काठमाडौंको रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी नियन्त्रणमा आएको छ।
सोमबार दिउँसो भएको आगालगी नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले बताए।
आगलागी नियन्त्रणमा लिन जुद्ध वारूण यन्त्र काठमाडौं, ललितपुर तथा भक्तपुरको पाँच वटा दमकल पुगेको थियो।
त्यस्तै चार वटा एम्बुलेन्स पनि घटनास्थल पुगेको थियो।
आगलागी कुन तल्लादेखि सुरू भएको यकिन नभएको डिएसपी विष्टले बताए।
महानगरीय प्रहरी वृत्त, कालिमाटीका डिएसपी अपिलराज बोहराका अनुसार बिजुली सर्ट हुँदा आगलागी भएको हो।
आगलागीले अपार्टमेन्टको सो भवन तल्लो तलादेखि १३ औं तलासम्म नै क्षति पुगेको उनले बताए।
अपार्टमेन्टका मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याइएको थियो।
प्रहरी अनुसार उनीहरूमा कोही पनि गम्भीर घाइते भएका छैनन्। प्रहरीले क्षति विवरण संकलन गरिरहेको छ।
आगो निभाउन हेलिकप्टर पनि बोलाइएको थियो। तर पछि फिर्ता लगिएको बोहराले बताए।