गत शुक्रबार हामीले 'मनोहरामा भेटिएको भँगेराजस्तो दुर्लभ चरा' स्टोरी छापेका थियौं।
नेपालमा दुर्लभ मानिने 'कमन रीड बन्टिङ' चरा पहिलोपटक क्यामरामा कैद भएको थियो। फोटोग्राफर सञ्जय श्रेष्ठले मनोहरामा खिचेको फोटो र भिडिओलाई आधार मानेर बर्ड्स कन्जर्भेसन नेपाल (बिसिएन) ले पहिलो रेकर्डको श्रेय उनलाई जाने बताएका थिए।
यसअघि चराविज्ञ टिम इन्सकिपले सन् १९७०, डिसेम्बर २० मा यो चरा फेला पारेको रेकर्ड थियो। पोखरास्थित, बेगनास तालमा फेला परेको उक्त चराको टिमले स्केच बनाएका थिए। त्यो बेला स्केचलाई नै मान्यता दिइन्थ्यो।
सञ्जयले सन् २०२०, डिसेम्बर ६ मा खिचेको चराको भिडिओ र फोटो देखेपछि चराविज्ञ टिमले आफ्नो रेकर्ड फिर्ता लिए। भनेछन्, 'ए, मैले देखेको चरा त यो होइन। सायद त्यो बेला मैले देखेको चरा अरू नै थियो होला।'
गत डिसेम्बर १४ मा टिमले आफ्नो रेकर्ड फिर्ता लिए। त्यसपछि सञ्जयको नै पहिलो रेकर्ड भएको बताउँदै चराविज्ञ तथा बिसिएनका हेमसागर बरालले भनेका थिए, 'टिम सरले आफ्नो रेकर्ड फिर्ता लिनुभएपछि सञ्जयले खिचेको नै पहिलो हुने पक्कापक्की जस्तै छ।'
तर सामाजिक सञ्जालमा फोटोग्राफरको समूहबीच पहिलो फोटोको रेकर्ड कसका नाममा हुने भन्नेमा विवाद सुरू भएको छ। यसको कारण हो सञ्जयले भन्दाअघि नै नहकुल भुसालले खिचेको कमन रीड बन्टिङको फोटो।
हेटौंडास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन विज्ञान संकायमा पढ्ने नहकुलले नोभेम्बर २३ मै यो चराको फोटो बर्ड आइडी नेपाल नामको फेसबुक ग्रुपमा राखेका थिए। सञ्जयले भने डिसेम्बर ६ मा उक्त फोटो खिचेका हुन्।
नहकुलले पनि यो फोटो मनोहरामै खिचेका रहेछन्।
'लकडाउनमा क्याम्पस राम्ररी नखुलेपछि म काठमाडौं आएको थिएँ। त्यति बेला काठमाडौंमा नयाँ चराहरू देखिन थालेको भन्ने खबर पनि सुनेँ,' गुल्मी घर भएका नहकुलले भने, 'झन् मनोहरालाई त मिनी कोशी टप्पू नै भन्न थालिएको थियो। चिन्जानका दाइहरूलाई सोधेर पुगेँ। प्रायः एक्लै बर्डिङका लागि जाने म, त्यो दिन पनि एक्लै थिएँ।'
२० नोभेम्बरमा नहकुल आफूसँग भएको क्यामरा बोकेर मनोहरातिर आए, खास कता जाने उनलाई थाहा थिएन। पेप्सिकोलातिरको मनोहरा पुगेर उनले साधारण चराहरू ब्ल्याक काइट, बगाले चुइँया, किङफिसर, कोटेरो मुनियाँ लगायत फेला पारे।
उनलाई भने यल्लो ब्रिस्टेड बन्टिङ (बगाले बगेडी) हेर्नु थियो। उनले पहिले कहिल्यै नदेखेको यो चरा मनोहरातिर भेटिएको फोटा सामाजिक सञ्जालतिर देखेका थिए। त्यो दिन उनले फेला पारेनन्।
बर्ड वाचिङ गरेर फर्किएपछि नहकुलले दाइहरूबाट थाहा पाए पेप्सिकोलातिर नभई बोडेतिरको मनोहरा जानुपर्ने रहेछ। दोस्रो पटक २३ नोभेम्बरमा बोडेस्थित मनोहरा पुग्दा नहकुलको क्यामरामा 'कमन रीड बन्टिङ' कैद भयो। सुरूमा त यो चरा के हो, उनलाई हेक्का थिएन। घर आएर किताब र इन्टरनेटमा खोज्दा अलिअलि 'लिटल बन्टिङ' जस्तो उनलाई लागेछ।
फेसबुकको ग्रुप 'बर्ड आइडी नेपालः ह्वाट बर्ड इज दयाट' मा चराको फोटो, भेटिएको मिति र स्थानसहित सोधे, 'लिटल बन्टिङ हो?'
