर्ने भनिएको छ। तर रामजीले आफूले तोकिएको शुल्क तिरिसक्दा पनि कलेजले अतिरिक्त शुल्कको नाममा अवैध शुल्क मागेको जनाए।
कलेजले उनीहरूलाई परीक्षा दिनबाट रोक लगाएपछि त्यसको सर्वत्र आलोचना भएको थियो।
यी पनि हेर्नुस्:
अब डाक्टर रामजी रामले किनिदिने छन् बालाई जुत्ता
पैसा नबुझाएको भन्दै रामजी रामले दिन पाएनन् एमबिबिएस चौथो वर्षको परीक्षा
रामजीलाई परीक्षा दिन रोकेकामा बसरूद्दीनको कलेजलाई आइओएमले कारबाही गर्ने
रामजीलाई भोलिको परीक्षामा सामेल गराउन आइओएमले दियो नेसनल कलेजलाई कडा निर्देशन