तारा खसेको देख्नुभएको छ? देखेपछि हत्तपत्त आँखा चिम्लिएर केही माग्नुभएको छ?
तारा खसेको देख्दा केही मागे पूरा हुन्छ भन्ने हाम्रो विश्वास हो। बोलीचालीमा तारा खस्नु भनिने यो गतिविधिलाई खगोल विज्ञानमा उल्कावर्षा भनिन्छ।
पोखरा, भद्रकालीकी ३३ वर्षीया मनीषा द्वा उल्कावर्षा भनेपछि हुरूक्कै हुन्छिन्। कतै उल्कावर्षा हुँदैछ भन्ने थाहा पाउनेबित्तिकै जहाँबाट प्रस्ट देखिन्छ, उनी त्यहाँ पुगिहाल्छिन्। अरूले जस्तो आँखा चिम्लिएर मनका कुरा माग्न होइन, उनी खसेका ताराहरूका विभिन्न चरणका तस्वीर आफ्नो क्यामरामा कैद गर्छिन्।
उनी उल्कावर्षा सँगसँगै सूर्यग्रहण, चन्द्रग्रहण, पृथ्वीबाट अरू ग्रह देखिए वा आकाशमा कुनै नौलो गतिविधि भए फोटो खिच्न अग्रसर हुन्छिन्। घन्टौं लगाएर सक्दो राम्रो तस्वीर निकाल्छिन्। आफूले खिचेका तस्वीर अध्ययन गरी संग्रह बनाएर राख्छिन्।
पोखराकी मनीषा 'एस्ट्रो-फोटोग्राफर' हुन्। अर्थात् ब्रह्माण्डमा हुने र पृथ्वीबाट आकाशमा देखिने दृश्यहरू क्यामरामा कैद गर्ने र त्यसबारे अध्ययन गर्ने।
उनी काठमाडौं, बत्तिसपुतलीस्थित नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) की बोर्ड सदस्य हुन्। उनी सोसाइटीकै भवनमा बस्छिन्। भवनमै उनले महिला होस्टल चलाएकी छन्।
मनीषा आफूलाई नेपालकै पहिलो महिला एस्ट्रो-फोटोग्राफर भनेर चिनाउँछिन्। अरू महिला फोटोपत्रकार, फोटोग्राफरले पनि उनले खिच्नेजस्ता तस्वीर त खिच्छन्। तर मनीषाले यो क्षेत्रमा शैक्षिक अध्ययन गरेकी छन्। उनी आफूले खिचेका तस्वीरको अध्ययन गर्छिन्, त्यसका विशेषता केलाउँछिन्, संग्रह गर्छिन् र अरूलाई पनि यसबारे सक्दो जानकारी दिन्छिन्।
'म नेपालकै पहिलो महिला एस्ट्रो-फोटोग्राफर हुँ भन्न हिचकिचाउँदिनँ,' मनीषाले आत्मविश्वाससाथ भनिन्, 'म नासोका लागि परियोजना संयोजक पनि हुँ।'
नासोका अध्यक्ष सुरेश भट्टराई यसमा सहमत छन्। मनीषाबाहेक नेपालमा अरू महिला एस्ट्रो-फोटोग्राफरबारे आफूलाई जानकारी नभएको उनी बताउँछन्।
मनीषाले काठमाडौं विश्वविद्यालयबाट स्टिम एडुकेसनमा एमफिल गर्दै छिन्। उनले विज्ञान, प्रविधि, कला र गणितबारे जानेबुझेका कुरा नासोमार्फत् विभिन्न कार्यक्रम गरी विद्यार्थीलाई जानकारी दिन्छिन्। अझ विशेषगरी महिला र सामुदायिक विद्यालयका विद्यार्थीलाई।
ब्रह्माण्ड तथा विज्ञानबारे यो रूचि उनमा कसरी जाग्यो त? यसबारे बुझ्न उनको बाल्यकालमा पुग्नुपर्छ।
मनीषा सामान्य परिवारकी छोरी हुन्। उनकी एउटी बहिनी छन्। दुई छोरी हुँदा उनका आमाबुवा निकै खुसी थिए। तर परिवारका अरूले छोरा नपाएको भनेर ननिको गर्न थाले।
'यही कारण परिवारसँग हामी छुट्टिनुपर्यो। यो कुरा मैले ठूली भएपछि मात्रै आमाबुवाबाट थाहा पाएँ,' उनले भनिन्।
