ललितपुरको महालक्ष्मी नगरपालिका-७ मा एक दम्पत्ती मृत अवस्थामा फेला परेका छन्।
सोमबार बिहान नगरपालिकाको चाँगाथलीस्थित एक घरमा डेरागरी बस्ने दम्पत्ती मृत अवस्थामा फेला परेका हुन्।
महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनका अनुसार चाँगाथलीका रमेश खड्काको घरमा डेरागरी बस्ने दम्पत्ती मृत अवस्थामा फेला परेका हुन्।
मृत फेला पर्नेमा सप्तरी राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल छन्।
एसपी महर्जनका अनुसार उनीहरू बन्द कोठामा मृत भेटिएका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले विष सेवन गरी आत्महत्या गरेको देखिएको छ।
'भुइँ तलामा फ्ल्याट लिएर बसेका रहेछन्। बिहान ११ बजेतिर हामीलाई दम्पत्ती मृत फेला परेको खबर आयो,' एसपी महर्जनले सेतोपाटीसँग भने, 'उनीहरूको मृत्युको कारण भने खुल्न सकेन।'
उनीहरू सो घरमा आमा-बुबासँगै डेरा गरी बसेका थिए। गत शुक्रबार भने दुवै जना बालकोटस्थित आफ्नी छोरीको घरमा गएका थिए। स्थानीयले पनि उनीहरू दुवैलाई आइतबार साँझ ४ बजेसम्म देखेका थिए।
तर सोमबार बिहानै आमाबाबुले उनीहरूलाई फोन गरेका थिए। पटकपटक पनि सम्पर्क गरेर नउठाएपछि आमाबाबुले घरबेटीलाई फोन गरेका थिए। घरबेटीले उनीहरूको कोठामा चियाएर हेरेपछि लडेको देखेका थिए। त्यसपछि घरबेटीले प्रहरीलाई खबर गरेको थियो।
खबर पाएपछि महानगरीय प्रहरी प्रभाग, लुभू, महानगरीय प्रहरी वृत्त, सातदोबाटो र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो। एसपी महर्जनका अनुसार सागर भेटेरिनरीको सामान सप्लाई गर्थे। सागर एक्लो छोरा भएको उनले बताए।
उनीहरूको शव पोष्टमर्टमका लागि ललितपुरको पाटन अस्पतालमा लगिएको छ। प्रहरीले मृत्युको कारण खोज्ने प्रयास गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।