नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रह (एस्ट्रोरेड) ले अस्थायी नाम पाएका छन्।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार विज्ञप्ति जारी गर्दै चार वटा क्षुद्रग्रहले अस्थायी नाम पाएको जानकारी दिएको हो।
सन् २०२० मा मात्रै राष्ट्रिय क्षुद्रग्रह खोज अभियान सञ्चालन गरी ३ सय ८० वटा नयाँ क्षुद्रग्रहको प्रारम्भिक पहिचान भएको नासोका अध्यक्ष भट्टराईले बताए। तीमध्ये चार क्षुद्रग्रहले अस्थायी नाम पाएको उनले बताए।
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा अध्ययनरत विद्यार्थी रेजा थापा र अध्यक्ष भट्टराईको टोलीले खोजेको क्षुद्रग्रहको नाम २०२० एफओ ११ राखिएको छ। त्यस्तै बुटवलको होराइजन गौतम बुद्ध सेकेन्डरी स्कुलका विद्यार्थी आविष्कार पौड्याल, बृजेश राज फुल्लेल, अर्विन्द पाण्डेको समूहले खोजेको क्षुद्रग्रहको नाम २०२० एचके ३४ राखिएको छ।
सेन्ट जेभियर्स कलेज माइतीघरका प्रणव साह, सागर डंगोल, गौरव बराल र प्रसन्न ढुङ्गानाको समुहले खोजेको क्षुद्रग्रहको नाम २०२० एचटि ४९ राखिएको नासोले जनाएको छ।
त्रिचन्द्र क्याम्पस काठमाडौंका विमल खड्का, ईशिका पौडेल र अध्यक्ष भट्टराईको अर्को समूहले खोजेको क्षुद्रग्रहको नाम २०२० पिजि१५ राखिएको छ।
तीन वटा क्षुद्रग्रहको कक्ष पनि पत्ता लागिसकेको छ भने २०२० एचटी ४९को कक्ष पत्ता लागेको छैन।
अध्यक्ष भट्टराईका अनुसार कुनै पनि क्षुद्रग्रह प्रारम्भिक रूपमा पहिचान भएको ७ देखि १० दिनमा पुन: देखिए त्यसलाई अस्थायी नाम दिने गरिन्छ।
यसरी अस्थायी नाम पाएका क्षुद्रग्रहरूलाई निरन्तर अवलोकनमार्फत् त्यसको कक्षको पर्याप्त जानकारीपछि इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले नम्बर दिएर सुचीकृत गर्छ।
'नामै भएका क्षुद्रग्रहरू पनि हुन्छन् जुनचाहिँ परिचित लोकप्रिय खालका हुन्छन्। तर यिनीहरूको वैज्ञानिक नाम भने नम्बरमात्र हुन्छ,' अध्यक्ष भट्टराईले भने,'अब नामचाहिँ खोज्ने विद्यार्थीहरूले राख्न पाउँछन्। यस कार्यक्रमको विशेषता नै यही हो।'
नाम राख्दा युनियनले दिएका नियमभित्र बसेर राख्नु पर्ने हुन्छ।
'क्षुद्रग्रह खोज्नका लागि अमेरिकाको हवाइमा भएको टेलिस्कोपले आकाशको तस्बिर खिचिदिन्छ। त्यो फोटो कार्यक्रममा सहभागी भएकाहरूले पाउँछन्। त्यसपछि विद्यार्थीहरूलाई दिएको सफ्टवेयरको माध्ययमबाट त्यसलाई विश्लेषण गरी पहिचान गर्न युनियनमा पठाएपछि उनीहरूले भेरिफाइ गर्छन्,' भट्टराईले भने।
विद्यार्थीहरूले सिफारिस गरेकामध्ये क्षुद्रग्रह भएको एकिन भएपछि युनियनले अस्थायी नाम राखेर पठाउँछ।
नासोले गरेको अभियानअन्तर्गत अहिलेसम्म १०७२ क्षुद्रग्रहहरूको प्रारम्भिक पहिचान भइसकेको छ। त्यसमध्ये ११ वटाले अस्थायी नाम पाइसकेका छन्।
यो अभियान २०१६ देखि सञ्चालन गरेको थियो। पहिलो वर्षमा कुनै पनि क्षुद्रग्रह पत्ता लगाउन सकेको थिएन।
'हामीले सन्२०१६ देखि नै सुरू गरेका थियौं। त्यो वर्ष हामीले खोज्न सकेनौं। २०१७मा ६ वटा खोज्यौं। पछि १०० वटा खोज्यौं र क्रमश: गर्दै आयौं। अहिले अलि बढी पत्ता लगाएका छौं,' भट्टराईले भने।
यो अभियानमा सहभागीता बढाउन तालिम पनि सञ्चालन गर्न थालेको भट्टराईले बताए। तालिमपछि क्षुद्रग्रह पत्ता लगाउने अनुसन्धान बढेको उनले बताए।
विद्यार्थीहरूले पत्ता लागाएको क्षुद्रग्रहरूबारे थप बुझ्न यो लिङ्कमा https://minorplanetcenter.net/db_search बाट खोज्न सकिने उनले बताए। त्यसमा यी क्षुद्रग्रहले सूर्यलाई परिक्रमा गर्न लाग्ने समय पनि दिइएको उनले बताए।
गत वर्ष संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले एक तारा र त्यसलाई घुम्ने ग्रहको नाम सगरमाथा र लालीगुराँस राखेको थियो।