२०६२ साउनमा भेरीगंगा-२ (साबिकको लेकपराजुल-६) सुर्खेतका पूर्ण सुनारको घर-जग्गा पहिरोको निकै जोखिममा थियो।
माथिबाट पहिरो खस्ला भन्ने पिरैपिरले बस्न नसकेपछि एक दिन उनको परिवारले घरको सबै सामान निकाल्यो। छिमेकीको घरमा लिएर राखे, आफूहरू पनि छिमेकीकै घरमा बास बसे।
भोलिपल्ट बिहान हेर्न आएका उनीहरूले आफ्नो घर र जग्गाको निशानासमेत देखेनन्।
‘घर र थारै जग्गा थियो, त्यो पनि सबै भिरालो थियो,’ उनले भने, ‘पहिरो आउनेजस्तो भएपछि परिवार छिमेकीको घरमा गयौं, नभन्दै बिहान हेर्दा घर-जग्गा पूरै पहिरोले बगाएर खोलामा पुर्याएको थियो।’
त्यसयता पूर्णले अन्यत्रै तीन ठाउँमा आफ्नो परिवारलाई अटाउने प्रयास गरे।
पूर्णसँगै आमा, श्रीमती, दुई छोरा र एक छोरी छन्। उनका बुवाको केही वर्षअघि मात्र मृत्यु भयो।
पहिरोले घर-जग्गा बगाइदिएपछि सात जनाको परिवारलाई ओत लगाउन उनले थुप्रै प्रयास गरे।
ओत लागेका दुई ठाउँबाट त उनको परिवार निकालियो। हाल उनी बसेको ठाउँबाट पनि उनलाई हटाउने तयारी गरिँदैछ। सबैतिरबाट हटाउन थालिएपछि उनको परिवार ढुक्कले भने कहीँ बस्न सकेको छैन।
आफ्नो घर-जग्गा बगेपछि पूर्णले परिवारलाई राख्न आफ्नो पहिलेको गाउँभन्दा पारिको छिन्चु-सुर्खेत सडकखण्ड छेउमा ल्याए। सडकछेउ भेरीगंगा नगरपालिका-२ मा पर्ने सत्तरीस्थित रानी बनको खाली ठाउँमा त्रिपाल हालेर बसे।
त्यसको एक महिना नपुग्दै सामुदायिक वनले उनीहरूलाई हटाइदियो।
‘बर्खाकै समय थियो, हामी त्रिपाल हालेर बस्न लागेको एक महिना नपुग्दै बनले हामीलाई हटायो,’ उनले भने, ‘एकातिर घर-जग्गा बगेको पीडा, अर्कोतिर बास नपाएको पीडा हुन थाल्यो।’
त्यसपछि उनको परिवार त्यहीँ नजिकै रहेको आफन्त जयबहादुर विटालुको घरमा बसे। १५ दिनजति बसेपछि घरधनीले अर्को विकल्प खोज्न भने। पूर्णले नजिकैको सनिमोर प्राथमिक विद्यालयको पूर्वपट्टिको झाँडी फाँडेर परिवारलाई त्रिपालमुनि बसाले।
उनले त्यहाँ दुई कोठाको कच्ची घर पनि बनाएका छन्। त्यसको केही वर्षयता उनलाई गाउँले र विद्यालय दुबैले हट्न ताकेता गरिरहेका छन्।
‘सबैले निकालिदिएपछि कहाँ जाने त भनेर केही दिन त तनावै भयो, पछि विद्यालयको पूर्वपट्टि झाँडी फाँडेर त्रिपाल हालेर बस्यौं,’ पूर्णले भने, ‘अहिले विद्यालयले आफ्नो जग्गा हो भनेर हट्न भनेको छ, मेरो विकल्प भने कतै छैन।’
सुरूमा उनलाई स्थानीयले नै आड दिएका थिए। त्यही आडमा उनले त्रिपालको सट्टा ऋण गरेर भए पनि घर बनाएका हुन्।
‘सुरूमा त्यहाँ पनि बनपालेहरू आएर नबस्न भन्नुभयो, हामीले हाम्रा सबै दुखः भन्यौं। उहाँहरूलाई पनि दया पलाएछ, हटाउन सक्नुभएन,’ उनले भने, ‘त्यही आडमा त्रिपालमा कति बस्नु भनेर एउटा कच्ची घर बनायौं।’
मानिस छिर्नै डराउने झाँडी मासी जोतखन गरेर बस्नलायक बनाएपछि गाउँलेहरूले पनि रिस गर्न थालेको पूर्णले दुखेसो पोखे।
केही वर्षयता स्थानीयले नै विभिन्न समयमा सामुदायिक वनका कर्मचारीहरूलाई समेत बोलाएर हटाउन खोजिरहेको उनी बताउँछन्।
‘उनीहरूले वनपालेहरूलाई बारम्बार बोलाए पनि हाम्रो समस्या देखेर हटाउन सक्नुभएन, पछि गाउँलेहरूले स्कुललाई लगाउन थालेका छन्,’ उनले भने, ‘यही विषयमा निर्णय गर्न विद्यालयमा पनि विभिन्न समयमा भेला बसेर मलाई हट्न भन्छन्, विकल्प नै नभएपछि कहाँ जानु।’
उनी बसेको छेउको विद्यालय र त्यस आसपासका केही घरहरू ऐलानी जग्गामै बनेका छन्। उक्त विद्यालय २०४५ सालमा स्थापना भएको हो। खोलाभन्दा पारि सनिमोर गाउँमा स्थापना भएको विद्यालय स्थापनाको केही वर्षपछि सत्तरीमा सरेको थियो।
