एउटा आइफोन-७ प्लस फोन किन्दा अर्को सित्तैमा पाए के गर्नुहुन्छ? अझ मूल्यमा ३० प्रतिशत छुट, एप्पलको घडी र एरपड पनि सित्तैमा पाए ?
फेसबुकमा स्काइ मोबाइल नामक पेजमा यस्ता विभिन्न अफरहरू राखिएका थिए। पेजमा विदेशी ह्वाट्स एप नम्बर पनि राखिएको थियो।
मानौं सामानहरू किन्दा विदेशबाट सिधै हाम्रो हातमा आउँछ। त्यहाँबाट फोन लिँदा किस्ताबन्दीमा समेत तिर्न पाइने सुविधा थियो।
फेसबुकमा यस्ता अफरहरू देखेपछि महानगरीय प्रहरी परिसर, ललितपुरले साँच्चै ग्राहकले अर्डर गरेका सामान पाइन्छ कि पाइन्न भन्ने विषयमा अनुसन्धान अघि बढायो। लामो समयसम्म प्रहरीले त्यस पेजमा निगरानी बढायो।
उक्त अनुसन्धानबाट सामाजिक सञ्जालमार्फत सर्वसाधरणलाई लोभ्याएर ठगी गर्ने गरेको खुल्यो।
अहिलेसम्म त्यस पेजमार्फत ठगिएका पीडितहरू नौं जना प्रहरीको सम्पर्कमा आएको परिसरले जनाएको छ।
यसरी ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले गत शुक्रबार पर्साबाट पकाहामैनपुर गाउँपालिका-४ का २८ वर्षीय अजय भन्ने प्रमोद साह र बहुदरमाई नगरपालिका-८ का ३९ वर्षीय मेवालाल साह तेलीलाई पक्राउ गरेको हो।
परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यका अनुसार नेपालका लागि अजय मुख्य व्यक्ति हुन्। विभिन्न व्यक्तिलाई यसरी लोभ्याएर ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूले फेसबुकमा विभिन्न अफरहरू दिएर ग्राहकलाई तान्ने गर्थे। ग्राहकलाई दिइएको अमेरिकाको ह्वाट्सएप नम्बरमा फोन गरे विदेशीले उठाउँथे।
अजय आफैले सकेसम्म ग्राहकबाट सामानको लागि पैसा लिने गर्थे। ग्राहकले नपत्याएमा विदेशीसँग कुरा गराउँथे।
विदेशी नागरिकले ग्राहकहरूसँग कुराकानी गरी मन जित्थे।
'विज्ञापन हालेर सस्तोमा मोबाइल चाहिएमा फोन गर्नू भनेर अमेरिकाको नम्बर दिइएको थियो। ग्राहकले हेर्दा पनि सस्तोमा फोन पाइन्छ भन्ने विश्वास जित्ने खालको छ,' बज्राचार्यले आइतबार पत्रकार सम्मेलनमा भनिन्,' दोस्रो चरणमा केही मान्छेहरूले यसरी फोन पाएको भन्दै भिडिओमा बोलेको पनि देखाउँथे।'
सो भिडिओहरू पनि उनीहरू आफैले नै बनाएको खुलेको छ।
फोन किन्ने तय भएपछि पैसा तिर्ने माध्यम पनि त्यँही विदेशीले सिकाउँथे। त्यसरी ग्राहकलाई इसेवाका विभिन्न अकाउन्ट, आइएमई तथा बैंक खातामा पैसा जम्मा गर्न लगाउँथे।
अझ ग्राहकको विश्वास दिलाउन पाकिस्तान वा भारतमा पार्सल नै आइपुगेको भन्दै तस्वीर नै पठाउने गरेको एसएसपी बज्राचार्यले बताइन्। जुन भिडिओ जस्तै त्यो तस्वीर पनि फेक नै हुन्थ्यो।
'कसरी तिर्ने भन्नेबारे विदेशीले नै बाटो देखाउँथे। त्यसपछि रोजेको सामानको केही प्रतिशत रकम डेलिभरी अघि नै तिर्नका लागि भन्थे,'बज्राचार्यले भनिन्,'बाँकी रकम भने डेलिभरी भएपछि तिर्न भन्थे।'
सामान अनुसार छुट्टाछुट्टै रकम तिर्न लगाउने र रकम तिरेपछि भने उनीहरू सम्पर्कबिहीन हुन्थे।
उनीहरूले दिने विभिन्न इसेवा अकाउन्ट नम्बर, आइएमई नम्बर र बैंक खाता पनि अरूकै नाममा खोलिएको देखिन्छ। जसलाई यस्ता गतिविधि भइरहेकोबारे कुनै जानकारी समेत छैन।
एसएसपी बज्राचार्यका अनुसार अजय र मेवालालले आफ्नै गाउँका सोझा साथीहरूलाई खाता खोल्न लगाएका थिए। त्यसबापत उनीहरूले साथीहरूलाई दुई-चार हजार रुपैयाँ दिन्थे।
सो खातामा आएको रकम साथीहरूलाई झिक्न लगाएर अजयले लिन्थे। आफूहरूले केही रकम राखेर केही भने ती विदेशीलाई पठाउने गरेको बज्राचार्यले बताइन्।
उनीहरूलाई पक्राउ गर्न प्रहरी आफैले पनि फेक आइडी बनाएर गिरोह सम्म पुगेको थियो।
विदेशी प्रतिनिधि तथा यसरी ठगी गर्ने थप गिरोहलाई पक्राउ गर्न परिसरले इन्टरपोल तथा साइबर ब्युरोसँग पनि समन्वय गरेको छ।
प्रहरीका अनुसार अजयले पर्सामा आइएमई तथा म्यानपावर कम्पनी पनि खोलेका छन्। सीमा क्षेत्रमा बस्ने अजय आफैले पनि भारतको सीम प्रयोग गरी यही प्रकियामा ठग्ने गर्थे।
यो गिरोहले धेरैलाई ठगेको आशंकामा प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ।