सुदूरपश्चिमको राजनीतिमा रामजनम चौधरी चिनिएको नाम हो।
२०१७ सालमा कैलालीको जोशीपुर गाउँपालिका-४ मा जन्मेका चौधरी अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी धेरै पटक सांसद र मन्त्री भइसके।
लामो समयदेखि राष्ट्रिय राजनीतिमा रहेका पूर्वमन्त्री चौधरी अहिले प्रायः आफ्नै रिसोर्टमा भेटिन्छन्।
आफैंले थालेको थारू फुडल्याण्ड रिसोर्टले उनलाई गाउँमै व्यस्त बनाइरहेको छ।
स्कुले जीवनदेखि नै राजनीतिमा होमिएका चौधरीले अहिले ६ करोडको लगानीमा रिसोर्ट खोलेर व्यवसाय गरिरहेका छन्।
जन्मेकै गाउँमा गत चैतमा उनले थारू फुडल्याण्ड सञ्चालनमा ल्याएका छन्।
‘जनताले यसपटक तिमी गाउँतिरै बस भनेर चुनाव जिताएनन्, यसलाई जनताले दिएको सुझाव मानेर मैले आफ्नै कन्सेप्टले गाउँमै फुडल्याण्ड खोलेको हुँ,’ उनले भने।
पार्टीको काम दिनभरि हुँदैन। बचेको समयमा केही उद्योग, व्यापार गर्नुपर्यो भन्ने सोचले फुडल्याण्ड सुरू गरेको उनको भनाइ छ।
‘जनताले नेतागिरी मात्रै कति गर्छौ। केही काम पनि गरेर देखाऊ भनेपछि मेरो सानैदेखि गाउँमै केही गर्ने सोच पूरा भयो,’ उनले भने।
फुडल्याण्डले गाउँका स्थानीयहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगार मिलेको दाबी उनी गर्छन्।
‘सुरूमा फुडल्याण्डका संरचना निर्माण गर्दा गाउँकै मान्छेले मिस्त्री, कार्पेन्टर, सिकर्मी, डकर्मीको काम पाए। अहिले प्रत्यक्ष रूपमा १६ जना कर्मचारीलाई रोजगारी दिएको छु,’ उनले भने।
स्थानीयले उत्पादन गरेको तरकारी, फलफूल, मासु, अन्डा, अन्न खरिद गर्न सहज भएको उनी बताउँछन्।
‘मैले यहाँ उत्पादन भएको खाद्यान्न, कृषि उपज दैनिक खरिद गर्छ, यसले गर्दा स्थानीयले दुई चार पैसा आम्दानी गर्न पाएका छन्,’ उनले भने, ‘स्थानीयलाई व्यवसायिक रूपमा माछापालन, कुखुरा पालन तरकारी खेतीजस्ता काम गर्नुहोस् म खरिद गर्छु भनेको छु।’
साथै थारू समुदायले खाना, संस्कृतिलाई प्रचार-प्रसार, जर्गेना गर्न पनि सहर बजार नभई गाउँमै रिसोर्ट सञ्चालन गरेको उनले बताए।
आफूले थालेको कामबाट स्थानीयलाई रोजगारीका साथै गाउँको विकास हुने अपेक्षा चौधरीको छ।
उनले थारू फुडल्याण्ड सञ्चालन गर्ने सोच एक वर्ष अगाडि बनाएका थिए। तर, लगानी अभाव थियो। बैंकबाट ऋण निकाल्न खोजे। नेतालाई बैंकहरूले खासै पत्याउँदा रहेनछन्।
‘मसँग चार लाखभन्दा बढी पैसा थिएन। धेरै बैंकमा ऋण माग्न गए तपाईं नेता भएकोले हामी दिन्नौं पनि भने,’ उनले भने, ‘कतिले लोन छैन पनि भने। फाइल हेर्दै धेरै बैंकले मलाई रित्तै फर्काए।’
एक बैंकमा चिनेका म्यानेजरलाई बिन्ति बिसाएर आफ्नो समस्या सुनाएपछि बल्ल ऋण पाएको उनले बताए।
सुरूमा त्यहाँबाट दुई करोड ऋण मागे। पछि दोस्रो र तेस्रो किस्ता पैसा माग्दै मैले चैत महिनामा थारू फुडल्याण्ड सञ्चालनमा ल्याए।
‘सबै नेतालाई एकै बास्केटमा राख्ने चलनले अहिले मैले करोड ऋण निकालेर सञ्चालन गरेको फुडल्याण्डमा पनि धेरैले शंका गर्छन्,’ उनले भने, ‘यो त मन्त्री, सासंद भएको मान्छे, जमानामा पैसा जम्मा गरिराखेको होला, त्यसैले अहिले करोडौंको व्यवसाय गरिरहेका छन् भनेर कतिले भनेको पनि सुन्छु।’
उनका अनुसार समाजमा सबभन्दा ठूलो चुनौती रोजगार हो। गाउँमै रोजगार कसरी सिर्जना गर्ने भन्ने उदाहरण मात्रै आफूले पेश गरेको उनले बताए।
‘नेता बन्दा गाली मात्रै पाइन्छ, व्यवसायी बनेपछि ताली र सुझाव दुबै चिज पाएको छु,’ उनले खुसी हुँदै भने।
बेरोजगारीको समस्यालाई पनि हेरेर आफूले यो कामको सुरूआत गरेको चौधरीले बताए।
थारू फुडल्याण्डमा के छ?
