कैलालीका थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदैछन्।
एक हप्ता पहिलेदेखि नै तयारी सुरू भएका थारु समुदायमा माघी पर्वले उत्साह थपेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ की बिपनी चौधरीले हरेक वर्ष पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म धुमधामका साथ माघी पर्व मनाउने गरेको बताइन्। उनले पर्वका लागि एक हप्ता अघिदेखि नै सालका पात टिप्ने, खानपिनका परिकार बनाउन कुटानी पिसानीको काम गरेको बताइन्।
‘दुना, टपरी बुन्ने, ढिकरी र रोटी पकाउने काम गर्यौं,’ उनले भनिन्।
माघीमा बंगुरको मासु, जाँड पनि थारु समुदायमा खाने गरिन्छ। यस्तै ढिकरी, आलु, मुला र सिन्कीको तरकारी पनि यस चाडमा खाने गरिन्छ।
पुसको अन्तिम दिन यी परिकार खाएर माघ १ गते बिहान नदी तलाउमा नुहाएर आफन्तजनबाट आशीर्वाद लिने चलन रहेको विपनीले बताइन्।
नयाँ वर्ष पनि भएकाले थारु समुदायले यसबेला छोरी चेलीलाई माइतीमा बोलाउने र मीठा परिकार खुवाउने गर्छन्।
विगतका वर्षहरू जस्तो कोरोनाका कारणले यो वर्षमा घर-घरमा गएर नाँच्ने गाउने भने हुन नसकेको सोही ठाउँकी सुन्दरी चौधरीले बताइन्।
परम्परा अनुसार यस बेला थारु समुदायले गाउँको अगुवा भलमन्सा, चौकीदार पनि छनोट गर्ने गर्छन्।
यसबेला थारू समुदायले गाउँमा अर्को वर्ष गरिने कार्यको वार्षिक योजना समेत बनाउने गर्छन्। यसका साथै समुदायका समस्याबारे छलफलसमेत हुने गरेको थारु अगुवा धनगढी ६ का मोतिलाल चौधरीले बताए।
उनले घर छुट्टिनेहरू पनि यसबेला भागबण्डा समेत गर्ने चलन रहेको बताए।
पछिल्लो समय युवा पिँढीले संस्कृति बिर्सिंदै गएकोप्रति पार्वती चौधरीले चिन्ता व्यक्त गरिन्।
माघीको अवसरमा विभिन्न ठाउँमा माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिएका छन्।
कैलालीका विभिन्न स्थानीय तहले पर्वका अवसरमा सार्वजनिक बिदा पनि दिएका छन्।
भजनी नगरपालिका र जानकी गाउँपालिकाले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
यस्तै, कैलारी र जोशीपुर गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेका छन्।
कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको जानकारी दिए।
जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले माघ १, २ र ४ गते बिदा दिइएको जानकारी दिए।