नुवाकोटको सिसडोलमा फोहोरमैला व्यवस्थापन सम्बन्धी विषय बेलाबेला चर्चामा आउँदै, सेलाउँदै गर्छ। एकदिन काठमाडौंको फोहोर सिसडोल पुगेन भने यहाँका सडक र गल्ली दुर्गन्धित हुन्छ। अर्को दिन फोहोर उठेन भने मास्कले पनि गन्ध थेग्न सक्दैन। सबैतिरबाट विरोध सुरू हुन्छ।
काठमाडौंले एक-दुई दिन थाम्न नसकेको फोहोरको व्यथा सिसडोलले १४ वर्षदेखि सम्हाल्दै आएको छ। भौतिक सम्पत्तिदेखि मानवीय स्वास्थ्यमा फोहोरकै कारण समस्या भोग्नु परेको स्थानीयको गुनासो छ।
अब पनि फोहोर व्यवस्थापनको समस्या सम्बोधन नगरे फोहोर ल्याउन नदिने सिसडोल-बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिका संयोजक नवराज ढुंगानाले बताए।
'अब १० गते एउटा कार्यक्रम गर्नेछौं। हाम्रो समस्या सम्बोधन सरकारले गरेन भने फोहोर ल्याउन नदिने लगायत सरकारलाई दबाब दिने कार्यक्रम गर्ने मिति तय गर्छौं,' उनले भने।
फोहोर काठमाडौं र धादिङको सीमानामा छ। धादिङ, नुवाकोट र काठमाडौंको केही भागका मान्छे त्यो फोहोरबाट प्रभावित छन्। फोहोरकै विषयमा बेलाबेलामा त्यहाँका व्यक्तिबीच झगडा पनि भइरहन्छ। त्यो फोहोर नुवाकोटले व्यवस्थापन गर्ने हो, धादिङले हो कि काठमाडौंले, अन्योल छ।
'उपत्यकाको फोहोर तीनवटा भूगोललाई प्रभाव गर्ने गरी फ्याँँकिएको छ। बरू त्यो भूगोललाई काठमाडौंले नै लिएर त्यहाँ फोहोर व्यवस्थापन गर न। स्थान नै काठमाडौं बनाएर काठमाडौंले व्यवस्थापन गर। हाम्रो माग यही हो। तर अहिले कसैले जिम्मा नै लिँदैन,' संयोजक ढुंगानाले भने।
यसैगरी, फोहोर व्यवस्थापन हेर्न उच्चस्तरीय समिति गठन गर्ने वा फोहोरमैला व्यवस्थापन आयोग/प्राधिकरण बनाउनुपर्ने, बासस्थानबाट र फोहोरमैला व्यवस्थापन स्थल छुट्ट्याउनुपर्ने लगायत समितिले ११ बुँदे माग गरेको छ।
'संविधानले नै हामीलाई स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार दिए पनि यसको प्रत्याभूति गर्न पाएका छैनौं। यसको विपरित, महानगर लगायत १८ नगरपालिकाले फोहोर खन्याइरहेका छन्,' उनले भने।
१४ वर्षअघि जापानी संस्था जाइकाले तीन वर्षका लागि फोहोरमैला व्यवस्थापन क्षेत्रका रूपमा सिसडोल छानेको थियो। जमिनमुनि नै फोहोर व्यवस्थापन गर्नेगरी तयार गरिएको उक्त क्षेत्र अहिले फोहोरको पहाडमा परिणत भएको छ।
'यस ठाउँले १४ वर्षदेखि फोहोर राख्ने ठाउँ दिए पनि सरकारले हामीलाई रोग र समस्याबाहेक केही दिएन,' ढुंगानाले गुनासो व्यक्त गरे।
फोहोर व्यवस्थापन गर्न दिएबापत स्वास्थ्य, शिक्षा लगायत पूर्वाधार विकास गरिदिने भने पनि केही नभएको उनको दाबी छ।
'एउटा विद्यालय छैन, स्वास्थ्य चौकी छैन। विकास निर्माणका कुरा गर्नु हुन्छ भने अहिलेसम्म केही पनि गर्या छैन,' उनले भने, दीर्घकालीन अर्थ राख्ने काम पनि छैनन्। न सडक न खानेपानी न रोजगारी। यहाँ मान्छेलाई दोस्रो दर्जाका नागरिकजस्तो व्यवहार भएको छ।'
त्यसमाथि समस्या सुनाउने ठाउँ समेत नहुँदा आफूहरू मारमा परेको उनले बताए।
'महानगरमा जाँदा राज्यको काम हो भन्छ, विभिन्न सरकारी निकायमा जाँदा, मन्त्रीलाई भेट्दा यो हाम्रो काम होइन भन्दै अरूलाई देखाउँछन्। जहाँ जाँदा पनि हाम्रो समस्या समाधान त परको कुरा, सम्बोधन समेत भएन,' उनले भने, 'डुलाइ मात्रै रहेका छन्।'
संयोजक ढुंगानाका अनुसार फोहोरबाट सबभन्दा बढी मानव स्वास्थ्यमा असर परेको छ। त्यसबाहेक अस्पतालजन्य फोहोरको दुर्गन्ध घरघरमा फैलिएको छ।
