एक व्यक्तिको जग्गा अर्कै व्यक्तिको नाममा गरेको आरोपमा मालपोत कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा पक्राउ परेका छन्।
सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिई अर्काको नाममा गर्ने काममा सहयोग गरेको आरोपमा नायब सुब्बा विश्वरूप साँवद पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बुधबार उनलाई पक्राउ गरेको हो। रावतको नाममा शंकरचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये ४ कठ्ठा जग्गा कित्ताकाट गरी फरक-फरक व्यक्तिका नाममा विक्री भएको खुलेको छ।
सोही काममा मिलेमतो गरेको आरोपमा साँवदलाई पक्राउ गरिएको हो।
उनले सन्तोष ठाकुर नामका व्यक्तिसँगको मिलेमतोमा उक्त काम गरिएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मुख्य अभियुक्त भनिएका ठाकुर भने पक्राउ परेका छैनन्।
‘मुख्य मान्छे पक्राउ परेको छैन, जग्गा अर्काको नाममा गर्न सहयोग गरेको भनिएका मालपोतका एक जना नायब सुब्बा पक्राउ परेका छन्,’ जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने।
यसबारेमा थप अनुसनधान भइरहेको उनले बताए।