त्यहाँ मिश्रित प्रतिक्रिया थियो। कसैले लिटिल बन्टिङ, कसैले 'चेस्टनट बन्टिङ' त कसैले के। पछि यो कमन रीड बन्टिङ भएको र नेपालका लागि दुर्लभ चरा भएको थाहा भयो।
त्यति बेलासम्म पनि नहकुललाई वास्ता थिएन। उनले सोचे, 'नेपालमा दुर्लभ चराका प्रजाति नै कति धेरै छन्।'
तर अब पहिलो रेकर्डको कुरा आएपछि नहकुल त्यसको श्रेय आफूले पाउनुपर्ने बताउँछन्। चराबारे चासो राख्ने कतिपयले सञ्जयले नहकुलको फोटो देखेर खिच्न गएको आरोप पनि लगाएका छन्।
सञ्जय भने यो कुरा मान्दैनन्।
'मलाई त रेकर्ड बनाउँला भन्ने सोच पनि थिएन। मैले त अनौठो लागेर मात्र खिचेको थिएँ,' उनले भने, 'यो पहिलो भन्ने कुरा आएपछि नै म प्रक्रियामा गएको थिएँ। अब प्रक्रियाबाट जो भए पनि मलाई आपत्ति छैन।'
नेपाल जर्नल अफ जुलोजीमा प्रकाशित 'रेयर बर्डस् इन नेपाल' मा समेत पहिलो पटक ६ डिसेम्बर र पछि १३ डिसेम्बरमा उक्त चरा देखिएको उल्लेख गरिएको छ। त्यसका लेखकहरू नै चराविज्ञ भएकाले अब कसलाई श्रेय दिने भन्न कुरा पनि आइरहेको छ।
किताबकै सह–लेखक एवं पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरे यो रेकर्डको होडबाजीमा अहिले अस्वस्थ प्रतिस्पर्धा भइरहेको चिन्ता व्यक्त गर्छन्।
'यस्तो प्रतिस्पर्धाले चराको भविष्य नै कता पुग्ने हो भन्ने चिन्ता लाग्न थालेको छ,' उनले भने।
मनशान्तका अनुसार चराको रेकर्ड राख्ने प्रक्रिया हुन्छ। जसअनुसार सुरूमा नेपाल रेयर बर्ड (दुर्लभ पन्छी) कमिटीको फर्म भर्नुपर्छ। त्यसमा कता–कोकोसँग जाँदा देखिएको, अन्य कुन कुन प्रजाति थिए, त्यो ठाउँको भिडिओ लगायत उपलब्ध गराउने प्रक्रिया पूरा गर्नुपर्छ।
उक्त फर्म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा पुग्छ। त्यहाँबाट सिफारिस आएपछि बल्ल नेपाल रेयर बर्ड कमिटीले त्यसलाई मान्ने, नमान्ने पुष्टि गर्छ।
'हामी कसैको पक्ष, विपक्षमा भन्ने छैनौं। फेसबुकमा सेयर गरेको हामी सबैले देख्छौं भन्ने हुँदैन। सञ्जयले त सबै प्रक्रिया नै पूरा गरेर आएकाले हामीले त्यसैलाई आधार मानेका हौं,' मनशान्तले भने, 'अब आधिकारिक टोली फेरि बसेर त्यो विषयमा निर्णय होला। तर सञ्जयले सबै प्रक्रिया पूरा गरेका र आधिकारिक जस्तो मानिसकेकाले केही गाह्रो होला।'
यो चराबारे नेपाल रेयर बर्ड कमिटीले पुष्टि गर्न अझै बाँकी छ। चराविज्ञ हेमसागर बराल नहकुलले साइन्टिफिक (वैज्ञानिक) लेख लेखेर, सबै प्रक्रियामा गए त्यो कुरा सच्याउन मिल्नुपर्ने बताउँछन्।
'यस्ता घटना नौलो होइन, पहिला पनि भएको थियो,' उनले भने, 'पहिला झन स्केचलाई आधार मानिन्थ्यो। अहिले त फोटो नै हुन्छ। टिमले होइन भनेर त्यो कुरा सच्चिएको थियो भने नहकुलले पनि प्रमाणहरू ल्याए सच्चिनुपर्छ।'
कस्तो हुन्छ 'कमन रीड बन्टिङ?'
हेर्दा भँगेराजस्तो देखिने यो चरालाई बगेडी पनि भनिन्छ। भाले चराको कालो टाउको र घाँटी हुन्छ भने पोथीको खैरो टाउको र घाँटी हुन्छ।
स्विडेनको प्रकृतिविद कार्ल लिन्नियसले सन् १९५८ मा यो चरालाई आफ्नो किताब 'सिस्टम नेचर' को दसौं संस्करणमा उल्लेख गरेका थिए।
यो चरा युरोप, मंगोलिया, साइबेरिया, चीन, जापान लगायत ठाउँमा पाइन्छ। कीरा र बिउबिजनमा भर पर्ने यो चरा नर्वे, स्विडेन र जर्मनीमा भने हराउँदै जान थालेका छन्।
कमन रीड बन्टिङ संसारमै दुर्लभ चरा भने होइन। नामैले भन्छ यो 'कमन' अर्थात साधारण छ। नेपालमा भने विरलै पाइने भएकाले दुर्लभै मानिन्छ। अर्कातिर चराबारे अध्ययन–अनुसन्धान पनि कम भएकाले पनि यसको रेकर्ड बन्नु ठूलो कुरा भएको चराविज्ञ हेमसागर बराल बताउँछन्।