घर परिवारबाट छुट्टिएर बसेपछि मनीषाका आमाबुवालाई नरमाइलो लाग्यो। उनीहरूले सोचे, 'दुवै छोरीलाई छोराझैं पाल्छौं।'
आमाबुवाले त्यसपछि मनीषा र बहिनी नेन्षीलाई केटी मान्छेले लगाउने पहिरन विरलै दिए, 'हामीले सधैं कपाल छोटो काट्यौं। प्यान्ट लगाएर हुर्कियौं।'
मनीषाकी आमा मीनाले कक्षा १२ सम्म अध्ययन गरेकी छन्। उनी प्राथमिक तहकी शिक्षक थिइन्। बुवा केशवकुमार रोजगारीका लागि अरब गएका थिए।
'सामान्य कमाइबाट छोरीहरू हुर्काउन-पढाउन गाह्रो भए पनि उहाँहरूले हामीलाई यसको महसुस गर्न कहिल्यै दिनुभएन,' मनीषाले भनिन्।
आमा मीना छोरीहरूलाई सधैं प्रेरित गर्थिन्। कतै नयाँ राम्रा किताब भेटे पढ्न ल्याइदिन्थिन्। बुवा केशव अरबको एक एरोस्पेस सम्बन्धी तालिम केन्द्रमा काम गर्थे। त्यहाँबाट छोरीहरूलाई विमानसम्बन्धी किताब ल्याइदिन्थे।
'बुवा त्यस्तो ठाउँमा काम गर्नुभएको रहेछ, सानो हुँदा मलाई थाहा थिएन,' मनिषाले सुनाइन्, 'त्यतिबेला उहाँले ल्याइदिएका किताबमा लेखेको पनि बुझ्दिन थिएँ।'
ठूली भएपछि भने मनीषाले त्यसबारे राम्रो ज्ञान हासिल गरिन्।
त्यस्तै सानी हुँदा आमा-छोरी छतमा बसेर तारा हेर्थे रे। आमालाई धेरै थाहा नभए पनि ग्रह र उपग्रहबारे जानेबुझेका सबै मनीषालाई सुनाउँथिन्।
'काठमाडौंको भन्दा पोखराका आकाश राम्रो थियो। अहिले पनि सफा नै देखिन्छ,' उनले भनिन्, 'गर्मीमा हामी छतमा दरी बिछ्याएर सुत्थ्यौं। आमा-छोरी ताराबारे कुराकानी गर्थ्यौं। आमा ताराहरूको कथा सुनाउनुहुन्थ्यो।'
आकाश र ब्रह्माण्डबारे जान्ने उत्सुकता उनलाई त्यहीबेलादेखि हो जागेको। अझ सानामा वैज्ञानिक बन्छु भन्ने सोच्थिन्।
'वैज्ञानिक बन्छु अनि नयाँ-नयाँ आविष्कार गर्छु भन्ने सोच्थेँ,' उनले भनिन्, 'तर पछि सबै चिज वैज्ञानिकले खोजिसकेका छन्। अब पृथ्वीमा के पाइन्छ र भन्ने सोच आउन थाल्यो। त्यसमाथि बुवाले त गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउनुपर्छ भन्नुहुन्थ्यो।'
आकाश, ब्रह्माण्ड, तारा, ग्रह, उपग्रह, यस्तैयस्तै सुन्दै मनीषाको रूचि विज्ञानमै गयो। मनीषालाई खगोल विज्ञानमा रूचि त थियो, तर यसबारे नेपालमा पढाइ हुन्छ भन्ने जानकारी थिएन। स्नातकोत्तर पढ्ने बेला बल्ल थाहा पाइन्।
'म मास्टर्समा के पढ्ने सोच्दै थिएँ, कसैले एस्ट्रोफिजिक्स हुन्छ भनेर सुनाए,' उनले भनिन्, 'एस्ट्रो शब्द सुन्ने बित्तिकै मैले यही पढ्ने निधो गरेँ।'
पोखरादेखि काठमाडौंको यात्रा भने उनले सन् २०१३ मा मात्रै गरेकी हुन्। यो यात्रा उनलाई नासोले नै जुराइदिएको हो। नासोले पोखरामा विज्ञानसम्बन्धी एक तालिम गरेको थियो- 'ग्यालिलियो टिचर्स ट्रेनिङ'। विदेशी प्रख्यात वैज्ञानिकको नाम सुनेरै उनलाई त्यो कार्यक्रममा जान मन भयो।
मनीषाले सोचिन्, तालिममा जान पैसा चाहिन्छ। कसरी जुटाउने?