अहिले विद्यालयले पूर्णको घरको मुनिबाट समेत सडक खनेको छ।
‘पहिले नै माथिल्लो बाटो हुँदाहुँदै अहिले मेरो घरको मुनिबाट बाटो खनियो, यो बाटोले गर्दा पानी पर्यो भने शौचालय भत्किनेवाला छ,’ पूर्णले भने, ‘मैले बरू माथिल्लो बाटो बढाएर लिनुस्, तलपट्टी नखन्नुस् भनेको थिएँ, जबर्जस्ती खनियो।’
ऐलानीमै भएको विद्यालयको जग्गा नापजाँच गर्ने क्रममा ४० रोपनी जग्गा विद्यालयको सेवा क्षेत्रभित्र परेको सनिमोर प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दीपक वलीले बताए। त्यसमा पूर्णले बनाएको घर र केही जग्गा पनि पर्ने उनले जानकारी दिए।
अध्यक्ष वलीले उनलाई विकल्प दिँदा पनि नमानेको बताए।
‘हामीले उक्त ठाउँबाट उठाउनेमात्र भन्दा पनि नजिकै खोल्सापारिको थोरै उहाँले नै खनजोत गरेको जग्गा छ, त्यहाँ बस्नुस् भनेका छौं,’ वलीले भने, ‘उहाँले मान्नुभएको छैन।’
पूर्णले भने उक्त जग्गामुनिबाट खनिएको सडकका कारण त्यो ठाउँ जोखिममा भएकाले आफू त्यहाँ जान नसक्ने बताए। आफू त्यहाँ बस्नुभन्दा पछि विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र जग्गा लिन खोजेकाले पनि आफूले घर बनाएको ठाउँ नछोडेको उनले बताए।
‘म पहिला यहाँ आउँदा यो जग्गा विद्यालयको क्षेत्रभित्र पर्थेन, पछि मलाई हटाउनका लागि चलखेल गरियो,’ उनले भने।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष वलीले आफूले यसअघिका विद्यालय व्यवस्थापन समितिका निर्णय कार्यान्वयन गर्न खोजेको बताए।
‘म त यहाँको नयाँ अध्यक्ष हो, यसअघि नै यहाँ उहाँलाई अन्त पठाउने निर्णय भएको रहेछ,’ उनले भने, ‘यसलाई कार्यान्वयन गर्न मेरो पनि भूमिका रहन्छ, तर उहाँ तत्कालै हटिसक्नु पर्ने अवस्था त छैन।’
अध्यक्ष वलीले पूर्णका बुवाले नै आफूले त्यहाँ ठाउँ छोड्ने निर्णयमा सहीछाप गरेको बताए। तर, पूर्णले भने आफ्नो बुवाले लेखपढ गर्न नजानेको अवस्थामा जालसाझी गरी सहीछाप गर्न लगाएको बताए।
‘मेरो बुवा पहिल्यैदेखि भारत बस्नुहुन्थ्यो, उहाँलाई पढ्न लेख्न पनि आउँथेन,’ उनले भने, ‘उहाँ सधैं रक्सी खानुहुन्थ्यो, खाएकै बेला दिउँसो स्कुलमा लगेर औंठाछाप गराइदिनुभएछ।’
बुवाले सहीछाप गरेको विषयमा विद्यालयसँग आफूले कुरा गरे पनि विद्यालयले भने कुनै वास्ता नगरेको बताए।
पूर्णको परिवारलाई त्यहाँबाट हटाउन विद्यालयले अनावश्यक रूपमा जग्गामा आफ्नो दाबी गरेको सोही विद्यालय व्यवस्थापन समितिका एक पूर्वसदस्यले बताइन्।
‘उनको परिवार रहरले पनि त्यहाँ बसेको होइन, घर पहिरोले बगाउँदा बाध्य भएर त्यहाँ आएको हो,’ उनले भनिन्, ‘गाउँले र स्कुल सबै एकजुट भएर अहिले उनको परिवारलाई हटाउन खोजेका छन्, उनको लागि बोल्ने अहिले अरू कोही छैन।’
पूर्णको परिवार त्यहाँबाट नहटे पानी, बत्तीको सुविधा नदिने चेतावनी बारम्बार विद्यालयले दिने गरेको उनले बताइन्।
भेरीगंगा नगरपालिकाकी उपमेयर रेणु आचार्यले भने आफूले त्यसबारे पूरै जानकारी नपाएको बताइन्।
‘मैले एकपटक कुरा त अरूबाट सुनेकी थिएँ, सम्बन्धित व्यक्तिबाट भने त्यस्तो केही समस्याबारे कुरा आएको छैन,’ उनले भनिन्।
आफूले यस विषयमा बुझेर समस्या समाधानका लागि पहल गर्ने बताइन्। विद्यालय र पूर्णको परिवार बसेको जग्गाको बारेमा बुझेर उचित समाधानको बाटो अपनाउने उनले बताएकी छिन्।
पूर्णले आफ्नो समस्याबारे कुनै निकायमा निवेदन भने दिएका छैनन्।
‘सुरूमा घर-जग्गा पहिरोले फाल्दा प्रशासनमा निवदेन दिएका थियौं, त्यसबेला त्रिपाल र केही भाँडाकुँडा पाएका थियौं,’ उनले भने, ‘पछि कतै निवेदन दिएको छैन, मलाई कहाँ निवेदन दिने भन्नेबारे पनि थाहा भएन।’