'अपरेसन गर्दा काटिएका अंग पनि फालिरहेका छन्। दुर्गन्ध घरघरमा फैलिएको छ,' उनले भने।
फोहोरबाट निस्केको पानी खेतहरूमा जान्छ। यसले धानबाली अग्लो भएको तर फल नलागेको, प्रदूषणले गाईवस्तुमा रोग फैलिरहेको तथा भौतिक वातावरण सिद्धाइसकेको उनको दाबी छ। यी सबै हुँदा पनि कसैले ध्यान नदिएको उनले बताए।
ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष केदार पौडेलका अनुसार पहिले यहाँ एउटा कार्यालय थियो- फोहोरमैला व्यवस्था श्रोत परिचालन केन्द्र।
'त्यो कार्यालयले जनताको कुरा सुन्थ्यो। भन्ने, कराउने ठाउँ थियो। तर संघीय सरकार आएसँगै कार्यालय छैन, समस्या सुनाउने ठाउँ पनि भएन,' उनले भने।
फोहोरमैला व्यवस्थापन हुन नसक्दा फोहोर उठाउने गाडीले बाटो नै बन्द हुन्छ। बर्खामा हिलोका कारण दूध, तरकारी जस्ता अत्यावश्यक गाडी चल्न सक्दैनन्। महानगरले गाउँपालिकाको खातामा एक करोड राखिदिने बाहेक केही काम नगरेको वडाध्यक्ष पौडेलले बताए।
'फोहोरले थ्रुप्रै समस्या निम्त्याएको छ। महानगरले राज्यले गर्ने हो यो भन्छ। तोकेको ठाउँमा हामीले फाल्ने हो, हामीले कर पनि तिर्नु नपर्ने हो भन्छ। राज्यलाई भन्नुस् भन्छन्। हाम्रो दयनीय अवस्था छ,' उनले भने।
फोहोरमैला व्यवस्थापन समस्या हल गर्न सरकारलाई दबाब दिऊँ भनेर फोहोर ल्याउन बन्द गरे पनि आफूले नै गाली खानुपर्ने उनले बताए।
'समस्या कहाँ हुन्छ भने, दुई-तीन दिन फोहोर ल्याउन रोक्यौं भने उपत्यकामा बेहाल हुन्छ। के गरेको यस्तो भनेर हामीलाई उल्टै गाली पर्छ,' उनले भने, 'हाम्रो समस्या बुझिदिन्नन्। बरू माग पूरा नभए पनि हामी आफैं गलेर छोडिदिनु पर्ने बाध्यता छ। उपाय लाग्छ भनेर बन्द गर्यो, आफैं बदनाम भइन्छ। कसैले सुन्दैन।'
फोहोरकै कारण मुटु रोगी र क्यान्सर रोगी व्यापक बढेको पौडेलले बताए।
'यही क्षेत्रलाई ध्यानमा राखी मुटु र क्यान्सर रोगीलाई गाउँपालिकाले प्रतिव्यक्ति २५ हजार रुपैयाँ दिन्छ। गाउँपालिकाभरिमा यो सुविधा लिनेमध्ये ६० प्रतिशत रोगी यस क्षेत्रका छन्,' उनले भने।
अब पनि समाधान नगरिए बञ्चरेडाँडामा फोहोर लान नदिने उनले बताए।
'दुई-तीन पटक भइसकेको छ, सिसडोलपछि फोहोरमैला व्यवस्थापन गर्न बञ्चरेडाँडा लैजाने काम सारेको। तर हामी कुनै हालतमा त्यहाँका जनताको समस्या सम्बोधन नभई, उठेका कुरा नमिलाई जान दिँदैनौं,' उनले भने।
फोहोर बञ्चरेडाँडामा लान खोजे आन्दोलन गर्ने वडाध्यक्ष पौडेलले भने, 'हामीले पाउनुपर्ने अधिकार लिएर मात्रै जान दिन्छौं।'
काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले स्थानीयको समस्या बुझ्न फिल्डमै पुगेको बताए, 'उहाँहरूको समस्या के-के हुन् बुझ्न हामी यहाँ आएका छौं, सुनेर नै समस्या समाधान गर्न सकिन्छ।'
श्रेष्ठले फोहोर व्यवस्थापन भइरहेको र केही समूह र मानिस कामप्रति असन्तुष्ट रहेको बताए।
'हामीले काम गरिरहेका छौं। काम हुँदैछ, गरेकै छैन भन्न मिल्दैन। विकासको काम हो, एकैचोटि पनि हुँदैन। स्थानीयले केही समस्या बताएका छैनन्। केही मानिस हुन् जसले विरोध गरिरहेका हुन्,' उनले भने।
वातावरण विभाग प्रमुख श्रेष्ठका अनुसार महानगरको काम वार्षिक रूपमा हुने भएकाले त्यही अनुरूप काम भइरहेको छ। अहिले बञ्चरेडाँडामा ग्राभेलिङ भइरहेको उनले जानकारी दिए।