त्यतिबेला उनी एउटा स्कुलमा पढाउँथिन्। आएको पैसा आमालाई दिन्थिन्। त्यो कार्यक्रमका लागि उनले खाजा नखाई पैसा जम्मा गरिन्, 'तर तालिम त निःशुल्क रहेछ।'
त्यही तालिममा उनको भेट नासोका अध्यक्ष सुरेश भट्टराईसँग भयो। मनीषाका अनुसार नेपालमा एस्ट्रोनोमीका पिता भनेर चिनिने ऋषि शाहलाई पनि उनले त्यही कार्यक्रममा चिनिन्। उनीहरूको प्रोत्साहनपछि नै मनीषा काठमाडौं आएकी हुन्। यसअघि कहिल्यै घरबाट टाढा नगएकी छोरीलाई आमाबुवाले राम्रो भविष्यका लागि बिदाइ गरे।
आमाबुवाको साथ र प्रेरणाले नै आफू यहाँसम्म आइपुगेको उनी बताउँछिन्।
'सुरूमा म यो क्षेत्रमा लाग्दा कतिपय साथीले मलाई किन यत्तिकै झुलिरहेको पनि भने। तर मैले ठीक बाटो रोजेकी रहेछु भन्ने लाग्छ,' मनीषा आफ्नो काममा खुसी छन्।
ब्रह्माण्ड र आकाशका गतिविधिमा हराउने उनी मिहिनेत पनि उत्तिकै गर्छिन्।
तारा खसेको हेर्न जति सजिलो छ, यसको चट्ट फोटो खिच्न उति नै मुश्किल। मनीषाले गत मंसिर १९ देखि पुस २ गते सम्म मिथुन उल्कावर्षा हुँदाको घटना सुनाइन्।
उक्त उल्कावर्षा मंसिर २८ गते राति अत्यधिक सक्रिय थियो। औंशीको अघिल्लो रात, चन्द्रमा नभएकाले तारा प्रष्ट देखिन्थ्यो, उल्कावर्षा खिच्न उत्कृष्ट समय।
मनीषा र सोसाइटीका अध्यक्ष भट्टराईसहित पाँच जनाको टोली उल्कावर्षा खिच्न कास्कीको धम्पुस पुगे। साँझ उल्कावर्षा राम्ररी देखिने खुला आकाशको खोजीमा निस्किए। चन्द्रमाको प्रकाश नभए पनि होटल र घरमा बलेका बत्तीले अप्ठ्यारो भयो। राती अबेर भएपछि होटलका बत्ती निभाउन लगाए पनि घरको बत्ती निभाउन कसरी भन्नु?
तै पनि उनीहरूले काम सुरू गरे।
'खुला आकाश देखिने ठाउँमा हामी होटलबाट सिरक र कुर्ची ल्याएर बस्यौं। एकदमै चिसो भइसकेको थियो,' उनले अनुभव सुनाइन्।
उनीसँग गएका तीन जना साथीलाई मनीषाले उल्कावर्षा गन्न लगाइन्। राती साढे १२ बजेसम्म साथीहरूले सयौं उल्कावर्षा खसेको गनिसके। तर मनीषाको क्यामरामा राम्रो तस्वीर आउन सकेन।
'एउटा पनि राम्रो फोटो नहुँदा एकदमै मन दुख्यो। गएर सुत्छु बरू भन्ने पनि सोचेँ,' तर उनका लागि तस्वीर महत्वपूर्ण थियो। त्यसैले हरेश नखाइ चिसोमा उनी र अध्यक्ष भट्टराई तस्वीर खिच्न थाले।
साढे २ बजे सम्ममा भने उनीहरूले राम्रा तस्वीर कैद गर्न सके।
मनीषाले नासोमार्फत आफ्नै नेतृत्वमा 'वुमन इन साइन्स अवार्ड' कार्यक्रम पनि सुरू गरेकी छन्। यो कार्यक्रमको मुख्य उद्देश्य विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित क्षेत्रमा कार्यरत महिला विद्यार्थीलाई प्लेटफर्म दिनु हो।
यो काम सुरू गर्नुको पनि छुट्टै कारण भएको मनीषा बताउँछिन्।
सन् २०१७ दुबईमा 'वुमन इन स्पेस साइन्स नेटवर्किङ' कार्यक्रम भएको थियो। उनी नेपालको प्रतिनिधि भएर त्यहाँ पुगिन्। त्यहाँ आएका विदेशी प्रतिनिधि देखेर उनलाई अचम्म लाग्यो।
'सबै प्रतिनिधि मभन्दा दोब्बर उमेरका थिए। नेपालबाट म आँए तर त्यो तहको मेरो ज्ञान छैन भन्ने लाग्यो। अनि यसो नेपालमा को छन् त भनेर गुगल गरेँ। कुनै रेकर्ड पाइनँ,' उनले भनिन्, 'नेपालमा हुने विज्ञानसम्बन्धी कार्यक्रमबारे केही समाचार त थिए तर महिला वैज्ञानिकबारे खास खबर देखिनँ।'
त्यसपछि उनले नासो अध्यक्ष भट्टराईसँग कुराकानी गरी 'वुमन इन साइन्स अवार्ड' कार्यक्रम सुरू गरेकी हुन्।
नासोलाई गत वर्ष संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु) ले एक तारा र त्यसलाई घुम्ने ग्रहको नेपाली नाम राख्ने अवसर दिएको थियो। नाम छान्न सुरेश भट्टराईकै अध्यक्षतामा ५ सदस्यीय टोली बनेको थियो जसमा मनीषा पनि थिइन्।
उनीहरूको टोलीले सिफारिस गरेअनुसार एक ताराको नाम सगरमाथा र त्यसलाई घुम्ने ग्रहको नाम लालीगुराँस राखिएको छ।
मनीषा भन्छिन्, 'म नासोमार्फत् विभिन्न कार्यक्रम गरिरहेकी छु। नेपाली विज्ञान क्षेत्र र नासोलाई एउटा नयाँ स्तरमा पुर्याउने सोच छ।'