पूर्व–पश्चिम राजमार्गदेखि १४ किलोमिटर दक्षिण र टीकापुर बजारदेखि ८ किलोमिटर पश्चिमस्थित जोशीपुरको वडा नम्बर ४ मा थारू फुडल्याण्ड छ।
पूर्वमन्त्री चौधरीले सञ्चालन गरेको यो फुडल्याण्डमा १७ जना कर्मचारी छन्। कर्मचारीहरू थारू पहिरनमै हुन्छन्।
प्रवेशद्वारमै दुई बाघसँगै उभिएकी युवतीका मूर्तिले पाहुनालाई स्वागत गरेको देखिन्छ।
भित्र बगैंचा बनाइएको छ। बगैंचाको दुबैपट्टि थारू संस्कार दर्शाउने घर देखिन्छन्।
खानाका परिकारमा पनि थारू समुदायका परम्परागत खानालाई विशेष बनाइएको छ। बस्ने खाने सामग्री पनि काठ र डोरीले बनाइएको छ।
चौधरीको राजनीति यात्रा
पञ्चायतकालमा उनी स्कुल पढ्ने बेला बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईका लेख पढ्ने गर्थे।
उनीहरूको सिद्धान्तबाट प्रभावित भएपछि चौधरीले नेपाली कांग्रेस निकट रहेर राजनीतिक यात्रा सुरू गरेका थिए।
२०३६ सालको जनमत संग्रहमा उनले बाँके जिल्लाको विद्यार्थी आन्दोलनको नेतृत्व सम्हालेका थिए।
२०४६ सालको जनआन्दोलनमा पनि उनले नेपाली कांग्रेसका तर्फबाट सहभागिता जनाएका थिए। पहिलो जनआन्दोलनमा उनकै नेतृत्वमा नेपालगन्जमा जुलुस निस्कन्थे। त्यसबला उनी जेलमा परे।
२०४८ सालको चुनावपछि उनी मन्त्री भए। उनले यसबेला बाटो, शिक्षा, बिजुली, टेलिफोन र स्वास्थ्य क्षेत्रमा काम गरेको दाबी गरे।
‘सुदूरपश्चिमाञ्चललाई राज्यले हेपेको अहिलेको पनि अवस्था छ। पहिले त झन् नाजुक थियो,’ उनले भने।
यसपछि बनेका सरकारले कैलालीमा विभिन्न सडक निर्माणका काम गरेको उनले बताए।
‘कर्णाली पार गरेर राजधानी जान सकिने अवस्था थिएन। भारत भएर आवतजावत गर्नुपर्थ्यो। पछि कर्णाली पुल बन्यो,’ उनले भने।
उनले स्वास्थ्य, भूमिसुधार र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।
वि.सं. २०६४ सालमा थारू समुदायले उठाएका मुद्दा अहिले पनि पूरा हुन नसकेको उनले बताए।
‘संविधानमा आदिवासी जनजाति र विपन्न समुदायका सवालमा थुप्रै कुरा छुटेकोले अहिले पनि संविधान अपूर्ण नै रहेको छ,’ उनले भने।
थारूहरूले पूरा संविधान अहिले पनि स्वीकार गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।
नेपालमा संविधान निर्माण हुँदा उनले हस्ताक्षर गरेका थिएनन्।
संविधानप्रति असन्तुष्ट थारू, आदिवासी र जनजातिका माग सम्बोधन हुनुपर्ने उनको अडान छ।